संसदीय समितिको टिओआरमा गोरखा मिडियाको प्रवन्ध निर्देशक लेख्नुपर्ने कांग्रेसको अडानपछि सत्तापक्ष अलमलमा

१२ जेष्ठ २०८१, शनिबार १४:५१

काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिन गर्न बन्ने संसदीय समितिको कार्यादेश टुंग्याउन आइतबार प्रमुख दलका शीर्ष नेताले छलफल गर्ने भएका छन् ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि आइतबार बिहान शीर्ष नेताहरू बस्ने सहमति भएको नेपाली कांग्रेसका सांसद जीवन परियारले जानकारी दिएका छन् ।

यसअघि शनिबार दिउँसो बसेको कार्यदलको बैठकमा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी र उनी आबद्ध कम्पनी (गोरखा मिडिया) को नाम राखेर समिति बनाउनेगरी छलफल भएको थियो ।

परियारका अनुसार कांग्रेसले पछिल्लो समय गृहमन्त्रीको नाम किटान नगर्ने तर गोरखा मिडियाका तत्कालीन प्रवन्ध निर्देशक भनेर लेख्नुपर्ने अडान लिएको थियो । त्यसमा सत्ता पक्ष अलमलमा परेकाले आज सहमति नभएको उनले बताए । उनका अनुसार अब अर्को बैठक आइतबार विहान ९ बजे बस्नेछ ।