No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शारदा अधिकारी आवरणमा प्रहारको निशाना प्रचण्ड

  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

प्रचण्ड पुत्र प्रकाशको असामयिक देहवसानपछि विछिप्त प्रचण्ड परिवार र खासगरी प्रचण्ड पत्नी सीता दाहालको भावविव्हल अवस्थालाई प्रत्यक्ष देखे, भोगेपछि शारदा प्रसाद अधिकारीको मन अचाक्ली कुँडियो । अनि, उनले प्रकाशको लास परेको घरबाट आफ्नो घरमा बस्न आमा समानकी प्रचण्ड पत्नी सीतालाई अनुरोध गरे ।

जनयुद्धका बिभिन्न आरोहअवरोहरुमा पनि लामो समय आवद्ध शारदाप्रसादले जनयुद्धको पृष्ठभूूमि वा पार्टी सम्वद्ध परिवार भएका कारण मात्रै होइन, मानवीय भावनाका कारण प्रचण्ड परिवारलाई आफ्नो घरमा डेरा बस्न प्रवन्ध मिलाएका थिए । आफूले समर्थन गरेको पार्टीका अध्यक्षको परिवारमा परेको पुत्रवियोगको बज्रपात र त्यसमा आफूले लगाउन सक्ने मल्हम त्यही थियो शारदाप्रसादको । र,  आफ्नो घरमा प्रचण्ड परिवारको बासस्थान सार्न सक्थे, त्यही गरे । यसमा उनको अरु बढी केही स्वार्थ थिएन ।

उसै पनि जनयुद्धमा आफै लडे, भिडेका र पार्टीकै सल्लाहमा शहीद परिवारमा आफ्नो बिहेवारी गरेका शारदाप्रसाद प्रचण्ड परिवारसँग टाढा थिएनन् । विडम्वना ! उनका लागि प्रकाशको असामयिक मृत्यु एउटा वियोगान्त संयोग बन्यो प्रचण्ड परिवारसँग अरु निकट जोडिने । यो व्यापारको मेल थिएन, भावनात्मक सम्मान साथ मात्रै थियो ।

सारमा यत्ति हो, प्रचण्ड र शारदाप्रसादको सम्बन्ध, पारिवारिक र राजनीतिक । शारदाप्रसाद प्रचण्डको तथास्तु लिएर ठेकेदार बनेका होइनन् । आफैमा नेपालकै पहिलो पुस्ताका कम्प्युटर हार्डवेयरमा  अब्बल प्राविधिक उनले नाम, दाम र कामको खोजीकै दौरानमा निर्माण व्यवसायमा हात हाले । त्यसमा अघि बढ्दै गए । उनले आजसम्म जति पनि निर्माण व्यवसायका काम जिम्मा लिए, सम्पन्न गरे वा गरिरहेका छन, ती सबै उनले प्रतिष्पर्धाको विधि र प्रक्रिया पूरा गरेर नियमानुसार मात्रै पाएका छन् ।

तर उनको व्यक्तिगत र व्यावसायिक सफरमा प्रचण्ड साइनो र सम्बन्ध उनलाई अनाहकमा प्रहार गर्ने अस्त्र तथ प्रचण्डलाई बदनाम गर्ने हतियार बनेको छ । शारदाप्रसाद अधिकारी जनयुद्धमा सामेल भएका एउटा पात्र नभएको भए, प्रचण्डपुत्र प्रकाशको मृत्युपछि उनको भावुक मनले प्रचण्ड परिवारलाई घरमा बास नदिएको भए पनि यसैगरी प्रहारका निशानामा पर्थे त उनी ?

पक्कै पनि पर्दैनथे । किनभने यहाँ निशानाहरु दागिन्छन प्रचण्डतिर अनि आवरणमा देखाएर ताकिन्छन शारदाप्रसाद । धानखाने मुसो चोट पाउने भ्यागुतोको नियति व्यहोर्न विवस एकजना निर्माण व्यवसायी बनिनु शारदाप्रसाद अधिकारीको दुःखद वर्तमान यथार्थ हो ।

अहिले यसरी दुष्प्रचार गरिदैछ कि नेपालको समग्र निर्माण व्यवसायका एक्ला हस्ती शारदाप्रसाद मात्रै हुन र जति पनि निर्माणका काममा ढिला सुस्ती भइरहेका छन्, त्यसका कारण उनै एकजना मात्रै हुन । तर यथार्थ त्यो होइन, त्यो त उनको काँधमा राखेर प्रचण्ड र तत्कालीन माओवादीको संस्थापनको जरा काट्ने गरी योजनावद्ध रुपमा गरिएका षडयन्त्रका शृङ्खलाहरुको एक तुरुप मात्रै हो ।

किन शारदाप्रसाद मात्रै प्रहारको निशाना बनाइदैछन ?

ठेक्का पाएको तीन पटक म्याद थप गर्दा पनि काम नसकिएपछि दबाब दिन भन्दै शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालिका अध्यक्ष शारदाप्रसाद अधिकारीको फोटो पोल र सार्वजनिक तथा निजी सवारी साधनमा टाँस्दै सुरु भएको विरोध स्थानीयवासीको स्वतःस्र्फुत निस्किएको जनआक्रोश मात्रै होइन ।

सत्तारुढ नेकपा अध्यक्ष प्रचण्डको घरबेटी भइदिनुको कारण अधिकारी यो स्तरको प्रायोजित प्रहारको निशानामा पारिएका हुन । के देशभरमा अधिकारी मात्रै हुन त समयमा काम नगर्ने ठेकेदार रु देशभर परिचालित करीब १८ सय अरु ठेकेदारहरुले चाँहि ठाउँका ठाउँ काम सकेका छन् त ?

सडक विस्तार अलपत्र पारिनुमा सरकारी निकायको निकम्मापन र ढिलासुस्तीलाई ओझेलमा पारेर अधिकारी मात्रैको फोटोे बिजुलीको पोल र सवारी साधनमा टाँसिदै गर्दा समयमा नै काम गर्ने वातवरण नबनाइदिने सरकारी निकायको मुकण्डो पनि त्यही फोटोमुनि छाँया बनेर उदाँगिएकै हुन्छ ।

धान खाने मुसो चोट पाउने भ्यागुतो झै गरी अधिकारीलाई मात्रै प्रहार गर्नुले एकछिनका लागि स्थानीय वा विरोधीलाई सन्तोष मिल्ला । तर यो समस्याको दीगो समाधान होइन, बरु रोग पालेर ओखतीको व्यापार चम्काउने प्रपञ्च मात्रै हो । निर्माण व्यवसाय मार्फत सम्वृद्ध मुलुक बनाउने लामो यात्रामा अघि बढ्न चाहिरहेको सरकारले अमुक ठेकेदारको फोटो प्रदर्शनीमा आफ्नो कमजोर कार्यशैली र प्रवृत्तिको मुकुण्डो पनि सँगै उदाङ्गो भएको तथ्य आत्मसात गरेर हर क्षेत्रका कमी कमजोरीहरु सच्याउन बिलम्व गर्नु हुदैन ।

ठीक छ, अधिकारीको फोटो प्रदर्शन गरी विरोध गर्ने नै हो भने  विरोधको यो शैली र जागरण जनतामा १८ सय अन्य ठेकेदारका हकमा पनि लागू गर्न जनता अग्रसर हुनुपर्छ । तर स्थानीयको नाम भजाएर यसरी अन्य ठेकेदारको विरोध हुने छैन, किनभने उनीहरु प्रचण्डका घरबेटी हुने छैनन । प्रचण्डका घरबेटी हुनु नै अधिकारीको फोटो प्रदर्शनीको चुरो कारक र कारण हो, यो नै आम जनताले बुझ्नुपर्ने भित्री तथ्य हो ।

किन भयो ढिलाई ? 

शैलुंग कन्स्ट्रक्सनका निर्देशन रमेश सुवेदीका अनुसार नगरकोट सडक खण्ड विस्तारका क्रममा ठेक्का दिने सरकारको समन्वय र सहयोगी भूूमिका नहुदा नै निर्माण कार्यमा ढिलाइ भएको हो । ठेक्का सम्झौता अनुसार सडक विस्तार गर्ने क्षेत्रका दायाँबायाँ क्लियररिंग सरकारले नै गरिदिनुपर्ने हो ।

तर सरकारले त ठेक्का सम्झौता गरेर ३० महिनासम्म सडक किनाराका रुख काट्ने अनुमति नै नदिएर निर्माण कार्यमा सहयोगी बनिदिएन । रुख काटेर बाटो बनाउन असहयोगी हुने ठेक्कादाता सरकार र उसका मातहतका निकाय अनि प्रहार झेल्ने ठेकेदार कम्पनी । आफैले स्थानीयबासीको साँघातिक हमला झेलेको स्मरण गर्दै निर्देशक सुवेदीले भनेका छन्, ३० महिना रुख नकाटेर काम गर्न अड्काइयो भने डेढ वर्षसम्म त सरकारले म्याद नथप्नेदेखि रकम निकाशा नदिनेसम्मको असहयोग ग¥यो ।

यसमा पनि काम अडकाउने सरकारी निकाय झापड खाने निर्माण व्यवसायी भए । दिनको समयमा निर्माण सामाग्री निर्माणस्थलमा ल्याउन नपाउने र  लामो अवधिसम्म स्थानीय सडक निर्माणमा विभिन्न माग राखी आन्दोलित रहेर विरोधमा उत्रनु पनि निर्माणमा विलम्व हुनुको कारण रह्यो । तर, स्थानीयको विरोेधले निर्माणमा पारेको अवरोधमा पनि गाली खाने निर्माण व्यवसायी मात्रै परे ।

हो, यहाँनेर नै छ, आम जनताले बुझ्नु पर्ने गाँठी कुरो । सोलोडोलो निर्माण कम्पनीलाई ठेक्का दिने तर ठेक्का सम्झौताका शर्तहरु वमोजिम काम गर्ने वातावरण नदिने सुस्त सरकारी ढाँचा र शैली नै यसरी देशैभरका सडक निर्माण समयमा नहुनुका मुख्य समस्या हो । यसमा सरकारी निकायहरु सडक बिभागदेखि अन्य सरोकारवाला निकायको अन्तर समन्वयमा सरकार सच्चिनुपर्ने देखिन्छ । तर यहाँ एकोहोरो ठेकेदार कम्पनीलाई गाली गरेर अरु पानीमाथिको ओभानो हुने जुन प्रवृत्ति मौलाएको छ, यो समस्याको जरो नकाट्ने सरकारी भुल नै हो ।

निश्चय नै कामका दौरान निर्माण व्यवसायीहरुले पनि ठेक्का लिदा जुन उत्साह देखाउँछन, काममा त्यस्तो हतारो र चटारो देखाउदैनन । तर उनीहरु मात्रैका कारणले निर्माणका काम ढिला भए भन्ने कुरा एकाङ्की आरोप मात्रै हो । सरकारी निकायले ठेक्काका शर्तहरुमा आफ्नो दायित्व शतप्रतिशत पूरा गरीसक्दा पनि ठेकेदारहरुले काममा विलम्व गरे भने उनीहरुमाथि प्रहार गर्नु जायज हुनेछ । यसमा पहिलो करेक्सन सरकारी ढिला सुस्ती गर्ने नीति, शैलीमा नै हुन आवश्यक छ ।

प्रचण्ड नै किन दागिन्छन ?

अब प्रश्न उठछ, के प्रचण्डको घरबेटी हुनु शारदाप्रसाद अधिकारीको अपराध हो रु यसले देखाउँछ कि सुनियोजित रुपमा अधिकारीमाथि मात्रै मिडिया आक्रमण भइरहेको हो ।  नगरकोट आउजाउ गर्ने मुख्य सडक वर्षौं अलपत्र बनाइँदा पर्यटन व्यवसायमै असर परेको तथ्यलाई आत्मसात गर्दै अबका पाँच महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने प्रतिवद्धता कम्पनीका निर्देशक सुवेदीले सार्वजनिक रुपमा नै गरिसकेका छन । तर उनको प्रतिवद्धता पूूरा गर्न सरकारी निकाय र स्थानीय जनताले कति हातमा हात मिलाउँदैछन रु सहयोगी बन्दैछन वा बन्ने छन रु ठेकेदारलाई मात्रै सोलोडोलो गाली गर्दै दोष पन्छाउने सम्वद्ध सबैले यतातिर पनि विचार गर्नुपर्छ ।

ठेकेदारको फोटो टाँसेर विरोध गर्नु वा संघर्ष समिति गठन गरेर विरोध जनाउनु जनताको अधिकार जति हो त्यति नै ठेकेदारलाई सहयोगी बनेर सघाइदिनु पनि सम्वद्ध सबैको अहम् कर्तव्य हो भन्ने कुरा सबैले कम्तिमा अब आत्मसात गर्न सक्नुपर्छ ।

सार्वजनिक खरीद नियमावलीको अनिवार्य बन्देज र शर्त अनुसार भारतको आरामाली इन्फ्रा पावर लिमिटेडको ५१ प्रतिशत र शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालिको ४९ प्रतिशत लागतमा ज्वाइन्ट भेन्चरमा सन् ०१४ जुन ५ मा दुई वर्षभित्र सक्ने गरी भएको सडक विस्तारको सम्झौता बल्ल ६५ प्रतिशत काम सकिनु निश्चय नै सुखद अवस्था होइन ।

भक्तपुर–नगरकोट–सिपाघाट सडक आयोजना विलम्व गरेर आफू नकारात्मक कोणको हिरो हुने मुर्खता अधिकारीको पनि अवश्यै थिएन होला । र, काम ढिलो गरेर उनले अरवौं कमाउने पनि पक्कै थिएनन् होला । ठेक्का लागेको ३० महिनासम्म रूख काट्न ढिलाइ गरिदिने, स्थानीयले अवरोध सिर्जना गरिदिने र सरकारी निकाय असहयोगी भइदिने प्रवृत्ति कम्तिमा अब सुधारिन जरुरी छ ।

‘एक्जिम बैंक इन्डिया’ को ऋण सहयोगमा ३१ करोड ५२ लाख ९२ हजार २ सय २० रुपैयाँ लागतमा करिब १६ किलोमिटर लामो कमलविनायक भत्केको पाटी–नगरकोट सडक विस्तार गर्ने सम्झौता अबका ५ महिनामा जब सम्पन्न हुने ठेकेदारको प्रतिवद्धता छ र तमाम प्रतिकुलताका बावजुद रातारात काम अघि बढिरहेको छ भने ठेकेदार अधिकारीलाई पोष्टर बनाएर बदनाम गर्नु सर्वथा उचित हुन्न ।

यसले ठेकेदारको मनोवल बढाउँदैन, ठेकेदारहरुलाई त्रसित र तनावमा पारेर निर्माणले गति लिदैन । साथै, यस्तो खालको सामाजिक मनोविज्ञानको बढोत्तरीले समाजमा कुनै पनि जोड र कोणबाट सकारात्मक सन्देश प्रवाह गर्दैन ।

छोरी कुटेर बुहारी तर्साउने शैलीमा अधिकारीलाई पोष्टर मार्फत बदनामी गराउनै खोजिएको हो भने त्यो पनि प्रचण्डप्रतिको असन्तुष्टिको पूर्वाग्रही प्रतिशोध बाहेक केही होइन । काम गर्नेलाई हौसला र उत्साह थप्नु जागरुक समाजको काम हो । प्रचण्ड रिसले अधिकारीलाई पोष्टर बनाउदा क्षणिक सन्तुष्टि कसैलाई मिल्ला, तर त्यसले देशभरका निर्माण व्यवसायीमा पर्ने नकारात्मक असरको पूर्वानुमान र लेखाजोखा गर्न पनि विरोध गर्नेहरुले विचार गर्नु नै पर्छ ।

मानवीय र व्यावसायिक कामका दौरान अधिकारी र उनको कम्पनीका केही त्रुटी कमजोरी छन भने तिनमा आलोचना हुनै पर्छ, तर उनलाई अचानो बनाएर अब प्रचण्डलाई खुइल्याउने खेलमा भने ब्रेक लगाउनैपर्छ । प्रचण्ड एउटा ठेकेदार विशेषका मात्र नेता होइनन्, उनी त एक युग बदल्ने राजनेता हुन भने उनलाई उनको राजनीतिक भुुलका जगमा आलोचना गरौं, न कि शारदाप्रसादको पोष्टरमा ।

सरकारले समयमै पैसा नदिएको, सामान नपाएको, घर भत्काउन नदिएको, रुख काट्न नपाएको जस्ता नागरिक र सरकारी स्तरका कमी कमजोरीहरु अब पनि नसच्चिने हो भने, संसदीय समितिका निर्देशन वा अधिकारीहरुको फोटो प्रदर्शनीले निकास दिदैन ।

शैलुङ कन्स्ट्रक्सन र त्यसका प्रमुख शारदा अधिकारीकै कम्पनीलाई मात्रै भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले कालो सूचिमा राख्न बारम्वार धम्क्याउदै, तर्साउदै आएका खबरहरु पनि बारबार आएकै हुन । उनले ठेक्का पाएका क्षेत्रमा नै स्थानीयको नाममा योजनावद्ध विरोधहरु हुँदै आएका हुन । यसले के संकेत गर्छ भने अधिकारीको आवरणमा प्रहारको निशानामा प्रचण्ड पारिएका हुन । यो नै गलत हो ।

साभार, झिल्काे डट कम अनलाइन ।

Comments
Loading...