कोशीका मुख्यमन्त्री कार्कीलाई हटाउन माओवादी र एमालेको संकल्प प्रस्ताव

३ बैशाख २०८१, सोमबार १२:२६

विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत माग्न निर्देशन दिन प्रदेशसभा सचिवालयमा संकल्पप्रस्ताव दर्ता गरेका छन् ।

सोमबार नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेश उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको सङ्कल्प प्रस्ताव संसद सचिवालयमा दर्ता भएको हो ।

सङ्कल्प प्रस्तावमा वैशाख २५ गतेभित्र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने अथवा राजीनामा दिनुपर्ने उल्लेख छ । वैशाख २५ भित्र राजीनामा पनि नदिए र विश्वासको मत पनि नलिए मन्त्रिपरिषद्का कुनै पनि निर्णय कार्यान्वयन गर्न बाध्य नहुने व्यहोरा पनि संकल्प प्रस्तावमा उल्लेख छ । प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख ६ गतेलाई कोशी प्रदेशसभा बैठक बोलाएका छन् ।