उर्जा नीतिबारे मन्थन गर्दै रास्वपा

२० फाल्गुन २०८०, आईतवार ०२:२८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गठन गरेको ऊर्जा नीति कार्यदलले ऊर्जा सम्बन्धी नीति मन्थन गर्ने भएको छ । सोमबार बिहान काठमाडौंस्थित पर्यटन बोर्डको सभा हलमा ऊर्जा नीति मन्थन कार्यक्रम गरिने कार्यदलका संयोजक श्रीराम न्यौपानेले जानकारी दिएका छन् ।

ऊर्जा नीति मन्थनमा तीनवटा सत्र छुट्याइएको कार्यदलले जानकारी दिएको छ । पहिलो सत्रमा ऊर्जा विकासका वर्तमान चुनौतीका बारेमा मन्थन हुनेछ ।

जसअन्तर्गत विज्ञका रूपमा प्रा.डा. त्रिरत्न बज्राचार्य, ई.डा.रामप्रसाद धिताल, डा. रविन श्रेष्ठ, सुमन जोशी र डा. अरनिको पाँडे रहेनछन्। यो सत्रको सहजीकरण ऊर्जा क्षेत्रमा कलम चलाउने पत्रकार विकास थापाले गर्नेछन् ।

दोस्रो सत्र बदलिँदो परिवेशमा आवश्यक ऊर्जा नीति र संसद्मा प्रस्तावित विद्युत विधेयकबारे हुनेछ। जसमा डा.सोमलाल सुवेदी, ई.तारानाथ सापकोटा, ई.शेरसिंह भाट, ई.पूर्ण परियार र प्रकाश दुलालले विज्ञका रूपमा आफ्ना धारणा राख्नेछन्। यस सत्रको सहजीकरण सांसद सोबिता गौतमले गर्नेछिन् ।

समापन सत्रमा संघीय सांसदहरु जनमत पार्टीका अध्यक्ष डा.सिके राउत, नेपाली कांग्रेसका नेता बद्री पाण्डे, रास्वपाका उपसभापति डा.स्वर्णिम वाग्ले र सभापति रवि लामिछानेले धारणा राख्नेछन् । रास्वपाले गत असोज १९ गते वरिष्ठ इन्जिनियर श्रीराम न्यौपानेको संयोजकत्वमा कार्यदलको गठन गरेको थियो ।

स्वतन्त्र विज्ञहरूका रूपमा पूर्व सचिव ई. देवेन्द्र कार्की, ऊर्जा विज्ञ डा.सरोज अधिकारी, डा.राम प्रसाद धिताल साथै युवा र विकासका सम्बन्धमा आवाज उठाउने सञ्चारकर्मी उदयराज ढकाल कार्यदलमा रहेका छन् ।

कार्यदलले ७ वटै प्रदेश, विभिन्न जिल्ला र काठमाडौंमा सरोकारवालाहरुसँग करिब २ दर्जन अन्तक्रिया कार्यक्रम सम्पन्न गरि सुझाव संकलन गरिसकेको जनाएको छ ।

कार्यदलले ऊर्जा नीति मस्यौदा तयार पश्चात पूर्व मुख्य सचिव डा. सोमलाल सुवेदी संयोजक रहने ’रिभ्यू कमिटी’ लाई बुझाउनेछ । प्राप्त सुझावलाई समेटेर तयार गरिने नीति पार्टीको केन्द्रीय समितिलाई बुझाउने बताएको छ ।

आफ्नो संयोजकत्वमा तयार गर्न लागिएको ऊर्जा नीति देशको समृद्धिको मार्ग प्रशस्त गर्नका लागि आधारस्तम्भ रहने र ऊर्जा विकासका माध्यमबाट नै मुलुकले द्रूत गतिमा आर्थिक समृद्धि हासिल गर्न सक्ने संयोजक न्यौपानेले दाबी गरेका छन् ।