पार्टी विभाजन नभएको उपेन्द्र पक्षको दाबी

२४ बैशाख २०८१, सोमबार १०:३२

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले पार्टी विभाजन नभएको दाबी गरेको छ । सोमबार पार्टी प्रवक्ता मनिष सुमनले विज्ञप्ति जारी गरी हाल संसद् अधिवेशन आह्वान भइसकेको अवस्था र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको साथै बहुमत केन्द्रीय सदस्य दलप्रति नै प्रतिबद्ध रहेको दाबी गरेका हुन् ।

उनले केही विभाजित मनस्थितिका व्यक्तिहरू निर्वाचन आयोग गई अवैधानिक निवेदनको आधारमा दल विभाजन हुने अवस्था नरहेको दाबी पनि गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘संसद् अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको साथै बहुमत केन्द्रीय सदस्य यस दलप्रति नै प्रतिबद्ध रहेको छ । यस्तो अवस्थामा केही विभाजित मनस्थितिका व्यक्ति निर्वाचन आयोगमा गई अवैधानिक निवेदन दिएका आधारमा दल विभाजन हुने अवस्था नरहेको अनुरोध छ ।’

तर आइतबार अशोक राईको समूह जसपा विभाजन र नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगेको छ ।