No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

यस्तो छ मानिसलाई गुलियोमा भुलाउने चिनीको फाइदा बेफाइदा

  • 3
  •  
  •  
  •  
  •  
    3
    Shares

प्रतिष्ठित मेडिकल जर्नलद ल्यानसेटले को ग्लोबल बर्डन अफ डीजीजको सन् २०१९ को प्रतिवेदन प्रकाशित गरेपछि इजरेली सञ्चारमाध्यमहरूले उत्सव मनाए झैँ गरे।

विश्वका १९५ देशका स्वास्थ्यसम्बन्धी तथ्याङ्कको विश्लेषणमा यो मध्यपूर्वी देशमा “खाद्यका कारण हुने रोगबाट हुने मृत्युदर सबैभन्दा कम पाइएको” छ। त्यसपछि “इजरेलीहरूले झैँ खानु” भन्ने किसिमका थुप्रै लेखहरू छापिए।

यदि तपाईँले पनि इजरेलीहरूले झैँ खानु भएको छ भने संसारका अन्य कुनै पनि देशका नागरिकले औसत खानेभन्दा बढी चिनी खानुभयो होला।

“खतरनाक”

सन् २०१८ मा इजरेलमा प्रतिव्यक्ति ६० किलो चिनी उपभोग भएको छ जुन प्रतिदिन १६५ ग्राम बराबर हुन्छ। बीबीसीले प्राप्त गरेको इन्टर्न्याश्नल सुगर अर्गनाइजेशन आइएसओको तथ्याङ्क अनुसार यो खपत संसारमै सबैभन्दा उच्चतम हो।

“इजरेलमा एकजना वयस्कले एकदिनमा ३० चम्चाभन्दा बढी चिनी खान्छन् जुन खतरनाक हो,” इजरेलको मधुमेहसम्बन्धी राष्ट्रिय संस्थाका प्रमुख प्राध्यापक इतमार राजले भने। इजरेल, मलेशिया, बार्बडोस, फिजी र ब्राजिल संसारका सबभन्दा धेरै चिनी खाने पाँच मुलुक हुन्।

सूचीको सबभन्दा तल चाहिँ उत्तर कोरिया छ जहाँ सन् २०१८ को प्रतिव्यक्ति प्रतिवर्ष चिनी उपभोग जम्मा ३.५ किलो मात्र छ। उनीहरूको छिमेकी दक्षिण कोरियामा प्रतिव्यक्ति उपभोग प्रतिवर्ष ३०.६ किलो छ।

खानासम्बन्धी रोग धेरै भएको भनिएको अमेरिकामा प्रतिव्यक्ति प्रतिवर्ष उपभोग ३१.१ किलो छ। कुल तौलका आधारमा हेर्दा भारतले सबभन्दा धेरै चिनी खपत गरेको छ। सन् २०१८ मा उसले दुई करोड ५३ लाख मेट्रिक टन चिनी खपत गर्‍यो।

संसारका सबैभन्दा बढी चिनी खाने देश

वार्षिक चिनी खपत (किलोमा)

स्थान देश खपत
इजरेल ६३.८
मलेशिया ५८.२
बार्बाडोस ५३
फिजि ५१.७
ब्राजिल ५०.२
क्यूबा ४६.७
१६ सुडान ४३.१
२४ रुस ३९.७
२९ साउदी अरेबिया ३६.९
३६ ईयू ३५.१
३९ मेक्सिको ३४.७
५६ अमेरिका ३३.१
६० टर्की ३०.३
१०३ भारत १९.५
११६ चीन ११.३
स्रोत: इन्टर्न्याश्नल सुगर अर्गनाइजेशन

गुलियोपनको विवरण

मानिसले आफ्नो खानामा थप्ने चिनीलाई मात्र उपभोगको यो आँकडामा राखिएको होइन। यो तथ्याङ्कमा प्रशोधन गर्दाका बखत खानेकुरामा थपिने वा फलफुलका रसजस्ता प्राकृतिक रूपमा गुलियो खानेकुरामा भएको चिनी पनि गणना गरिएको छ।

आइएसओको तथ्याङ्कका अनुसार चिनीको उपभोग सन २००१ मा १२ करोड ३४ लाख टनबाट बढेर सन् २०१८ मा १७ करोड २४ लाख टन पुगेको छ।

विश्वव्यापी गणना गर्दा त्यो प्रतिव्यक्ति प्रतिवर्ष २२.६ किलो बराबर पर्न आउँछ।

हामी किन बढी चिनी खाइरहेका छौँ?

चिनी हाम्रो शरीरका लागि सस्तो र सहज पहुँचमा रहेको ऊर्जाको श्रोत हो।

संयुक्त राष्ट्रसङ्घको फुड एन्ड एग्रिकल्चरल अर्गनाइजेशन एफएओले भनेको छ: भारतमा चिनी धेरैको खानामा नभइ नहुने वस्तु हो र गरिबका लागि सस्तो ऊर्जाको श्रोत पनि हो।

भारतमा साठीको दशकदेखि नब्बेको दशकमा पुग्दा चिनीको उपभोग २६ लाख टनबाट एक करोड तीस लाख टन पुगेको थियो।

संसारभर प्रशोधित खानेकुराको उपभोग बढ्दै जाँदा चिनी पनि हाम्रो खानामा थपिँदै गएको छ। खानाको बास्ना राम्रो बनाउन र त्यसको उपभोग अवधि लम्ब्याउन प्रशोधित खानामा चिनी थप्ने गरिन्छ।

स्वास्थ्य अधिकारीहरूले विश्वभर मोटोपनको समस्या देखिनुमा चिनीको उपभोग बढ्नु एक प्रमुख कारण हो भन्दै आएका छन्।

सन् २०१५ मा विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले चिनी उपभोगको मात्रा घटाउन सुझाव दिएको थियो। उसका अनुसार वयस्क र बच्चाहरूले आफूले पाउने कुल ऊर्जाको १० प्रतिशत मात्रै चिनीबाट लिनुपर्छ।

डब्लुएचओले अझ पाँच प्रतिशत मात्रै गर्ने हो भने “स्वास्थ्यमा झन बढी फाइदा पुर्‍याउने” बताएको छ। ब्रिटिश हार्ट फाउन्डेशनकी वरिष्ठ पोषणविद् भिक्टोरिया टेलर भन्छिन्, “अधिकारीहरूले चिनीको उपभोग कम गर्न सुझाव किन दिएको स्पष्ट छ।”

“सबै उमेर समूह र आयश्रोत भएका समूहमा चिनीको उपभोग असाध्यै बढी देखिन्छ।

डब्लुएचओले हरेक दिन ५० ग्राम जति मात्र चिनी खान सुझाएको छ

यसका कारण २० भन्दा बढी देशले गुलियो पेय पदार्थजस्ता चिनीयुक्त पदार्थमा थप कर लगाएका छन्।

यो महिनाको सुरुमा सिङ्गापुर चिनीयुक्त पेय पदार्थको विज्ञापनमा प्रतिबन्ध लगाउने पहिलो मुलुक बनेको छ। त्यो प्रतिबन्ध आगामी वर्षदेखि कार्यान्वयनमा आउनेछ।

सिङ्गापुरका स्वास्थ्यमन्त्री एडवीन टङले भनेका थिए, “हाम्रा उमेर बढ्दै गएको जनसङ्ख्या र तिनमा देखिन थालेका दीर्घरोगहरूको व्यवस्थापन गर्न हामीले समयमै हस्तक्षेप गरेनौँ भने झन् मुश्किल स्थितिमा पुगिनेछ।”

तैपनि विश्वव्यापी रूपमा यस्ता पेय पदार्थ निकै धेरै उपभोग गरिन्छ। हार्भर्ड स्कूल अफ पब्लिक हेल्थले सङ्कलन गरेको तथ्याङ्क अनुसार ३५५ मीलीको अरेन्ज सोडामा ११ चम्चा चिनी बराबरको गुलियोपन हुन्छ।

अध्ययनहरूले यस्ता पेय पदार्थ पिउने र तौल बढ्ने कुराबीच सम्बन्ध रहेको र त्यसले मधुमेह, मुटु रोग र मृत्यु हुने खतरा बढाउने देखाएका छन्।

खराब छवि

गुलिया पेय पदार्थमा असाध्यै धेरै चिनी हालिएको हुन्छ तर संसारभर यो निकै खपत हुन्छ तर केही चाहिँ चिनीको बारेमा गलत प्रचारप्रसार भएको मान्छन्।

आइएसओका अध्यक्ष जोस ओरिभले बीबीसीलाई भने, “चिनीलाई मात्र एक्ल्याइएको छ जबकी मानिसहरूका अरू पनि अस्वस्थ्यकर खाने बानी छन्।”

“हामीले के कुरा बिर्सन भएन भने इतिहासदेखि चिनी ऊर्जाको आधारभूत श्रोत हो। यो त आमाको दूधमा पनि छ।” “मोटोपनका लागि चिनीलाई मात्र दोष दिनु भएन। समग्र पोषण र शारीरिक गतिविधिको पनि भूमिका छ।”

“धेरै खानु ठीक होइन भन्ने कुरामा हामी पनि प्रष्ट छौँ,” ओरिभले भने।

चिनीयुक्त खानामा कर लगाएपछि खपत घटेको पाइएपनि त्यसले स्वास्थ्यमा कस्तो असर पार्‍यो भन्ने अध्ययन हुन बाँकी छ

चिनीबारे थप प्रतिबन्ध लगाउनुपर्ने वकालत गरिरहेको समूहकी होली ग्याब्रिएलले “चिनी समस्याको एक पाटो मात्र” रहेको बताइन्।

कति देशले खाद्यमा चिनीको तह घटाउन खाद्य उद्योगसँग सहकार्य गरेका उदाहरण पनि छन्।

गत वर्ष जर्मनीमा सरकार र खाद्य उद्यमीबीच त्यस्तै सहमति भएर खाद्यान्नमा चिनीको मात्र घटाइएको छ।

पेय पदार्थमा मात्र नभइ केक र बिस्कुटजस्ता खाद्यबस्तुमा चिनीको मात्रा घटाएपनि तौल घटाउन सहयोग पुग्ने विभिन्न अध्ययनले देखाएका छ्न। त्यसले विभिन्न रोग लाग्नबाट पनि बचाउने देखिएको छ।

 

Comments
Loading...