एमसीसीका उपाध्यक्षले ऊर्जामन्त्रीसँग लिए एमसीसी परियोजनाको प्रगति  विवरण

२० फाल्गुन २०८०, आईतवार १५:११

 

काठमाडौँ  ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को अनुदान सहयोगमा निर्माण हुने प्रसारण लाइनलगायत आयोजनालाई गति दिन सरकारले आवश्यक सहजीकरण गरिरहेको बताएका छन् ।

मन्त्री बस्नेतले आइतबार साँझ आफ्नै कार्यकक्षमा एमसीसीको ‘कम्प्याक्ट अपरेसन’का नायब उपाध्यक्ष जोनाथन ब्रुक्सलाई उक्त जानकारी दिएका हुन् । आफूसँग भेट गर्न आएका उपाध्यक्षलाई उनले एमसीसीको सहयोगमा अगाडि बढाइएका प्रसारण लाइन तथा सबस्टेसन निर्माण प्रक्रियाका बारेमा भएका प्रगतिबारे जानकारी दिएका हुन् । उनले प्रसारण लाइन निर्माण तथा सडक पूर्वाधार निर्माणका लागि सरकारका तर्फबाट आवश्यक सहयोग भइरहेको बताए ।

नायब उपाध्यक्ष ब्रुक्सले एमसीसीको सहयोगमा सञ्चालन हुने आयोजनाका समग्र पक्षबारे बताउँदै तिनको कार्यान्वयन गरिने जानकारी दिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा भएको प्रगतिलगायत विषयमा छलफल गर्न नायब उपाध्यक्ष बु्रक्स नेपाल भ्रमणमा आएका हुन् । उनको भ्रमणले नेपाल र अमेरिकाबीचको ७७ वर्ष लामो द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास दुवै पक्षले व्यक्त गरेका छन् ।

एमसीसीको सहयोगमा कूल तीन सय १५ किलोमिटर प्रसारण लाइन निर्माण हुनेछ । त्यसनिम्ति लप्सीफेदी–रातमाटे–हेटौँडासम्मको एक सय १७ किलोमिटर, रातमाटेदेखि दमौलीसम्मको ९० किलोमिटर र दमौलीदेखि बुटवलसम्मको ९० किलोमिटर प्रसारण लाइन निर्माण हुनेछ ।

यस्तै, बुटवलदेखि नेपाल–भारत सीमासम्मको १८ किलोमिटर बराबरको प्रसारण लाइन पनि निर्माण गर्ने लक्ष्य राखिएको छ । यसअघिको बोलपत्र प्रक्रिया रद्द भएसँगै नयाँ बोलपत्रको प्रक्रिया सुरु गर्न लागिएको छ ।

नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ गते हस्ताक्षर भएको थियो । सो परियोजनाका लागि एमसिसीले ५० करोड अमेकिरी डलर अनुदान उपलब्ध गराउनेछ । आयोजनामा नेपाल सरकारले १९ दशमलव सात करोड अमेरिकी डलर लगानी गर्नेछ ।