आफ्नो स्मरण शक्तिबारे प्रश्न उठेपछि राष्ट्रपति बाइडन आक्रोशित

२६ माघ २०८०, शुक्रबार ०४:१२

बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो स्मरण शक्ति ‘राम्रो’ रहेको भन्दै त्यसबारे प्रश्न उठाइएको विशेष अनुसन्धानकर्ताको प्रतिवेदनप्रति आक्रोशपूर्ण प्रतिक्रिया जनाएका छन् । ८१ वर्षीय राष्ट्रपतिले पत्रकार सम्मेलनमा बोल्दै उमेर धेरै भए पनि अहिले देशको राष्ट्रपति बन्न आफू नै सबभन्दा योग्य रहेको बताए ।

विशेष अनुसन्धानकर्ताले बाइडनले उनका छोराको निधन भएको मिति पनि सम्झन नसकेको भनेर उल्लेख गरेको टिप्पणीलाई अस्वीकार गर्दै राष्ट्रपतिले ‘खबरदार’ भन्दै झोक्किएका थिए ।

विशेष अनुसन्धानकर्ता रोबर्ट हरले बाइडनले उपराष्ट्रपति हुँदा ताका पहुँच पाएका गोप्य दस्तावेजहरूको सही व्यवस्थापन गर्न नसकेको बारे छानबिन गरेका थिए । उनले आफ्नो प्रतिवेदनमा त्यसका निम्ति बाइडनलाई अभियोजन भने नगर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।

तर सो प्रतिवेदनले राष्ट्रपतिबारे कैयन् गम्भीर टिप्पणी गरेको छ – जसमा राष्ट्रपतिको स्मरण शक्तिमा ‘उल्लेखनीय सीमा’ रहेको भनिएको छ । साथै अनुसन्धानका क्रममा आफूले राष्ट्रपतिलाई अन्तर्वार्ता गर्दा पनि त्यसै रूपमा बाइडन प्रस्तुत भएको हरले उल्लेख गरेका छन् ।

प्रतिवेदन सार्वजनिक भएसँगै रिपब्लिकन पार्टीले बाइडन राष्ट्रपतिको कार्यभार सम्हाल्न अयोग्य भएको पुनः दोहोर्याएको छ । आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट बाइडन पुनः मैदानमा उत्रँदैछन् भने रिपब्लिकनका तर्फबाट डोनल्ड ट्रम्प मनोनयन हुने सम्भावना बढी देखिन्छ ।