दक्षिण कोरियाद्वारा दशौँ पटक नीतिगत दर स्थिर

३० चैत्र २०८०, शुक्रबार ११:५७

 

दक्षिण कोरियाको केन्द्रीय बैंकले शुक्रबार मुद्रास्फीति र घरेलु ऋणको अनिश्चितताका बीच लगातार दशौँ पटक नीतिगत दरलाई स्थिर बनाएको छ ।

बैंक अफ कोरिया (बिओके) का गभर्नर री चाङ–योङ र अन्य मौद्रिक नीति निर्माताहरूले सात दिवसीय पुनरखरिद दरलाई तीन दशमलव पाँच प्रतिशतमा अपरिवर्तित राख्ने सर्वसम्मतिले निर्णय गरेका छन् । यो बजारको अपेक्षाअनुरूप थियो ।

कोरिया फाइनान्सियल इन्भेस्टमेन्ट एसोसिएसनका एक सय निश्चित आय विशेषज्ञको सर्वेक्षणअनुसार ९८ प्रतिशतले यो महिना दर स्थिर हुने भविष्यवाणी गरिएको छ  ।

बिओकेले सन् २०२१ अगस्ट र सन् २०२३ जनवरीको बीचमा नीतिगत दरमा तीन प्रतिशत अङ्कको बढोत्तरीपछि यस वर्षको जनवरी र फेब्रुअरीमा तथा गत वर्ष सात पटक दरलाई रोकेको थियो । अझै पनि उच्च मुद्रास्फीति र ठूलो मात्रामा घरेलु ऋणजस्ता बाँकी अनिश्चितताबीच दरमा लगातार गिरावट आएको छ ।

गभर्नर रीले पत्रकार सम्मेलनमा उपभोक्ता मूल्य मुद्रास्फीति यस वर्षको अन्त्यसम्ममा दुई दशमलव तीन पुग्न सक्छ वा सक्तैन भन्ने महत्त्वपूर्ण हुने बताए । उनले मुद्रास्फीति दुई दशमलव तीन प्रतिशतभन्दा माथि रह्यो भने यस वर्षको दोस्रो छ महिनामा ब्याज दरहरूमा कटौती गर्न कठिन हुनसक्ने बताए ।

मार्चमा उपभोक्ता मूल्य एक वर्षअघिको तुलनामा तीन दशमलव एक प्रतिशतले बढेको छ । यो लगातार दोस्रो महिना तीन प्रतिशतभन्दा माथि छ । यो बिओकेको दुई प्रतिशतको मध्यावधि मुद्रास्फीति लक्ष्यमा उच्च अवस्थामा रहेको छ ।

सन् २०२२ जुलाईमा छ दशमलव तीन प्रतिशतको उच्च अवस्थामा पुगेपछि कूल मुद्रास्फीतिमा गिरावट आइरहेको थियो र गत वर्ष जुलाईमा यो दुई दशमलव चार प्रतिशतको तल्लो स्तरमा झरेको थियो ।

हालैका महिनाहरूमा कृषि उत्पादनको मूल्यमा भएको वृद्धिले मुद्रास्फीतिको दबाब बढेको छ । यो मार्चदेखि लगातार दोस्रो महिनामा २० प्रतिशतभन्दा धेरै भएको छ । कृषि उत्पादनको मूल्य र विश्वव्यापी तेलको मूल्यमा भएको वृद्धिका कारण फेब्रुरी र मार्चमा उपभोक्ता मूल्य मुद्रास्फीति तीन दशमलव एक प्रतिशतमा रहेको बिओकेले जनाएको छ ।

उपभोक्ता मूल्य मुद्रास्फीति बिस्तारै मध्यम हुने अपेक्षा गरिए पनि भूराजनीतिक जोखिम, विश्वव्यापी तेलको मूल्य र कृषि उत्पादनको मूल्यका कारण मुद्रास्फीति दृष्टिकोणमा अनिश्चितता बढेको बैंकले उल्लेख गरेको छ ।