No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

विदेशलाई हामी नभएपनि केही फरक पर्दैन तर नेपाललाई पर्छ: डा. अधिकारी(अन्तरवार्ता)

  • 97
  •  
  •  
  •  
  •  
    97
    Shares

नेपालमा जडीबुटीको रुपमा प्रयोग गरिने टिमुरको बारेमा अनुसन्धान गर्दै आएका एक जना नेपाली वैज्ञानिक डा अच्युत अधिकारीले हालै एउटा अन्तर्राष्ट्रिय पुरस्कार पाएका छन् । युनेस्को अन्तर्गतको एकेडेमी अफ साइन्सेस फर डेभ्लोपिङ वल्र्डले प्रत्येक वर्ष विकासोन्मुख मुलुकका वैज्ञानिकहरुलाई दिने ५ हजार डलर राशीको अत्ताहुर रहमान पुरस्कार त्रिभुवन विश्वविद्यालय केन्द्रीय रसायनशास्त्र विभागका उपप्राध्यापक अधिकारीले पाएका हुन् । अधिकारीले विशेष गरी आयुर्वेदमा प्रयोग भएका जटिबुटीहरुबाट औषधिजन्य रसायन निकाल्ने अनुसन्धान गर्दै आइरहेका छन् । उनले नेपाली टिमुरमा विगत ६ वर्षदेखि अनुसन्धान गर्दै आएका छन्। टिमुरबाट मधुमेह, उच्च रक्तचाप, कलेजोको रोग, दाँत खिइने तथा दाँत सम्बन्धि र झाडापखलामामा प्रयोग हुने ‘टम्बुलिन’ नामक रसायन बनाउन सकिने उनले पत्ता लगाएका हुन् । यसै विषयमा डा  अच्युत अधिकारीसँग उज्यालो नेपालले गरेको कुराकानीः

१. सर्वप्रथम त पाँच हजार रुपैयाँ राशीको अन्तर्राष्ट्रिय पुरस्कार पाउनुभएकोमा सरलाई बधाई छ ।
धन्यवाद ।
२. सरको पारिवारिक र शैक्षिक यात्राको बारेमा बताइदिनुस् त ?
म पाल्पा जिल्लाको पुराको गेझा गाविस(अहिले रामपुर नगरपालिका)मा भएको हो । हामी तीन दाजुभाइ मध्ये म माइलो हो । मैले गाउँकै स्कूलमा आठ कक्षासम्म पढेको हो । नौ र दश कक्षा चाहिं तानसेनको सेन माध्यमिक विद्यालयमा पढें । आइएस्सी पाल्पा क्याम्पस र विएस्सी त्रिचन्द्र क्याम्पसमा पढें । एमएसी चाहिं त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट गरें । पिएचडी मैले पाकिस्तानबाट गरें । सन् २०१० मा पिएचडी सकेर ब्राजिलको साउपाउलो युनिभर्सिटीमा पोष्टडकलाई गएँ । अनि फेरि पाकिस्तानको इन्टरनेशनल सेन्टर फर केमिकल एण्ड बायोलोजिकल साइन्सेजमा अध्यापन र अनुसन्धान गराउन थालें । सधैं अर्काको देशमा बसेर नहुने सोचेर २०१७ मा नेपाल फर्केर त्रिभुवन विश्व विद्यालयको रसायनशास्त्र विभागमा अध्यापन सुरु गरें ।

३. टिमुरको अनुसन्धान गर्नेबारे सोच कहाँबाट आयो याहाँलाई ?
आयुर्वेदमा टिमुरका धेरै प्रयोग लेखिएको छ । हाम्रो गाउँले जनजीवनमा नि टिमुर धेरै कुरामा प्रयोग हुने र नेपालमा टिमुरको उत्पादन धेरै हुने हुँदा यदि टिमुरको महत्व बढाउन सकियो भने धरै किसानहरुको आर्थिक अवस्था सुधार्न सकिने देखेर टिमुरको अनुसन्धानमा लागेको हुँ ।
४. अनुसन्धानको टिममा तपाईँ एक्लै कि अरुपनि हुनुहुन्छ ?
अनुसन्धान टिममा मेरा विद्यार्थीहरु र विभिन्न देशमा सहकार्य गर्ने मित्रहरु हुनुहुन्छ ।
५. अनुसन्धानका क्रममा नेपालका कुन कुन ठाउँ पुग्नु भयो ? विदेश पनि जानु भयो कि ?
नेपाल, पाकिस्तान, ब्राजिल, बंगलादेश, जापान अनि फ्रान्सका विश्वविद्यालयको सहकार्यमा अनुसन्धान गरेको छु ।
६. टिमुर त हामीहरुकोमा तरकारी, अचार तथा घरेलु औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ । तर अब तपाइँको अनुसन्धानले टिमुरलाई कुन स्तरमा पुर्यायो त ?
मेरो अनुसन्धानले परम्परागत रुपमा हुने प्रयोगमा वैज्ञानिक कारण छ । टिमुरमा त्यस्तो रसायन हुन्छ जसलाई विभिन्न रोगको औषधि बनाउन सकिन्छ भन्ने देखाएको हो । अहिले नै औषधि बनाएको अवस्था होइन, अरु अनुसन्धानको जरुरी छ ।
७. यो अनुसन्धानबाट व्यवसायिक टिमुर खेती गर्ने किसानलाई कति फाइदा पुग्छ ?
पक्कै पनि टिमुरको महत्वको बारे अन्तर्राष्ट्रिय जर्नलमा कीर्ति प्रकाशन गर्दा टिमुरको निर्यात बढ्छ र खेती गर्नेलाई फाइदा हुन्छ । तर हामीले राम्रोसँग यसको प्रवद्र्धन गर्न जरुरी छ ।
८. टिमुरले अब अन्तर्राष्ट्रिय बजार पनि पाउला नि त ?
अहिले पनि नेपाली टिमुर युरोप जान थालेको छ । यस्तै किसिमको वैज्ञानिक अनुसन्धान थप गरेर अझै प्रभावकारी गराउनु पर्दछ ।
९. अब अदुवाको बारेमा पनि अनुसन्धान गर्दै हुनुहुन्छ, कति समय लाग्छ अनुसन्धान सकिन ?
हामी अहिले नेपाली अदुवाको तेलमा कस्तो कस्तो रसायन हुन्छ, अदुवाबाट कति मात्रामा तेल आउँछ, नेपाली अदुवाको तेलले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्छ कि गर्दैन भनेर अनुसन्धान गरिरहेको छु । अनुसन्धान कहिले सकिन्छ भनेर एकिन भन्न सकिन्न । नेपालमा सबै सुविधा नहुँदा अलि धेरै समय लाग्छ ।

१०. तपाइँसँगै पढेका कतिपय साथीहरु विदेश गए होलान् तर तपाइँ त स्वदेशमै बसेर अनुसन्धान गरिरहनु भएको छ । किन विदेश नगएको नि ?
विदेशमा हामी भएपनि र नभएपनि केही फरक पर्दैन । तर स्वदेशमा हामी नभए अरु आएर हाम्रो टिमुर अनि अदुवामा अनुसन्धान गरिदिँदैन ।
११. विज्ञान पढेर वैज्ञानिक हुने अभिलाषा बोकेका तपाइँका विद्यार्थीहरु धेरै छन् होला विदेश ताकेर बसेका तिनीहरुलाई तपाईँ के सुझाव दिनुहुन्छ ?
अहिले सबै कुरा गुगलमा पाइन्छ । गुगलमा नपाइने कुरा भनेको तपाइँको हातको सीप र सृजनात्मक सोच हो । यो दुई कुराले तपाइँहरुलाई सफल गराउँछ । विदेश जानु नयाँ प्रविधि सिक्नु अनि नेपाल आएर देश विकासमा सहयोग गर्नु, यदि केही विशेषले विदेशमै बस्न परे नि नेपालकै वैज्ञानिकसँग सहकार्य गरेर काम गर्नु ।

Comments
Loading...