थाहाका मेयर राष्ट्रिय परिचयपत्र बनाउन सम्झाउँदै गाउँगाउँमा

३१ जेष्ठ २०८१, बिहीबार १६:५१

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाका प्रमुख विष्णु विष्ट नगरका नियमित कामबाट अलि फुर्सद निकालेर हिजोआज गाउँका बुढापाकासँग भलाकुसारी गर्दै राष्ट्रिय परिचयपत्र बनाउन सम्झाउँदै हिँड्न थालेका छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि थाहा नगरपालिकामा असार ८ देखि १३ गतेसम्म राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलन हुने भएकाले तोकिएको मितिमा आएर विवरण दर्ता गर्न कोही नछुटुन भनेर र गाउँका बृद्ध बा–आमाहरु सूचनाको पहुँचबाट पनि टाढा हुने हुँदा सँम्झाउदै हिँडेको प्रमुख विष्टले बताए ।

‘सामाजिक सुरक्षा भत्ता नवीकरण २०८१ भदौ मसान्तसम्म गर्न सकिने भएकोले परिचयपत्रमा विवरण दर्ता गर्न छुट भएका व्यक्तिहरूले विवरण दर्ता गर्न शुरु गरिएको र आफ्नो नगर भित्रका कोही नछुटुन भनेर जानकारी दिदै हिँडेको र नगर सहित वडाका सबै संयन्त्र पनि लागिरहेको प्रमुख विष्टले बताए ।