भोजपुरमा १२ हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाइँदै

२५ माघ २०८०, बिहीबार १२:००

 

 

टक्सार (भोजपुर) ।  सरकारले आगामी फागुन महिनादेखि देशभर दादुरा रुवेलाबिरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै पहाडी जिल्ला भोजपुरमा पनि अभियान सफलतापूर्वक सम्पन्न गर्न  आवश्यक तयारी थालिएको छ ।

भोजपुरमा आगामी फागुन २४ देखि २८ गतेसम्म खोप अभियान सञ्चालन हुने गरी तयारी थालिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । कार्यालयले अभियानबारे सरोकारवाला निकायसँग छलफल गरेको छ । जिल्ला समन्वय प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष कमल थुलुङ राईको अध्यक्षता भएको कार्यक्रममा खोप अधिकृत भरत भण्डारीले अभियानबारे जानकारी दिएका थिए ।

सरकारले २०२६ सम्म दादुरा रुबेला निवारण गर्ने लक्ष्य लिएको खोप अधिकृत भण्डारीले बताए । उनले भने, “बालबालिकालाई पूर्ण खोप नलगाउँदा बेलाबेलामा दादुरा रुबेला महामारीका रुपमा देखा पर्दै आएकाले लक्ष्य हासिल गर्न चुनौती थपिएको छ ।”  भोजपुरमा छ महिनादेखि  १५ वर्ष मुनिका १२ हजार ६० जना  बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको उनले जानकारी दिए ।

दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आगामी फागुन १३ गतेदेखि चैत ७ गतेसम्म करिव ५७ लाख बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ ।  दादुरा–रुवेला सबभन्दा बढी सङ्क्रामक रोग भएको तथा यो रोग लागेका एक बिरामीले १८ जनासम्मलाई सार्न सक्ने बताइएको छ ।