No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सिन्धुपाल्चोकमा पनि बाँदर धपाउन रुख काट्ने निर्णय

0

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर ३ र चौतारा साँगाचोकगढी नगरपालिका–११ ले बाँदरबाट बालीनाली जोगाउन रुख र झाडी काट्ने निर्णय गरेको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष शिवकुमार कार्कीले सूचना जारी गरी फागुन महिनाभित्र रुख काट्न र झाडी सुधार गर्न आह्वान गरेका छन् । उनले यो काममा सहयोग पुर्याउन सबै टोल विकास समिति, वन उपभोक्ता समिति, जनप्रतिनिधि र समाजसेवीलाई अनुरोधसमेत गरेका छन् ।

यसअघि चौतारा साँगाचोकगढी नगरपालिका–११ ले पनि बाँदरको आतङ्क नियन्त्रण गरेर बालीनाली जोगाउन खेतबारीका रुख कटान गर्ने अभियान चलाएको छ । बाँदरलगायत वन्यजन्तु धपाउन प्रहरी परिचालन गर्दासमेत केही सीप नलागेपछि बाध्य भएर रुख कटान गर्ने अभियान चलाइएको वडाध्यक्ष रोशनराज गिरी बताउँछन् ।

गाउँमा युवा नभएका र वृद्धवृद्धा, महिला र बालबालिकाले सबै फँडानीको काम गर्न नसक्ने गुनासो वडा कार्यालयमा आएकाले वडा कार्यालयले नै रुख काट्ने र झाडी फाँड्ने निधो गरेको उनको भनाइ छ । यसअघि पनि वडा कार्यालयले बाँदरबाट बालीनाली जोगाउन ठाउँठाउँमा जाल राखेको थियो । बँदेलबाट मकैलगायत बाली जोगाउन विद्युतीय तारबारसमेत लागाएको वडाध्यक्ष गिरीको भनाइ छ ।

प्रकाशित: २५ माघ २०८०, बिहीबार ०९:५१

Leave a Reply