माओवादी स्थायी समिति बैठकमा विधान मस्यौदामाथि छलफल

२६ माघ २०८०, शुक्रबार १३:१०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा विधान मस्यौदामाथि छलफल सुरु भएको छ । माओवादी पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार बसेको बैठकमा विधान मस्यौदा कार्यदलका संयोजक एवं उपाध्यक्ष पम्फा भुसालले विधानका प्रमुख विशेषताका बारेमा बैठकमा प्रस्तुती दिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

आजको बैठकमा विधानमाथि महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिवद्वय गणेश साह र राम कार्की तथा स्थायी समिति सदस्य शशि श्रेष्ठले धारणा राखेका छन् ।

विधानमा धारणा राख्ने अधिकांश सदस्यले पार्टी विधानमा समाजवादी मूल्य, मान्यता र आदर्श स्थापित तथा समाजवादी विचारधारा प्रवाहित हुनेगरी व्यवस्था गर्नुपर्नेमा जोड दिएको प्रवक्ता सापकोटाले जानकारी दिए । नेताहरूले पार्टी कमिटी चुस्तदुरुस्त हुनुपर्ने, केन्द्रीय समिति एक सय ५१ सदस्यीय बनाइनुपर्ने धारणा व्यक्त गरेका थिए ।

यद्यपि छलफलका क्रममा उठेका विषयको निरुपण भने विधान सम्मेलनबाटै हुने प्रवक्ता सापकोटाको भनाइ छ । आजको बैठकमा सैद्धान्तिक र नीतिगत छलफल भएको उनले जानकारी दिए । स्थायी समिति बैठक शनिबार पुनः बस्नेछ ।

माओवादीले विधानमाथि छलफल गर्न आइतबार र सोमबार केन्द्रीय समितिको बैठक बोलाएको छ । माओवादीले आगामी फागुन पहिलो साता विधान सम्मेलन आयोजना गरेको छ । फागुन १, २ र ३ गते विधान सम्मेलन हुँदैछ ।

यसैबीच नेकपा माओवादी केन्द्रले कांग्रेसका नेताहरुले सरकार परिवर्तनको विषयलाई लिएर बाहिर भने जस्तो समस्या गठबन्धनभित्र नभएको स्पष्ट पारेको छ । बैठकपछि पार्टी प्रवक्ता अग्नीप्रसाद सापकोटाले कांग्रेसका नेताहरुले सरकार परिवर्तनलाई लिएर जे जस्तो धारणा राखेता पनि अहिले गठबन्धनमा कुनै समस्या नभएको प्रष्ट पारे । उनले गठबन्धन पाँचै वर्ष टिक्ने दाबी पनि गरे ।

उनले भने,‘कांग्रेसका कतिपय नेताहरुले केके भन्छन् भनेर त्यसको हिसाब किताब राखेर साध्य छैन । अहिले गठबन्धनमा कुनै समस्या छैन । यो गठबन्धन जान्छ पाँचै वर्ष जान्छ ।’