No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘भारतले हाम्रो स्वतन्त्रता जोगाइदेओस् भनेर सुंगुर निदाएझैं निदाउने प्रवृत्ति त्याग्नु आवश्यक छ’

  • 17
  •  
  •  
  •  
  •  
    17
    Shares

डा. युवराज संग्रौला।
नेपालको स्वतन्त्रता एकैमिनेटमा सकिन्छ भन्ने जस्ता भावनावादी सोचविचारको समस्या सानो छैन नेपालमा । कालापानी नेपालको हो, र रहिरनुपर्छ । भारत ठूलो छ नेपाल सानो छ भन्ने मनोग्रन्थीबाट सबै प्रभावित भएको अवस्था छ, यथार्थमा त्यही कारणले कालापानीमा भारतको दादागिरी भएको हो ।

यदि देशको स्वतन्त्रता जोगाउने हो भने भारतले हाम्रो स्वतन्त्रता जोगाइदेओस् भनेर कामना गर्ने र सुंगुर निदाएझैं निदाउने प्रवृत्ति पहिला त्याग्नु अवाश्यक छ । केही महत्वपूर्ण कुरामा विमर्श गरौं ।

१. नेपालको भूगोल चीन र भारतका बीचमा छ । यसको तात्पर्य हो हाम्रो एक एक इन्च जमिन मत्वपूर्ण छ । यस जमिनलाई जोगाउने दायित्व हाम्रै हो । तर २००७ सालदेखि अहिलेसम्म हामीले के गर्यौं ? अझ पञ्चायत जोगाउन त्यसबेला यो जमिन भारतलाई सशस्त्र फौज राख्न दियौं । अहिलेका थुप्रै समस्या हिजोदेखि आएका हुन् । यसतर्फ पहिला गम्भीर विश्लेषण गरौं।

२. हाम्रो भूराजनीतिक अवस्थाले नै राष्ट्रको सबभन्दा प्राथमिक काम कुटनैतिक व्यवस्थापन हो भन्ने स्पष्ट छ । यसबाट सहजै अनुमान गर्न सकिन्छ, हाम्रो परराष्ट्र मन्त्रालय सबैभन्दा प्रभावकारी र सक्षम हुनु पर्छ । यससँग वल्र्ड क्लास वा विश्वलाइ बुझेर नेपालका समस्या र अवसरहरुको सदुपयोग गर्न सक्ने कुटनीतिक विशेषज्ञहरु हुनुपर्छ । तर यो मन्त्रालयनै यस्तो एउटा मन्त्रालय हो, जस्ले विशेषज्ञहरुलाई प्रवेश निशेध गरेको छ । त्यो कुरा त यसको अध्ययन र अनुसन्धान गर्ने प्रतिष्ठानको दूरावस्थाबाटै जगजाहेर छ । यसको काम राजदूतको जागिर दिने हो र विदेश भ्रमणको चाँजोपाँजो मिलाउने हो जस्तो देखिन्छ । पार्टीका नेताका मानिस, लामो राजनीतिक त्याग गरेका मानिस र कर्मचारीलाई यसले राजदूतको जागिर दिन्छ । यो भन्दा बढी यसले देशको कुटनीतिको अनुसन्धान गरेको, नयाँ मान्याताहरु विकास गरेका प्रतिवेदनहरु पढेर विद्यार्थीहरु दीक्षित गर्न त अहिलेसम्म पाइएको छैन ।

३. देशमा विश्वस्तरका सिमाविद् छन् तर परराष्ट्र उनीहरुलाई देशको सेवामा प्रयोग गर्दैन । कहिलेकाहीँ मन्त्रीज्युले भेट्नु हुँदो हो । देशको सिमाना व्यवस्थापन गर्ने निकायलाई भूमिसुधार मन्त्रालयको मातहतमा राखेको छ। देशको परराष्ट्र मन्त्रीको हैसियत भूराजनीतिक अवस्थाको महत्वका कारणले प्रधानमन्त्री सरहको व्यक्तित्व भएको मानिस हुनुपर्ने हो, जसले विश्वका घटना र परिघटनाको विश्लेषण गर्दै नेपालको कुटनीतिलाई बाटो देखाउन सकोस् । समकक्षीसँग वार्ता गर्न सकोस् । कर्मचारीले लेखिदिएका नोटबाट कामचलाएर देश चल्दैन ।

४. त्यसैले यस समस्याको समाधान परराष्ट्र मन्त्रालयको बिस्तार, सदृढीकरण र विशेषज्ञताको निर्माणबाट हुनुपर्छ । उत्तर र दक्षिणका सिमानाको रेखदेख र अनुगमन गर्ने सिमाना नापनक्सा गर्ने छुट्टै आयोग परराष्ट्र मन्त्रालय मार्फत रहनुपर्छ र सिमानामा सानोतिनो मात्र समस्या देखियो भने यसलाई जिम्मेवार बनाउनु पर्छ ।

त्यसैले अहिले राष्ट्रका हितमा उठेको अवाज केबल भावनात्मक अभिव्यक्तिमा सीमित रहेर, राष्ट्रभित्र कर्मचारीतन्त्र र राजनीतिक अव्यवस्थापनका विषयले महत्व पाएनन् भने देश झनै कमजोर हुनेछ ।

५. परराष्ट्र मन्त्रालयका केही लक्षणहरु हेरौं । देशमा कुटनीतिक समस्यामा यो नयाँ बेहुली लजाएजस्तो लजाएर बस्छ । भारतको विदेश मन्त्रालयले त घुसपैठ गर्नेहरुको खेल भनेर थर्काइसक्यो । के सडकमा आएका मानिस घुसपैठिया हुन् ? होइनन् भने त्यसको जवाफ किन नदिएको होला ? यस्का अधिकांश मानिस राजदूत हुन्छन्, र उनीहरु त्यसपछि विदेशमै बस्छन् ।

उनीहरु भोलि एग्रीमो नआउने डरले केही बोल्दैनन् । विदेशीका अत्याचारका विरुद्धमा । उनीहरुलाई राष्ट्रको आवश्यकता उनीहरुको प्रगतिका लागि मात्र हो । देश रहे पुग्छ, अलिकति जस्तो भएपनि, ताकी विदेशी सडकमा मर्निङ्ग वाक गर्न पाइयोस्।

उनीहरु धेरैका सन्तान पनि विदेशमै छन् । कसरी होला राष्ट्रका स्वार्थको संरक्षण? के सरकार यस सम्बन्धमा छानबिन गर्न तयार छ । यस्ता कुरा लेख्ने हामी जस्ता सडकछापका (शिक्षकहरु)बोक्रा उकाइन्छन् थाहा छ, तर पनि गलतलाई गलत भन्ने संस्कृतिको निर्माण गर्नै पर्छ ।

६. तसर्थ अहिले सडकको आन्दोलनले केबल नकारात्मक राग अलापेर मात्र हुँदैन, अब राज्यका निकायका जिम्मेवारीको खोजीनीति पनि गर्नुपर्छ। अहिले वक्तव्यको बाढी लागेको छ। हरेक मानिसले वक्तव्य दिनु पनि पर्दैन । यो समस्याको समाधान खोज्ने निकाय परराष्ट्र मन्त्रालय हो । त्यसले राष्ट्रलाई आस्वस्त पार्नुपर्छ । यसमा पनि प्रधानमन्त्रीले नै अगाडी आउनु पर्ने अवस्था देखियो । यो बिडम्बना हो ।

हाम्रो सीमा व्यवस्थापनमा परराष्ट्रको भूमिका एकदमै कमजोर देखियो । तत्काल देशलाई विश्वासमा लिने काम गर्नुहोस्, र देशको विज्ञतालाई एक ठाउँमा ल्याउनुहोस् । आफन्त होइन देशभक्त विज्ञ खोज्नुहोस् । नोम चोम्स्कीहरुलाई हेला गर्दा केही फरक पर्दैन देशका हितका लागि विज्ञ हनुमान वा गणेश सम्म खोजेर भएपनि देशको कुटनीतिलाई चुस्त पार्नु आवश्यक छ ।

७. कतिपयलाई कालापानी अरुलाई हान्ने अवसर पनि बनेको छ । नारा कालापानीको छ, मक्सद राजनीतिको छ । हिजो देखिनै यस्तो हुँदै आएको हुँदा, देशको स्वार्थ व्यक्तिगत आकांक्षाले समाप्त पार्दै आएको । देशको कुटनीतिलाई राजनीतिमा मौलाएको अनैतिकताले कमजोर बनायो । यो बेला देश एक ढिक्का हुनुपर्छ भन्ने ख्याल जाग्नुपर्छ । यस संवेदनशील मुद्दालाई प्रयोग गरेर राजनीतिमा स्थान बनाउन खोज्नेहरुले देशलाई झनै घात गर्नेछन् । अहिले भावाना भन्दा बढी बुद्धिको खोजी हुनुपर्छ । यसबारेका जानकारहरुका सल्लाहले युवाहरु दीक्षित हुनुपर्छ । शक्ति देखाउनु पर्छ, तर बुद्धि प्रदर्शन गर्न ।

८. यस बारेमा रणनीति बनाइयोस् ।
. कालापानी नेपालको हो भन्ने प्रमाणसहित भारतलाई सरकारले पत्र पठाई र बर्तमान नक्सालाई मान्न इन्कार गरेको सूचना देओस् ।
. सीमाविद्हरुको समूहलाई नेपालको आधिकारिक यथार्थता यकिन गरि उहाँहरुबाट राष्ट्रलाई दीक्षित गरि यस मामिलामा देशको एउटै अवाज निर्माण गरोस् । भावनात्मक नारालेमात्र हानी पनि उतिकै गर्छन् ।
. नेपाली सेनाले परिस्थितिको अनुगमन गरि आफ्नो पोजिसन तयार पारोस् ।
. यस सम्बन्धी यथार्थता मित्र देशहरुलाई तत्काल जानकारी गराइयोस् ।
. यो मुद्दामा भारतको अडान हैकमवादी भयो भने, विशेष बहस सुरु गरियोस् जसले नेपाल भारत सम्बन्धको परिभाषा गरोस् । यसभित्र सन् १९५० को सन्धी पनि पर्छ ।
. आवश्यक पर्न सक्छ, अन्तर्राष्ट्रिय अदालतमा जान तयारी शुरु गरियोस् ।

Comments
Loading...