No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’

0

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ का एक युवाले सावित गरिदिएका छन्।

नेपालमा गरिखाने बाटो छैन भन्दै दैनिक एक हजार पाँच सयभन्दा बढी नेपालीहरू हातमा राहदानी बोकेर विदेशिने गर्छन्। मासिक ४०/५० हजार रूपैयाँ कमाउन र गुजारा चलाउनकै लागि खाडीको यात्रा तय गर्ने युवा जनशक्तिको कमी छैन यहाँ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा राहदानी बनाउन पुग्ने दैनिक करिब ४० युवामध्ये झण्डै ८० प्रतिशत जतिले रोजगारका लागि खाडीमा जाने योजना सुनाउँछन्।

उनीहरु भन्छन् ‘स्वदेशमा न त कुनै जागिर नै छ न नै। अनि विदेश नहानिएर के गर्नु? यहाँ बसेर कामै छैन्।’ तर जिल्लाको नेचासल्यान गाउँपालिका–२ का वियश राईले भने नेपाल प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै सुरू गरेको दुग्ध व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन्।

उनले सुरू गरेको उद्यमबाट आफू मात्रै स्वरोजगार भएका छैनन्। गाउँका अन्य थुप्रै युवालाई समेत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगार सिर्जना गरेका छन्। बिहानदेखि बेलुकासम्म निरन्तर आफनो व्यवसायमा व्यस्त रहने राई बेफुर्सदिला छन्।

बिहान सबेरै उठेर दूध संकलनका भाँडाकुँडा हातमा बोकेर कहिले आफ्नै गाउँटोल त कहिले छिमेकी गाउँका कृषकहरुको घरदैलोमा पुग्छन् उनी। राईले डेरी व्यवसाय तथा दुग्धजन्य परिकारहरूको बिक्रीबाट कमाएर नै परिवार पाल्ने, छोराछोरीलाई पढाउने साथै स्थानीय ब्यक्तिहरुलाई समेत रोजगार दिँदै आएका छन्।

राई विसं २०७९ को स्थानीय निर्वाचनमा प्रहरी नायब निरीक्षक पदबाट राजीनामा दिएर चुनावमा होमिएका थिए। उनले नेचासल्यान गाउँपालिका–२ मा वडाध्यक्षको उम्मेदवार थिए।

तर चुनाव जितेनन्। त्यउसपछि उनी आफ्नै गाउँमा केही व्यवसाय सञ्चालन गर्ने र अन्य युवालाई समेत प्रेरणा दिने सोचलागेका हुन्।
उनले भने, ‘गाउँघरमा रोजगारको बाटो छैन भन्ने र मासिक रू ४०/५० हजार कमाइ गर्नकै लागि खाडी जाने युवाहरुको जमात असाध्यै धेरै देखेँ, म आफू त प्रहरीको छोडेर गाउँ होमिएको व्यक्ति हुँ तर गाउँका युवाको विदेश पलायनले मन छोयो र गाउँमै केही गर्न सकिन्छ भन्ने उदाहरण पेस गर्न पनि मैले यो उद्यम सुरु गरेँ।’

उनले २०७९ मङ्सिरबाट कोठा भाडामा लिइ दूध सङ्कलन गरी दूध र दही बिक्री गर्न थाले। व्यवसायलाई क्रमिक रुपमा विस्तार गर्ने उद्देश्यका अघि बढेका राईले ज्ञान तथा सीपको आवश्यकता महसुस गरी आफ्नै लगानीमा इलाममा गई दुग्ध तालिम लिए।

उनको लगनशीलता र मेहनत देखेर व्यवसाय विस्तारका लागि गाउँपालिकाले दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको भएता पनि पर्याप्त भने थिएन। यसै क्रममा उनले गाउँपालिकामार्फत जिआइजेड नेपालअन्तर्गत रिप–ग्रिन कार्यक्रमले डेरी तालिम सञ्चालन गर्न लागेको कुरा थाहा पाए। र उनी गाउँपालिकाको सिफारिसमा तालिमका लागि छनोट पनि भए।

उनी २०८० बैशाख ५ गतेदेखि १० गतेसम्म सो कार्यक्रमले इलाममा सञ्चालन गरेको डेरी उत्पादन सीप विकाससम्बन्धी तालिममा सहभागी थिए। तालिममा देशभरबाट जम्मा भएका नव उद्यमी, सिकेका ज्ञान, सीपले उनलाई थप व्यावसायिक बन्ने ऊर्जा मिल्यो।

तालिमपश्चात परिश्रम नै सबैभन्दा ठूलो हो र यसले नै मानिसलाई स्वावलम्बी बनाउँछ भन्ने पूर्ण विश्वासको साथ थप सशक्त भई उनले यसलाई नै मुख्य पेशाको रूपमा अँगाल्न सुरू गरे। उनले व्यवसाय समेत दर्ता गरी दूधबाट बन्ने दही, पनीर, घीउ, खुवा र आइसक्रिमजस्ता परिकारहरु नेचासल्यान गाउँपालिका साथै सदरमुकाम सल्लेरीबजारमा समेत बिक्री गर्न थाले।

तालिमपश्चात् उनको आत्मविश्वास पनि बढ्यो, दूधका परिकारहरु उत्पादन गरी व्यवसायलाई विस्तार पनि गरे। व्यवसाय सञ्चालनका लागि अहिले छ जनालाई रोजगार पनि दिरह उनको व्यवसायलाई चाहिने दूध बिक्रीबाट गाउँका करिव ६० घर कृषकहरू अप्रत्यक्षरुपमा लाभान्वित बनेका छन्।

व्यवसायबाट मासिक चार लाख रुपैयाँभन्दा बढी कारोवार भइरहेको अनुमान उनको छ। यही आम्दानीबाट छोराछोरीको पढाइ, औषधोपचार खर्च गरेर बचेको पैसाले भाडामा लिएको जग्गामा घर निर्माण गरी भैंसीपालन व्यवसाय विस्तार गरेका थिए।

व्यवसायलाई अझ दिगो र विस्तारितरुपमा सञ्चालन गर्न आफ्नै लगानीमा कृषि तथा भैंसीफार्म सुरू गरेको उनको भनाइ छ। चार माउभैंसीबाट सुरू गरिएको फार्ममा २० माउभैँसी बनाउने योजनाका साथ आफू अघि बढेको राईले बताए। गाउँघर र छिमेकीहरुलाई समेत पशुपालन र दूध उत्पादनमा उहाँले प्रोत्साहन गर्दै आएका छन्।

सदरमुकाम सल्लेरीमा मात्रै दैनिक सात सय लिटरभन्दा बढीको दूध खपत हुन्छ भने नेचासल्यानमा दैनिक १०० लिटरसम्म दूध खपत हुने गरेको उद्यमी राईको भनाइ छ। जिल्लामा व्यावसायिक पशुपालन र दूध उत्पादन फस्टाउन नसक्दा डेरी व्यवसाय सञ्चालनमा चुनौती थपिएको उनले भने।

‘जिल्लाका किसानहरुले परम्परागत ढङ्गबाट बस्तुभाउ पाल्दै आएका छन्, व्यावसायिक दूध उत्पादनको अवधारणा अझै विकास हुन सकेका छैन, युवाहरु जति सबै खाडीमा छन्, यहाँ गाईभैँसी पाल्ने जनशक्ति पर्याप्त छैन,’ राईले भने।

जिल्ला सदरमुकामदेखि गाउँघरसम्ममा दूध मात्र नभई दुग्धजन्य परिकारको माग र खपत उच्च रहेको छ। दूध, दही, मही, पनिर, खुवा, दूधबाट बन्ने मिठाइहरु धेरै माग रहेको उनले बताए। उत्पादित वस्तुहरूलाई सहज बिक्री वितरणका लागि काठमाडौंका बजारहरु तथा अन्तरराष्ट्रिय बजारहरुसँग समेत समन्वय गरिरहेको राई बताए।

व्यवसायप्रतिको जिम्मेवारी तथा दिगो व्यवसायका लागि व्यक्तिमा ज्ञान तथा सीपको आवश्यकता हुन्छ भन्ने राम्ररी बुझेका राई यस्ता तालिमहरू खर्च गरेर भए पनि लिन छुटाउनु हुन्न। रिपग्रीन कार्यक्रमद्वारा सञ्चालित तालिमपछि उनले विभिन्न वस्तुहरू उत्पादन गरी थप आम्दानी बढाउन सफल भएका थिए। सीप र काम गर्ने जाँगर भए स्वदेशमै केही गर्न सकिन्छ, घर व्यवहार सम्हालन सक्ने र आफ्नो आवश्यकता टार्न कसैसँग हात फिँजाएर माग्न नपर्ने उनको तर्क छ।

प्रकाशित: ११ चैत्र २०८०, आईतवार ०७:०२

Leave a Reply