पल्सर स्पोर्ट्स अवार्डको ४ विधाका शीर्ष तीन खेलाडी छनोट

२६ माघ २०८०, शुक्रबार १२:३४

काठमाडौ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन लागेको एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको बिभिन्न चार विधाको शीर्ष तीन खेलाडी छनौट गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी र बर्षका उत्कृष्ट प्रशिक्षक विधाका शीर्ष तीनभित्र परेकाको मनोनयन सार्वजनिक गरेको हो ।

उक्त विधाको मनोनयनमा ८–८ जना परेका थिए । वर्ष उत्कृष्ट युवा खेलाडीमा क्रिकेटका देव खनाल, एथ्लेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ मनोनयनको शीर्ष तीनभित्र परेका छन् ।

वर्षको उत्कृष्ट प्रशिक्षकमा एथ्लेटिक्स चन्द्र बहादुर गुरुङ, बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमाटा छन् भने वर्षको उत्कृष्ट खेलाडी पुरुषमा एथलेटिक्सका दीपक अधिकारी क्रिकेटका आसिफ शेख र रोहित पौडेल शीर्ष तीनमा परेका छन् ।

त्यस्तै वर्ष उत्कृष्ट खेलाडी महिलामा बास्केटबलकी अनुशा मल्ल, एथ्लेटिक्स राजपुरा पछाई र पुष्पा भण्डारी शीर्ष तीनमा परेको अवार्ड छनोट समिति सदस्य गोविन्द नेपालले जानकारी दिए । यस पटक २०औं संस्करण माघ २८ गते आइतबार याक एन्ड यति होटलमा आयोजना हुँदैछ ।

उत्कृष्ट तीनबाट कार्यक्रमकै दिन विजेता चयन गरिने छनोट समितिका समितिका संयोजक प्रज्वल ओलीले जानकारी दिए । यस संस्करणदेखि चार विधामा समान आठ जना मनोनयनमा समावेश गरिएको हो ।

यसअघि पाँच जना मनोनयन सार्वजनिक हुने र तीमध्येबाट अवार्डकै दिन विजेता घोषणा गर्ने गरिन्थ्यो । पिपल्स च्वाइस विधामा भने पाँच मनोनयन नै यथावत् र तीमध्येबाट अवार्डकै दिन विजेता घोषणा हुने मञ्चले जनाएको छ । यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विधाका विजेताले बजाज पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् ।