No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

इलामको उपचुनाव रास्वपालाई किन भयो ? उडायो सपना सबै हुरीले…

इलाममा रास्वपाले पाएको झट्का उसको मिसन ८४ को नारालाई जनताको धक्का हो । उसको ठूला दललाई गाली गरेर मौलाएको राजनीतिप्रतिको जनताले लगाईदिएको छोटो ब्रेक पनि हो ।

0

युएन विश्लेषण ।

अघिल्लो प्रतिनिधि सभा अन्तर्गत तीन वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदा दुई वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले बाजी मारेको थियो । यो वैशाख १५ मा प्रतिनिधि सभा अन्तर्गत इलाम–२ मा भएको उपनिर्वाचनपछिको मतगणनामा भने रास्वपालाई धक्का लागेको छ । चुनाव जित्ने दाबी गरेको रास्वपा मतगणनामा चौंथो स्थानमा रहेर संघर्ष गरिरहेको छ । सभापति तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी लगायतका प्रकरणले इलाममा रास्वपालाई अस्वाभाविक धक्का लागेको सोही पार्टीका कार्यकर्ताले मुख खोलेका छन् ।
तनहुँ र चितवनमा एक साल अघिको वैशाखमा भएको उपचुनावमा अपत्यारिलो विजय हात पारेको गृहमन्त्री रबिको लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले यही वैशाख १५ मा ईलाममा भएको उपचुनावमा भने करारी हारको सामना गर्नु पर्यो । वैकल्पिक राजनीतिक दलको रुपमा उदाउने छनक दिएको दल रास्वपाले उप चुनावमा प्रतिष्पर्धी बन्ने औकात समेत प्रमाणित गरेन । इलामको उपचुनाव रास्वपाका लागि उडायो सपना सबै हुरीले भन्ने गाना जस्तै भयो ।
एक निर्वाचन क्षेत्रको उपचुनावले समग्र देशको जनमतको झल्को त अवश्य दिदैन । तर इलाममा रास्वपाले पाएको झट्का उसको मिसन ८४ को नारालाई जनताको धक्का हो । उसको ठूला दललाई गाली गरेर मौलाएको राजनीतिप्रतिको जनताले लगाईदिएको छोटो ब्रेक पनि हो ।
रास्वपा किन हार्यो ? मिलन लिम्बू उम्मेदवार कमजोर रहे कि पार्टीको लोकप्रियताको ग्राफ नै ओरालो लागेको हो ? यी र यस्ता धेरै प्रश्नको जवाफ पार्टीले नै खोज्ला । तर जनादेशको कसीमा रास्वपाको इलामको परीक्षा उसले हारेको छ, उसकै कारणले ।
पछिल्ला दिनमा उसले दोस्रो पटक प्रचण्ड सरकारमा सामेल भएर जनतालाई रिझाउन नसकेको प्रमाण पनि हो, उसको इलामे हार । उपप्रधान तथा गृहमन्त्री तथा पार्टी सभापति रवि लामिछानेमाथि उठेको सहकारी ठगी प्रकरणमा पीडितले नपाएको न्याय र विरोधीले नपाएको जवाफको कुल योग पनि हो इलामको हार ।
हिजो काँग्रेस, एमाले र माओवादीहरुलाई गाली गर्ेर उदाएको दल दोस्रो पट्क एमाले र माओवादीकै बुई चढेर सरकारमा जानुलाई मतदाताले नरुचाएको सबक पनि हो इलाममा उसको हार ।
पार्टीप्रति प्रतिबद्ध, संगठित र स्थिर मतदाता नभएको दल रास्वपाले काँग्रेस एमालेका रुष्ट मतदाताको मन एक पटक जिते पनि पट्क पट्क जित्न सम्भव नभएको जनादेशको उदाहरण पनि इलामको हार । इलाममा उसले माओवादीका पत्रकार मिलन लिम्बूलाई चुनाव अघि रातारात उम्मेदवार बनाएको पाटो पनि मतदाताबाट अस्वीकृत भएको प्रमाण पनि हो इलामको हार ।
इलामबाट हारेर रास्वपाको पार्टी राजनीतिमा नै ब्रेक लागेको होइन । उसको प्रचण्ड सरकारसंगको सत्तायात्रामा पनि अल्पबिराम वा पूर्णबिरामको खतरा छैन । तर उसको वाचा र व्यवहार जनताको कसीमा परिक्षित हुदा कमजोर हुदै गएको भने सत्य हो ।
रास्वपाले काँग्रेस, एमाले र माओवादीहरुको पतनमा उसको उत्थान देख्ने जुन दृष्टि र भाष्य थियो, त्यसलाई रास्वपाको सत्तायात्राले नै खण्डित गर्यो । रास्वपाको सत्ता पाए एमाले, माओवादीकै जय गान गर्ने, सत्ता नपाए सत्तोसराप गर्ने रबिको काईदा मतदाताले रुचाएको पाईएन । इलामको मतादेशले रास्वपालाई दिएको सन्देश यही हो ।
सबैभन्दा कठोर यथार्थ के पनि हो भने रवि लामिछानेकै क्रेजले जन्मे, हुर्के बढेको रास्वपा अहिले गृहमन्त्री रविमाथिको सहकारी ठगी प्रकरणको आरोपको कारण प्रश्नै प्रश्नको घेरामा छ । सहकारीको पैसाले खोलिएको टेलिभिजनमा सभापति रविको संलग्नताका अनुत्तरित धेरै प्रश्नहरुले मतदाताको मनमा रवि र रास्वपाप्रति शंका र अविश्वास बढाएकै देखिएको छ । यही कुरा इलामको उपचुनावमा पनि मतपत्र मार्फत प्रकट हुदा पहिलो हुन्छु भन्ने हुँकार दिएको रास्वपा पुछारतिर धकेलियो ।

प्रकाशित: १७ बैशाख २०८१, सोमबार १७:२८

Leave a Reply