माल्दिभ्सद्वारा बढ्दो समुद्री सतहका कारण सिर्जित समस्या व्यवस्थापनका लागि सहयोगको माग

१२ जेष्ठ २०८१, शनिबार १३:२५

माल्दिभ्सले हिन्द महासागरको तल्लो भागमा रहेको द्वीपसमूहलाई सबैभन्दा उदार सहयोगका उपायहरूबाट अनुचित रूपमा बहिष्कृत गरिएको भन्दै समुद्रको बढ्दो सतहसँग जुध्न अन्तर्राष्ट्रिय कोषको माग गरेको छ ।

“माल्दिभ्स विश्वव्यापी उत्सर्जनको ०.००३ प्रतिशत हिस्साका लागि मात्र जिम्मेवार छ, तर जलवायु सङ्कटको अस्तित्वको परिणाम भोग्ने सिमित देशमध्ये एक हो,” राष्ट्रपति मोहम्मद मुइज्जुले बेलायतको गार्जियन पत्रिकामा प्रकाशित लेखमा उल्लेख गरेका छन् ।

“हाम्रो जस्तो समुदायप्रति धनी राष्ट्रहरूको नैतिक जिम्मेवारी छ,” उनले भने ।

उहाँले साना टापु तथा विकासोन्मुख राष्ट्र (सिड्स) को एक दशकको एक पटक हुने सम्मेलनको पूर्वसन्ध्यामा यस्तो टिप्पणी गरेका छन् । ती राष्ट्रहरूमध्ये केही अत्यधिक विलासी पर्यटन गन्तव्यका रूपमा चिनिन्छन् तर समुद्रको बढ्दो सतहका कारण खतरामा परेका छन् ।

सिड्सले अति कम विकसित मुलुकले प्राप्त गर्ने रकमको करिब १४ प्रतिशत मात्र प्राप्त गर्ने गरेको उनले बताए ।

आईएमएफका अनुसार माल्दिभ्सको प्रतिव्यक्ति आय चिली, मेक्सिको, मलेसिया वा चीनको तुलनामा उच्च छ, तर मुइज्जुले कुल गार्हस्थ्य उत्पादनलाई मापकका रूपमा उल्लेख गरेका छन् ।

उनले भनेका छन्, “माल्दिभ्सको स्वस्थ पर्यटन उद्योगका कारण हामी एक उदीयमान अर्थव्यवस्थाको रूपमा स्थापित मानिन्छौँ र यसैले सबैभन्दा कम आय भएका देशहरूको लागि छुट्याइएको सस्तो वित्तपोषणबाट टाढा छौं ।”

मुइज्जुले आफ्नो देशलाई जलवायु परिवर्तनको प्रभाव कम गर्न करिब ५० करोड अमेरिकी डलर आवश्यक रहेको र पर्यटनमा निर्भर अर्थतन्त्र रहेको माल्दिभ्सले आफैंले रकम जुटाउन नसकेको बताए ।

माल्दिभ्सका तत्कालीन राष्ट्रपति मौमून अब्दुल गयूमले समुद्रको सतह एक मिटर (३.३ फिट) ले वृद्धि भएमा एक हजार १९२ वटा स–साना कोरल टापुहरू डुब्ने बताएको पाँच वर्षपछि सन् १९९४ मा सिड्सको पहिलो बैठक भएको थियो ।

गयूमले सफलतापूर्वक समुद्री सतहबाट दुई मिटर माथि र आफ्नो भीडभाड भएको राजधानी मालेको दुई गुणा ठूलो कृत्रिम टापु निर्माणको काम सुरु गरेका थिए ।

गत सेप्टेम्बरमा निर्वाचित मुइज्जुले बढ्दो सामुद्रिक सतहसँग जुध्नका लागि ३० हजार आवासीय भवनहरू भएको ‘रस माले’ परियोजनासहितको ठूलो मानव निर्मित टापुको योजना सार्वजनिक गरेका छन् ।

तर यो परियोजना पूर्वाधारको कामको रूपमा वर्गीकृत गरिएकाले जलवायु वित्तपोषणको लागि योग्य नमानिएको उहाँले दुःखेसो पोखे ।

मुइज्जुलाई बेइजिङ समर्थकका रूपमा हेरिएको छ र सरकारी अधिकारीहरूका अनुसार उनले सुरू गरेका अधिकांश निर्माण कार्य चिनियाँ फर्महरूले गर्ने अपेक्षा गरिएको छ ।