No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

0

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको छ । लुम्बिनीमा आयोजित दुई दिने अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीको समापनका सहभागीले बुद्धजन्मस्थललाई बौद्ध दर्शनको उद्गमस्थलका रुपमा प्रवर्द्धन गर्न र शान्ति सहर घोषणाको माग गरेका हुन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायको आयोजनामा लुम्बिनीमा आयोजित ‘विश्वव्यापी चुनौतीको समाधान सन्दर्भमा बौद्ध शिक्षाको सान्दर्भिकता’ विषयक गोष्ठी आयोजना गरिएको थियो ।

गोष्ठीका सहभागीहरुले राजनीतिक व्यवस्थाको परिवर्तन र द्वन्द्वका विषय समाधान भइसकेकाले बुद्ध जन्मस्थल नेपाललाई शान्ति देश घोषणा गर्न संयुक्त राष्ट्र सङ्घ समक्ष आग्रह गरे ।

बौद्ध शिक्षालाई विद्यालय तहदेखि शैक्षिक पाठ्यक्रममा समावेश गर्दै बौद्ध दर्शनको अध्ययन, अनुसन्धानलाई विशेष प्राथमिकतामा राख्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

“वातावरणीय असन्तुलन, आर्थिक सङ्कट, आपसी द्वन्द्व र अपराध तथा मानसिक प्रतिकूलनताजस्ता विश्वव्यापी समस्याको समाधान तथा न्यूनीकरणका लागि शील, समाधि र प्रज्ञायुक्त समाज निर्माण गर्न बौद्ध शिक्षाको विश्वव्यापीकरण आवश्यक देखिएकाले बौद्ध शिक्षाको अध्ययन, अनुसन्धानमा जोड दिन सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दछौँ”, गोष्ठीपछि सार्वजनिक गरिएको सात बुँदे लुम्बिनी घोषाणापत्रमा भनिएको छ ।

यसअघि गोष्ठीमा बौद्ध दर्शन र योगका विषयमा आफ्ना धारणा राख्दै योग गुरुहरुले बढ्दो सामाजिक समस्याको समाधान योग भएकोमा जोड दिए । अनाइनमार्फत आफ्ना धारणा राख्दै आचार्य बालकृष्ण र डा विकासानन्दले मानव जातीले दुःखबाट मुक्ति पाउने एकमात्र उपाय ध्यान र साधना भएको बताए । उनीहरुले जीवनका समस्याबाट पार पाउन योग गर्न सबैलाई आग्रह समेत गरेका छन् ।

गोष्ठीमा योग गुरु डा भोलानाथ योगी, डा चिन्तामणि योगी, भानु शर्मा, प्रा डा विशाल सिटौला र डा क्षितिज बराकोटीले सबै धर्म, पराम्परा र योगको भूमि नेपाल भएकाले यसलाई हरेक व्यक्तिको जीवनपद्दतिसँग जोड्ने गरी प्रचार आवश्यक रहेको बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा सुवर्णलाल बज्राचार्यले बौद्ध दर्शन र योगलाई जोडेर नयाँ पाठ्यक्रम बनाइ कार्यान्वय गर्ने तयारी गरेकोले राय सुझाव आवश्यक रहेको बताए ।

बौद्ध अध्ययन संकायका डीन डा माणिकरत्न शाक्यले बौद्ध दर्शन र विपश्यनाका माध्यमबाट आपसी द्वन्द्व र समस्या समाधान गर्न सकिने भएकाले विश्वविद्यालयले छुट्टै विषयका रुपमा अध्ययन अध्यापनको तयारी थालेको जानकारी दिए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा हृदयरत्न बज्राचार्यले शान्ति, मैत्री र करुणाको भावना विकास गर्न योग र साधना गर्न आवश्यक रहेकोमा जोड दिए ।

गोष्ठीमा लुम्बिनी बौद्ध विश्वविद्यालयका परीक्षा नियन्त्रक इन्द्र काफ्ले, डा निमा शेर्पा, कमल थापा, लक्ष्मी पोखरेललगायतले बौद्ध दर्शन र योगका विषयमा विद्यालय तहदेखि नयाँ पाठ्यक्रम आवश्यक रहेको बताए । गोष्ठीमा नेपालसहित थाइल्याण्ड, फ्रान्स, स्टोनीया, म्यानमार, जापान, बङ्गलादेश, भारत, ताइवान, श्रीलङ्का, पोर्चुगल, नर्वेलगायतका विभिन्न देशका बौद्ध भिक्षु तथा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित: २३ बैशाख २०८१, आईतवार १७:२५

Leave a Reply