No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मिथिलामा देवी प्रतिमा विसर्जन

  • 1
  •  
  •  
  •  
  •  
    1
    Share

मिथिलामा देवी प्रतिमा विसर्जन
मिथिलामा यसपालिको दशहरा (दशैँ) पर्वका लागि स्थापित देवी प्रतिमा मङ्गलबार विसर्जन गरिएका छन् । भाकल र उत्सवका लागि माटो मुछेर निर्माण गरी प्राणप्रतिष्ठा गरिएका देवी प्रतिमा असोज शुक्ल दशमी तिथिमा पवित्र तलाउमा विसर्जन गरिएका हुन् । विसर्जन गर्दा गहिरो पानीमा मूर्ति (प्रतिमा) लाई चुर्लुम्म डुबाउन पर्ने चलन छ ।

मिथिलामा पर्वको उत्सव मनाउन सामुहिक रुपमा वा भाकल पूरा गर्न देवी प्रतिमा निर्माण गरी शास्त्रोक्त विधिले प्राण प्रतिष्ठा गरी नवरात्रभरि पूजाआराधना गर्ने परम्परा छ । यद्यपि असोज शुक्ल प्रतिपदाबाट कर्मकाण्डी ब्राह्मणबाट दैनिक चण्डीपाठ गरिए पनि निर्मित प्रतिमाको प्राण प्रतिष्ठा भने फूलपातीका दिन प्रतिमाका आँखा उघारेपछि मात्र गरिन्छ ।

नवमीका दिन नवदुर्गाको पूजाआराधना पूर्ण हुने मैथिल मान्यता छ । देवी प्रतिमा बनाइएका यस्ता स्थलमा दशमीका दिन बिहान चण्डीपाठ गर्ने ब्राह्मणले त्यहाँ राखिएको कलशको जलले अभिशेक गर्दै यजमान (कर्ता, दर्शनार्थी) लाई जमरा दिने गर्दछन् । मिथिलामा पछिल्लोपटक पर्वते समुदायसँगको घुलमिलले टीका लगाउन थालेपनि मैथिल परम्परामा भने यो चलन नरहेको पाका मैथिल (मिथिलाका बासिन्दा) बताउँछन् ।

अभिशेक र जमरा लगाइएपछि देवी प्रतिमा पवित्र जलाशयमा विसर्जन गरिन्छ । यसक्रममा देवी दुर्गा भवानीको जयजयकार गर्दै नाचगान गरेर दशहरा पर्व सम्पन्न गर्ने मैथिल परम्परा रहेको बर्दिवास नगरपालिका–२ का कर्मकाण्डी ब्राह्मण महेशकुमार झा बताउनुहुन्छ ।

माटो मुछेर बनाइएका देवी प्रतिमाबाहेक परम्परादेखि स्थापित धातुका मूर्ति रहेका देवी मन्दिरमा भने देबी पूजन विसर्जन गरेर प्रसादस्वरुप जलअभिशेक र जमरा पुजारीले दर्शनार्थीलाई दिने गर्दछन् ।

रावण बध मेला
बडादशैँ पर्वमा देवी दुर्गाको पूजा आराधना गर्ने परम्पराबीच महोत्तरीको भारतीय सीमावर्ती मुख्य नाका मटिहानीमा भने रामायण गाथा गाइने गरिन्छ । मटिहानीमा वर्षेनी ‘रावण बध’ मेला नै आयोजन गरेर नवरात्रभरि रामायण पाठ कीर्तन गरी दशमीका दिन रावणरुपी दुष्ट प्र्रवृतिको अन्त्य भएको खुशियालीमा उत्सव मनाउने यहाँको पुरानो परम्परा हो ।

नवरात्रभरि (असोज शु्क्लपक्ष लागेदेखि नै) राम–रावणको घमासान लडाइँ भएको र दशमीका दिन मर्यादा पुरुष श्रीरामले रावणलाई ढाल्नुभएको विश्वासमा मटिहानीमा रावणबध मेलाको आयोजन परम्परादेखि हुँदै आएको छ । दशमीका दिन त्यहाँ निर्मित अजङ्गको रावण प्रतिमालाई श्रीरामको भूमिकाका कलाकारले तिरले हानेर लडाएपछि विजय उत्सव मनाइदै मेला सम्पन्न हुने परम्परा रहेको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले बताउनुभयो ।

रावण बध मेलामा टाढाटाढाबाट साधुसन्त सहभागी हुने गरेका छन् । यहाँ वर्षाकाल बितेपछि शरद ऋतु लागेसँगै श्रीराम सीताजीको खोजीमा लङ्का पुग्नुभएको र रावणसँग युद्ध गरेर सत्य स्थापित गर्नुभएको विश्वास गरिन्छ । रावणबध मेलाका अवसरमा अशोज शुक्ल प्रतिपदादेखि नै रामचरित मानस (श्री सन्त तुलसीदासविरचित रामायण महाकाव्य) पाठ गरिने परम्परा छ ।

Comments
Loading...