No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

म्यान्माकी नेत्री सुकीलाई कारागारबाट सारेर घरमा नजरबन्द

0

 

जुन्ता सरकारले कैदीहरूलाई लुको लहरबाट बचाउने कदम चालेको घोषणा गरेसँगै कारागारमा रहेकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सु कीलाई कारागारबाट घरमा नजरबन्द गरिएको एक सैन्य अधिकारीले बताएका छन् ।

भ्रष्टाचारदेखि कोभिड–१९ नियमहरूको उल्लङ्घनसम्म धेरै आपराधिक अभियोगमा ७८ वर्षीया नोबेल पुरस्कार विजेता सु कीले २७ वर्षको कारागार सजाय काटिरहेकी छन् । सन् २०२१ को सैन्य विद्रोहमा सत्ता कब्जा गरेर सेनाले हिरासतमा लिएपछि सु कीलाई धेरै हदसम्म नजरबाट लुकाइएको थियो र उनी स्वास्थ्य समस्याले ग्रस्त भएको बताइएको छ ।

नाम उल्लेख नगर्ने शर्तमा एक सैन्य अधिकारीले सु की र पूर्वराष्ट्रपति विन मिन्टलाई कारागारबाट घरमा नजरबन्द गरिएको जानकारी दिए । जुन्ताका प्रवक्ता जाव मिन टुनले गर्मी मौसमका कारण अधिकारीहरूलाई कमजोर बन्दीहरूको सुरक्षा उपाय अपनाउन प्रेरित गरेको बताए ।

“डा आङ सान सु की र यु विन मिन्टलाई मात्र नभएर केही पुराना कैदीहरूलाई पनि तातो मौसमका कारण आवश्यक हेरचाह गरिएको थियो”, उनले भने ।

राजधानी नेपिडाउमा तापक्रम बुधबार ४१ डिग्री सेल्सियस पुग्ने अपेक्षा गरिएको छ र आगामी सातामा मौसम अझ तातो हुने अनुमान छ । नेपिडाउमा सु कीलाई विशेषरूपमा निर्मित परिसरमा हिरासतमा राखिएको मानिन्छ ।

मुलुकको नयाँ वर्षको उत्सव मनाउन नियमित आममाफीको एक भागका रूपमा तीन हजार तीन सय कैदीलाई रिहा गरिने जुन्ताले बुधबार घोषणा गरेको छ । याङ्गुनको इनसेन कारागारबाहिर करिब दुई सयदेखि तीन सय आफन्त र साथीहरू कैदीहरूको स्वागतका लागि प्रतीक्षा गरिरहेका थिए ।

प्रकाशित: ५ बैशाख २०८१, बुधबार १५:५०

Leave a Reply