सरकारद्वारा सत्य निरूपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त गर्न समिति गठन

३० चैत्र २०८०, शुक्रबार १०:०३

काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्त गर्नका लागि सिफारिस समिति गठन गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा दुवै आयोगका अध्यक्ष एवं सदस्य सिफारिस गर्नका लागि सिफारिस समिति गठन गरेको नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

समितिमा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य वा आयोगले तोकेको सदस्य, सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल, डा. अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य रहेका छन् ।