4 - 4Shares
सूर्य खड्का ।
१३ औँ साग अन्तर्गत तेक्वान्दोको महिला पुम्सेतर्फ आयशा शाक्यले स्वर्ण पदक जितेपछि जीवन साथी दीपक विष्टसँगको प्रेमिल अंकमालमा बगाएका खुसीका आँसु जारी प्रतियोगिताकै सर्वाधिक सफल र भावुक क्षण हो । दुई बच्चाकी आमा आयशाले स्वर्ण जितेपछिको खुसी साट्न पहिला श्रीमान् दीपकलाई अंगालिन् अनि बच्चालाई । आयशाले बंगलादेशमा सम्पन्न ११औँ सागमा पहिलो स्वर्ण जितेर देशलाई दिएको उपहारमा अरू पदक थपिदिँदा देश नतमस्तक छ, उनको संघर्षपूर्ण सफलतामा । सिङ्गै देशकै बधाई अनि सलाम छ, आयशाको साहस र सफलतालाई।
आयशा जस्तै अरू पौरखी खेलाडीहरूको चमत्कारी प्रदर्शनले १३ औँ सागमा २३ स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा रहँदै गर्दा नेपालले कराते, तेक्वान्दो, उसु, जस्ता एकल इभेन्टसबाट मात्रै धेरै पदक जितेर आफ्नो वर्चस्व जमाएको छ, जो अपेक्षित थियो । यसमा विजेता सबै सबै स्वर्णधारी खेलाडी र तिनका प्रशिक्षकहरू बधाईका हकदार छन् । बधाई अनि सलाम ती दुई दर्जन बराबर सुनका तक्मा विजेताहरूलाई पनि । र, एडभान्समा जितको शुभेच्छा सहित बधाई बाँकी प्रतिस्पर्धी खेलाडीहरूलाई पनि ।
अहिले सुनका तम्का जित्ने अहिलेका आयशाहरु, दीपराज गुरुङ, थानेश्वर राईहरूका सन्तति हुन् । खेलकुदमा दीपराज वा थानेश्वरहरुको खेल सत्ताको प्रवेश, सुरुवात गराउने, थलो बनाउने, थिति बसाउने र सत्ता स्थापित गराउने खेल नेता उनै शरच्चन्द्र शाह हुन । कीर्तिमानी वैकुण्ठ मानन्धर वा जीतबहादुर केसीहरूको पुस्तादेखि अहिलेसम्म जति नेपाली खेलाडीहरू लम्के, चम्केका छन्, तीनका जग, जन्मदाता नेतृत्वकर्ता शाह नै थिए ।
त्यसैले, यहाँनेर अहिले चाहिँ अलिकति प्रसङ्ग साग खेलकुदका जन्मदाताहरूको सम्झना र सम्मानमा । मलाई थाहा छ, १३ औँ संस्करणसम्म आइसकेको सागको सङ्घीय गणतन्त्र नेपालकी राष्ट्रपतिबाट उद्घाटन भइसक्या बेलाँ यसका जन्मदाताको खोजी गर्नु प्रतिगमनकारी लेखनको हर्कत हुन सक्छ । किनभने सागका जन्मदाताहरू गणतान्त्रिक थिएनन् । उ बेलाका राजा महाराजा र तिनका हुक्के, बैठकेहरू नै थिए । तै पनि दख्खल पर्नेहरुप्रति क्षमा याचनासहित आयशाहरुको पौरखमा देशले सुनका तक्मा सहित जीतको गाथा बनाउँदै गर्दा सम्झना गरिनुपर्छ यसको उज्यालो इतिहासका जन्मदाताहरूको पनि ।
हो, शरच्चन्द्र शाह अर्थात् शरद राजा नै हुन, थिए दक्षिण एसियाली खेलकुदका जन्मदाता । ओहो, शरच्चन्द्र शाह भनेपछि पञ्चायत विरुद्ध लडेकाहरूको आँग नै सिरिङ्ग होला । तर हो, उनै शरद राजाको बलबुतामा नेपालको माटोबाट सुरु भएको थियो उतिबेला साफ गेम भनिने अहिलेको साग । जो अहिले तामझामका साथ १३ औँ संस्करणमा आफ्नै भूमिमा चलिरहेको छ, खेलाडीहरूको विजय गाथा बढाउँदै ।
कसैलाई मन परोस् वा नपरोस्, इतिहासको तथ्य के हो भने राजा वीरेन्द्र खेल प्रेमी नभएको भए साफ गेम्सको जन्म नहुन सक्थ्यो । राजा वीरेन्द्र अति नै खेलप्रेमी भएका कारण उनले राखेपका तत्कालीन सदस्य सचिव शरच्चन्द्र शाह मार्फत दक्षिण एसियाली खेलकुदको इतिहास प्रारम्भ गरेको थिए । पहिलो पुस्ताका तमाम नेपाली खेल हस्ती र खेलकर्मीहरु यो तथ्यका प्रत्यक्षदर्शी हुन, जो अधिकांश जीवित नै छन् ।
राजा वीरेन्द्रको निर्देशनमा सार्क क्षेत्रका देशलाई समेटेर दक्षिण एसियाली खेलकुद महासङ्घ गठन गरी दक्षिण एसियाली खेलकुदको नेपाली माटोबाटै प्रारम्भ गर्ने ऐतिहासिक जिम्मेवारी पुरा गर्ने मुख्य अधिकारी शरच्चन्द्र शाह नै हुन । त्यसैले उनलाई अहिले साग भनिने साफ गेम्सका जन्मदाताका रूपमा सबैले स्मरण र सम्मान गर्न हिचकिचाउनु पर्दैन । अहिले मन्त्रीहरूलाई दौरा सुरुवाल दिइएको सवाल जो, विवादमा परयो, त्यो परम्पराको सुरुवात पनि उनै शाहले गरेका हुन । उतिबेला राजपरिवार खेलकुदका संरक्षक हुन्थे । खेल संरक्षक वा सेफ द मिसनमा रहने सरकारी अधिकारीलाई खेल भावनाका साथ मैदानमा आमन्त्रण गर्दा प्रतियोगिता विशेष पोसाक दिने प्रचलन अन्तर्राष्ट्रिय नै हो, त्यो हामीकहाँ साफ गेम्सदेखि सुरु भयो । र, अहिले पनि निरन्तर रह्यो । यो त्यो स्तरको खेल घोटाला होइन, जुन रूपमा प्रचारित छ । बरु, खेल परम्पराको पोशाक नीतिको निरन्तरता हो ।
स्वर्गीय शरच्चन्द्र शाहका अरू पाटामाथि लागेका आरोपहरूबारे जनमत विभाजित हुन सक्ला । दलका हुक्के, बैठकेहरूलाई उनका अरू तमाम कर्म मन नपरून्, तर खेलको घेराभित्र कोही पनि नेपाली छिरेपछि शाहको सम्मान गर्दा कसैको कद सानो हुँदैन । किन भने नेपालमा खेलकुदको व्यावसायिकीकरण, विकेन्द्रीकरणदेखि अन्तर्राष्ट्रियकरण गर्ने पहिलो खेल नेता पनि उनै शरच्चन्द्र शाह हुन ।
निस्सन्देह उति बेला संविधानतः नै सक्रिय राजतन्त्र थियो । शाहले राजाकै हुकुम प्रमांगीमा खेलकुदको नेतृत्व गरेका थिए । राजा महाराजालाई नै दिलखुस पार्न नै सही, तर उनले रंगशालाको त्यही पवित्र माटोबाट साफ गेम्सको पहिलो संस्करण सम्पन्न गरेका थिए । घरेलु रूपमा नगर खेलकुद, अञ्चल खेलकुद, विकास क्षेत्र स्तरीय खेलकुद, अञ्चल स्तरीय, जिल्ला स्तरीय खेलकुद सङ्घ, सङ्गठनको अवधारणलाई मूर्त रूप दिएर सोही अनुरूप प्रतियोगिताहरू सञ्चालन गर्ने र देशभरका खेल प्रतिभाहरूलाई खोज्ने र केन्द्रमा मौका दिने पहिलो खेल नेता शाह नै थिए ।
शाहले धेरै मेहनत गरेर, आँसु बगाएर साफ गेम्सको सुरुवात गरेका हुन । अति तेज स्मरण शक्ति भएका, सानो कदका, अङ्ग्रेजीमा पोख्त शाहले दक्षिण एसियाली खेलकुद महासङ्घको स्थापनामा आफै लिडर बनेर अन्तर्राष्ट्रिय लविंग गरेका थिए । साथैमा उनले नेपाली ओलम्पिक मुभमेन्टलाई पनि सक्रिय पारेका थिए । समग्रमा उनी नेपाली खेलकुदलाई देशदेखि विदेशसम्म पुर्याउने, खेलको व्यवसायीकरण गर्ने र खेलकुद कूटनीति मार्फत नेपाललाई अन्तर्राष्ट्रिय एक्सपोजर दिने तथा नेपालको पहिचानको बिस्तार गर्ने उदारवादी खेल नेता नै थिए ।
व्यवस्था नै हुकुमी थियो, उनले हुकुमकै भरमा खेल शासन चलाए । यो सत्य हो । तर उनकै हुकुमले अहिलेको स्तरमा नेपाली खेलकुद आइपुगेको हो । नेपालमा देशभर साना ठुला जति पनि खेल संरचनाहरू बनेका छन्, तिनमा शाहकै पसिना मिसिएको छ । २०४६ को राजनीतिक परिवर्तनपछि राखेपमा हैकम जमाएका शरद भट्टराई, केशव स्थापित, विनोद शंकर पालिखे, जीवनराम श्रेष्ठ, युवराज लामा, केशवकुमार विष्ट वा अहिलेका सदस्य सचिवहरूले उनै शाहकालीन पूर्वाधारमा रंगरोगन मात्रै गरे, त्यही पथलाई कहिले पिच गर्न खोजे, कहिले पुरपार पारे । तर शाहकालीन खेलपथलाई विस्थापित गर्ने गरी न कुनै ठुला संरचना बनाए, न त नयाँ खेल जागरण र कीर्तिमानको पौरख नै देखाए । जसोतसो शाहकालीन खेलकुदको निरन्तरतामा आफ्नो नेतृत्व काल बिताए । कुन सदस्यसचिवले शाहकालिको इतिहास मेट्ने गरी नयाँ काम गरे ? छन् भने, दुनियाँलाई देखाइदिए हुन्छ ।
जसरी देशको इतिहास शाह राजाको प्रसङ्ग बिना अधुरो, अपुरो हुन्छ, त्यस्तै नेपाली खेलकुदको इतिहास पनि शाह वंश राजा र खास गरी राजा वीरेन्द्रको साथको प्रसङ्ग बिना पूर्ण हुँदैन । राखेपमा संरक्षक संरक्षक रहने शाही परम्पराले खेलकुदका उतिबेलाका शाह राजाको निकटता र संलग्नतालाई पुष्टि गर्छ । तत्कालीन अधिराजकुमार स्वर्गीय धिरेन्द्र शाह दरबारका तर्फबाट साफ गेम्स सुरु गर्ने मुख्य राजप्रतिनिधि रहे । शाही परिवारको लगाव खेलमा निरन्तर रह्यो ।
खेल पत्रकार श्रीविक्रम भण्डारीको साथले पङ्क्तिकारलाई जुरेको एक भेटका दौरान शरच्चन्द्र शाहले भनेथे, शीतयुद्धको समयमा दक्षिण एसियाका राष्ट्रहरूलाई एकै ठाउँमा ल्याउनु उनको जीवनकै कठिन चुनौती थियो । तर तत्कालीन राजा वीरेन्द्रको पुरा साथले आफूले सबै देशमा गएर अनेकौँ पापड बेलेर १९८४ मा दक्षिण एसियाली खेलकुद महासङ्घ गठन गरी पहिलो आयोजक नेपाल नै बनेर सीमित भौतिक पूर्वाधार र बजेट बिच साफ जन्माउन सकेको शाहको कथन थियो । रातारातको तयारीले पहिलो साफ आयोजना गरेर सार्क क्षेत्रमा नै नेपालले नेतृत्वदायी भूमिका निभाएको र त्यसबाट नेपाल खेलमार्फत अन्तर्राष्ट्रिय जगतमा चम्किन, लम्किन सफल भएको उनको स्मरण थियो ।
२०४६ को आन्दोलनले पंचायत मात्रै फालेन, डिल्लीबजार बाटुले घर नजिकको शाहको निजी निवास नै खरानीमा परिणत गरयो । पंचायतकालमा शाह कति शक्तिशाली वा बदनाम थिए भन्ने मानकका लागि सिङ्गै जनआन्दोलन शाहमाथि खनिएको त्यो प्रसङ्ग काफी हुन सक्छ । अहिले स्वर्ग वास भैरहेका शाहको अरू पाटाका बारेमा मानिसहरूका फरक मत छन् भने तिनको सम्मान गर्न सकिन्छ, तर खेलकुदमा , त्यसमा पनि सागकै सेरोफेरोमा शाहको नाम लिन कसैलाई हीनता वा लघुताभास हुन्छ भने त्यो त केवल इतिहासप्रतिको बेइमानी हो । इतिहासलाई अपमान गर्नेहरूको अर्को इतिहास कस्तो लेखिएला र ?
सन् १९८४ देखि नेपाली माटोमा उम्रिएर हुर्केको साग १९९९ मा यही रङ्गशालामा नेपाललाई पदक तालिकामा माथि उठाउन सफल भएको थियो । तत्कालीन राखेप संरक्षक युवराज दीपेन्द्रले आठौँ साफका बेला खेलाडीहरूसँग देखाएको निकटता र दिएको हौसला खेलकर्मीहरु बिच ताजै होला ।
स्वभावैले अहिले खेलाडीहरूको पौरखमा देश साग गेम्समा जीतको नयाँ कीर्तिमान बनाइरहेको छ । यो विजयोत्सवका बेला सबै विजेता खेलाडी र तीनका प्रशिक्षकलाई राष्ट्रले विशेष सम्मान दिन सक्यो भने, इतिहासका निर्माताहरूप्रति पूर्वाग्रही मात्रै भइदिएन भने मात्रै पनि साग आयोजनाको औचित्य पुरा हुनेछ ।
माफ गर्नुहोला नेपाली खेलाडीको पदक जितपछिको पनि हैसियत चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएकी धाविका तुलसा खत्री १३ औँ साग छाडेर कतार भासिएको ताजा प्रसङ्ग भन्दा भिन्न, उच्च छैन । घरेलु मैदानमा आयोजना हुने १३औं सागको उद्घाटन हुनु ३ दिनअघि नेपाली सेनाकी धाविका खत्री कतार भागेको प्रसङ्ग नै नेपाली खेलाडीको यथार्थ पस्कने क्रूर धरातलीय सत्य हुन । उहिलेका शरच्चन्द्रहरु अहिले तुलसाहरु भाग्नु पर्ने नियतिका कारक र कारण होइनन्। खेलनेताहरु र खेलप्रेमी सरकारले यति चाहिँ बुझे, बेशै होला ।
माइसंसारबाट साभार