सधैँ जनताका पक्षमा निर्णय गर्न पार्टीका नेताहरुलाई देउवाको निर्देशन

२६ माघ २०८०, शुक्रबार ११:०५

 

काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस काठमाडौँको सम्मेलनले ठूलो महत्व राख्ने बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौँ जिल्ला सम्मेलनको शुक्रबार उद्घाटन गर्दै सभापति देउवाले देशको राजधानी भएकाले यहाँ राम्रो काम गर्नुपर्ने बताएका हुन् ।

“काठमाडौँमा कांग्रेसको सङ्गठन महत्वपूर्ण छ, यहाँको सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रभाव पार्छ, देशभरि प्रभाव पार्ने गरी राम्रो प्रस्ताव पास गर्नुहोस्”, उनले भने ।

सभापति देउवाले नेपाली कांग्रेस नेपाली जनताको पार्टी भएकाले सधैँ जनताका पक्षमा निर्णय गर्न निर्देशन दिए । उनले भने, “काठमाडौँ जिल्ला कार्यसमितिमार्फत देशैभरका कांग्रेसका नेता तथा कार्यकर्तालाई यो भन्न चाहन्छु कि कांग्रेस जनताको पार्टी हो, हाम्रा सबै निर्णय र कदम जनताका पक्षमा हुनु जरुरी छ ।”

कांग्रेस नेता प्रकाशमान सिंहले आगामी फागुन ७ गतेदेखि चल्ने नीति अधिवेशनका लागि पार्टीभित्र देखिएका अप्ठ्यारा फुकाउन आवश्यकपर्ने राय सुझाव दिन सबैलाई आग्रह गरे । उनले कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानलाई कार्यान्वयन गर्नका लागि कांग्रेसले नै महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

कांग्रेसका नेता डा मीनेन्द्र रिजालले केन्द्र, प्रदेश र स्थानीय तहमा सत्तामा भएको पार्टी कमजोर बनेकामा चिन्ता व्यक्त गरे । उनले कांग्रेस एक्लै चुनाव लडेर अगाडि बढेमात्र बलियो पार्टी बन्नसक्ने बताए ।