No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

यस्तो छ पोर्चुगलमा नेपालीहरुको अवस्था

  • 313
  •  
  •  
  •  
  •  
    313
    Shares

रहरै रहरले वा बाध्यताले पनि मानिसको लक्ष्य र गन्तव्य फरक रुपमा तय गर्छ ।  विदेश जाने र फरक अनुभवमा जीवन जिउने प्रयासमा केन्द्रित देखिन्छन्, धेरै युवा । सिरहाका एक जना धिरज राय,  विदेशिएर संघर्ष गरिरहेका एकजना पौरखी युवा हुन ।  हाल पोर्चुगलमा बस्ने धेरै नेपालीहरुको एक प्रतिनिधि पात्र हुन् राय । पोर्चुगलमा बस्ने नेपालीको कथा, अवस्था , रहनसहन,काम, आफ्नो देशको सम्झना र त्यहाँ भएको प्रगतिकाबारे करीब एक वर्षकदेखि त्यही का दुःख सुख भोग्दै आएको सिरहा जिल्ला पोखरभिण्डाका धिरज रायले पत्रकार शिवशंकर चौधरीसंग लामो कुराकानी गर्नु भएको छ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

धिरज सर, विदेश जाँदा पोचुर्गल नै किन रोज्नु भयो ?

सर, मैले खासमा चैं देश रोज्नु भन्दाखेरी के भन्न मन लाग्यो भने यो पोर्चुगल देश नै एउटा यस्तो देश हो जसले प्रवासीहरुलाई यहाँ बस्न काम गर्न अनि बिस्तारै आफ्नो देशको नीति नियममा ल्याएर आफ्नै देशको नागरिक सरह बस्ने अवसर दिन्छ ।
यो विषयमा विस्तृतमा भन्दा यहाँ आएर काममा लागेर काम गरिएको तलवबाट यहाँको सरकारलाई यहाँको नियम अनुसार मासिक कर तिर्नुपर्ने हुन्छ । अनि सरकारले त्यही करको निरन्तरता देखेर त्यसलाई केही महिना वा केही बर्षमा पिआर कार्ड दिन्छ । अनि करलाई निरन्तरता राख्दै पहिला एक बर्षमा कार्ड नविकरण हुन्छ । यसरी नै कार्डलाई पाँच बर्ष कटेपछि तपाईले यहाँको रातो पासपोर्टको लागि आवेदन गर्न सकिन्छ । अनि बिस्तारै यो देशले ट्याक्सको निरन्तरता देखेर आफ्नै देशको नागरिक बनाई रातो पासपोर्टसम्म नि दिन्छ ।
यहाँ आउनुको मुख्य उद्देश्य नै रातो पासपोर्टको लागि हो । जो कसैले रातो पासपोर्ट पायो भने पछि विश्वको जुनै देशमा गएर सेटल हुन सक्छ । त्यही भएर अहिले पोर्चुगल बस्न चाहनेहरुको प्रमुख अनि मुख्य गन्तब्य भएको छ । यहाँ त नेपाली मात्रै होइन विश्वका थुप्रै देशका मानिसहरु आएका छन् बस्ने उद्देश्यले ।

पोर्चुगल देश कस्तो देश हो ? यहाँको विचारमा

मेरा विचारमा यो देश एकदमै राम्रो देश हो । यहाँका नीति नियमहरु एकदमै राम्रा छन् । यहाँ सबै सिस्टमहरु सरकारले चलाएको हुन्छ । जस्तै यतायातका सबै साधनहरु जस्तै बस,ट्रेन,मेट्रो,पानीजहाज देखि लिएर प्लेनसम्म पनि यहाँको सरकारले मात्र चलाएको हुन्छ । यहाँका जनता पनि एकदमै आत्मनिर्भर अनि सहयोगी हुन्छन् ।
यहाँ बच्चाहरुको स्कुल कलेज पढाइ पनि निःशुल्क हुन्छ । तिनीहरुको उमेर १८ बर्ष नाघेपछि आमाबुवाबाट छुट्टै आत्मनिर्भर भएर बस्नु पर्ने हुन्छ । यहाँका श्रीमान श्रीमतीले पनि आ–आफ्नै रोजगारबाट छुटाछुटै पैसा कमाएका हुन्छन् । उनहरुसँगै बस्दा पनि हरेक खर्चमा आधा–आधा रकम खर्च गर्ने गर्छन् ।
यहाँका नागरिकहरुले स्वास्थ्य सेवा पनि निःशुल्क पाउँछन् । यहाँका बृद्धबृद्धाले पनि विभिन्न किसिमका सेवा निःशुल्क पाएका हुन्छन् । त्यहस् भएर यो देश एकदमै राम्रो देश हो ।

पोर्चुगलमा काम गर्ने नेपालीहरुको अवस्था कस्तो छ ?

यहाँ काम गर्ने नेपालीहरुको मिश्रित अवस्था छ । केही नेपालीहरु राम्रो काममा नि छन् भने केही अलि अप्ठ्यारा र मेहनति काममा नी छन् । अनि केही पुराना नेपालीहरु त यहाँ राम्रो तरिकाले सेटल भएका छन् । जस्तै ठूला पसल, होटल, रेस्टुरेन्ट र एजेन्सीसम्म नि खोलेर बसेका छन् । एजेन्सीको बारेमा भन्दा नेपालीले यहाँका स्थानीयहरुलाई काम दिनेसमेत गरेका छन् । तर हाम्रा नेपाली एजेन्सीले नेपालीलाई कृषि क्षेत्रमा मात्रै काममा लगाउन सक्छ । राम्रो काम तिर पठाउन सकिँदैन । त्यहि भएर यहाँ नेपालीको कामको बारेमा भन्दा खासै राम्रो भन्न सक्ने अवस्था छैन ।

नेपालीहरुलाई पोर्चुगल बसाइमा के के कठिनाई भएको देखिन्छ ?

पोर्चुगल बसाईमा धेरै कठिनाईहरु छन् । यहाँ त्यही व्यक्ति बस्न सक्छ जसले धैर्य, मेहनत अनि जस्तोसुकै अवस्थामा आफूलाई सन्तुलनमा राख्न सक्छ । यो देशको आधारभूत तलब नै मात्र छ सय युरो छ । त्यसमै बस्ने, खाने यातायात खर्च मेन्टेन गर्ने भन्दा खेरी त्यहीमा आफूलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
त्यही रकमबाट थोरै भएपनि घरपरिवारलाई पैसा पठाउनै पर्ने हुन्छ । समग्रमा भन्दा यो पैसा कमाउने देश होइन पेपर अर्थात् डकुमेन्ट बनाउने देश हो । जब यहाँ बस्ने नेपालीहरुले यहाँको टिआर पिआर रातो पासपोर्ट सम्झिन्छ ।
अनि सबै दुःख कष्ट बिर्सेर एकछिन यहाँको रातो पासपोर्ट लिएर सपनीमा डुल्छन् । जुन कुरा यहाँका नेपालीहरुले पाएका पनि छन् । अनि अहिले उनीहरु राम्रो राम्रो देशमा बसेका छन् ।

नेपालीहरु विदेशमा जे काम गर्न पनि तयार हुन्छन् तर आफ्नो देशमा ठूलै काम खोज्छन् के यो कुरा साँचो हो यहाँको विचारमा ?

हो सर हजुरको यो कुरा म शतप्रतिशत मान्छु । यो कुरा यथार्थ सत्य हो । हामी नेपाली आफ्नो देश गाउँ ठाउँमा हुँदा अली ठूलै बन्न वा गर्न खोज्छौं । जसका कारण हामी त्यस काममा सफलता प्राप्त गर्न सक्दैनौं । जे काम गर्न खोज्दा नि ठूलाबडाले गरेको काम हेरेर त्यसकै अनुसार गर्न खोज्छौं र असफल हुन्छौं । तर उनीहरुले गरेको काममा उसको लगानी, मेहनत र उसको अनुभव वा उसले दिएको समय देख्दैनौ । जुन देख्नु एकदमै जरुरी छ । तर जब हामी विदेश आउछौं तब हामी सानोदेखि सानो काम गर्न पनि तयार हुन्छौं । जस्तै म अरुको उदाहरण किन दिने सर मैले आफैं यो नौ दश महिनाको बसाईमा खेतीदेखि लिएर रेष्टुरेन्टसम्मको काम गरेको छु ।
खेतीमा हँुदा गर्नुपर्ने सबै काम गरें । कोदालोदेखि कुखुराको मलसम्म छरें खेतमा । हरियो खुर्सानीदेखि टमाटर, फर्सी बैगुनसम्म टिप्ने काम गरें । अहिले म एउटा रेष्टुरेन्टमा किचेन हेल्परमा काम गर्दैछु । त्यहाँ पनि सबै काम गरेकै छु । त्यहाँ सबै खाने कुराहरु काट्नेदेखि पकाउने कामसम्म गरेको छु । त्यति मात्र होइन अन्तमा सबै कुराहरु सरसफाई गरेर निकिन्छु ।

पोर्चुगल आउन चाहने व्यक्तिलाई के सुझाव दिनु हुन्छ ?

यहाँ आउने व्यक्तिलाई म एउटै सुझाव दिन चाहन्छु । त्यो हो यहाँ जो कोही आउँदा पैसा कमाउने उद्देश्यले नआउनुस् कृपया नत्र पछि पछुताउनु पर्ला । खासमा यो देश पैसा कमाउने देश हैन । म फेरि पनि भन्न चाहन्छु कि यो देश डकुमेन्ट बनाउने देश हो । एक त यहाँ आउँदा लगानी पनि अलि ठूलै रकम लाग्छ ।
त्यसैले सानो वर्ग र सामान्य वर्गको यहाँ आउन सोच नबनाउनु यदि बनाउनु हुन्छ भने आफ्नो लगानीमा आउनु बाहिरको ऋण वा कर्जा लिएर नआउनु । नत्र भविष्य बनाउने चक्करमा मर्नेगरी ऋणमा डुबिन्छ है साथीहरु । तर जे जस्तो भएपनि यहाँ लगानी अनी मेहनत गर्न सकियो भने पछि बच्चाहरुको भविष्य बन्छ । त्यही भएर यहाँ आउन चाहने व्यक्तिलाई लगानी गर्न सक्नुपर्ने हुनुपर्यो र धैर्य गर्न पनि सक्नुपर्छ । त्यस्ता व्यक्तिहरु यहाँ सफल हुन्छन् ।

नेपालको बेरोजगारी समस्यालाई कसरी रोक्न अर्थात् यो समस्या समाधान गर्न के गर्न सकिन्छ ? तपाईको के सुझाव छ ?

सर, हाम्रो देशमा बेरोजगारी समस्या सामाधान गर्न खोज्यो भने गर्न सकिन्छ । तर अहिलेको हाम्रो सरकारमा भएका र नभएका नेताहरुज्यूहरुको इच्छा शक्ति नभएर यस्तो भएको हो । उहाँहरुले चाहेमा भने हुन्छ । जस्तो हाम्रो देश कृषि प्रधान देश हो ।
कृषिमा सरकारले आफैले लगानी गरेर ठूला ठूला फर्महरु खोलेर यहाँका जनताको रोजगारीको अवस्था सृजना गर्न सक्नु पर्यो । या त यहाँका ठूला पुँजीपतिलाई लगानीको सही वातावरण सृजना गर्नुपर्यो । जस्तै अहिले हाम्रो देशका प्रत्येक प्रदेशमा ठूला–ठूला लगानी गरी रोजगारीको अवस्था सृजना गर्नु पर्यो । कुन प्रदेशमा के उत्पादन हुने सम्भावना छ त्यही अनुसार त्यहाँ लगानी गर्नुपर्यो अनि उत्पादित वस्तुहरु देश विदेशमा निर्यात गरि देशमा आम्दानी बढाउनुपर्यो । अहिलेको अवस्थामा प्रदेश पिच्छे रोजगारीको सम्भावना हुने लगानीहरु होस् जसले गर्दा सबै प्रदेशका जनता आ–आफ्नो रोजगारीमा लागुन् ।

पोर्चुगलमा बस्ने नेपालीहरुले कालापानी लगायतका सीमा विवादलाई समाधान गर्न कसरी सोच्दै हुनुहुन्छ ?

कालापानी लगायतका सीमा विवादमा यहाँका नेपालीहरुमा मिश्रित सोच छ । कोही कोहीले यो उहिले नै सुगौली सन्धीको वेलामा नै भारतलाई दिए रे त कोहिकोहिले होइन हाम्रोबाट बलभद्र कुवरको इतिहास हामीले पढेको कहाँ बिर्सिनुनी धेरै दिनसम्म पानी मात्र खाएर युद्ध गरी कालापानीको युद्ध जितेको रे । तर जे भएपनि सर हामी नेपालीको सोच खासमा यो कालापानीको सीमा विवाद समाधान गर्ने तिर छ ।
यस विषयमा हाम्रा अहिलेका नेताहरु लाग्नु पर्यो यो बिषयमा कहाँ कोसँग कुरा गर्नपर्छ त्यस बिषयमा जानुपर्यो । की यो बिषयलाई लिएर विश्व समुदाय तिर जानुपर्यो । हाम्रा नेताज्यूहरुले जानुपर्यो हामी जनता त छौं नी साथमा ।

आफ्नो देश, घर,परिवार,गाउँ र आमा बुवा कतिको याद आउँछ ?

हाहाहा….. यो कुराको बिषय नै नउठाउनु सर । म अलि यो कुरामा बढी नै भावुक मान्छे हँु । यो बिषयलाई म जहिले पनि मुटुबाट सोच्छु मस्तिस्कबाट सोच्दिन । आफू जन्मेको देश, गाउँ, घर परिवारको त धेरै नै याद आउँछ । खासमा मलाई जन्म दिने मेरी आमा र मलाई सही शिक्षा र संस्कार दिने बुवालाई साह्ै सम्झिन्छु । आज म जहाँ छु उहाँहाहरुकै आशिर्वाद र सहयोगले गर्दा यहाँसम्म पुग्न सफल भएको छु ।

धिरज सर, यहाँको नेपालमै व्यवसाय थियो के नेपालको व्यवसायमा कमाई थिएन ?

हो, मैले गरेको व्यवसायमा नेपालमा राम्रै कमाई थियो । त्यही भएर शायद मै २० बर्षसम्म व्यवसाय गरें नेपालमा । त्यहाँ व्यवसायबाट आएको रकम जति साहुलाई दिँदैमा सकिन्थ्यो । अनि अहिलेको हाम्रो देशको व्यपवसायको अवस्था एकदमै सकिएको छ जहाँसम्म मैले अनुभव गरें । किनभने अहिलेको अवस्थामा हाम्रो देशमा व्यवसाय गर्नु एउटा फेशन जस्तै भएको छ । जो कोही नी आएर व्यवसाय गर्न खोज्छ । अनी व्यवसायको सही तरिका कसैले नी फलो गर्दैन । एक अर्कासंग प्रतिस्पर्धा गरेर एकले अर्कालाई मार्न खोज्छ र सँगै आफू नि मर्छ यस्तो अवस्था छ ।

यो विदेश जानेबाट भावी पुस्ताले के सन्देश पाउला ?

यो विदेश जाने कुरामा नी सर म एउटै कुरा भन्न चाहन्छु हजुरलाई चाहे जस्तोसुकै व्यक्ति विदेश जाओस् की निम्न व्यक्ति वा सामान्य व्यक्ति जाओस् । जो कोही विदेश जाँदा रहरले गाको हँुदैन बाध्यताले गाको हुन्छ । जस्तै म आफ्नै बारेमा भन्दैछु । मैले नी नेपालमै बस्न के के गरिनँ । अघि नै हजुरले मेरो व्यवसायको बारेमा नि कुरा उठाउनु भएको थियो । हो सर यो सव मेरा उदाहरणहरु हुन् त्यहीँ बस्नलाई सकिएन खै के मिलेन के मिलेन सोचे जस्तो हँुदै भएन गर्न त गरेकै थिएँ । मेहनतदेखि लगानीसम्म, व्यवहारदेखि बोलीसम्म गरेकै थिएँ । तर पनि त्यहाँ समयले साथ दिएन जस्तो लाग्यो । हुन त मेरो यहाँ पोर्चुगलमा पनि अहिले संघर्षकै समय हो ।
अझै केही समय लाग्छ मलाई यहाँ सफल हुन । तर पछि सबै ठिक हुन्छ । त्यही भएर म भावी पुस्तालाई के भन्न चाहन्छु भने हामी त आइयो आइयो विदेश आफ्नो जन्मभूमि मातृभूमि त्यागेर अनि कर्मभूमि बनाइयो विदेशलाई तर तपाइँहरुले आफूले यस्तो सक्षम बनाउनु आफ्नै देश, जन्मूमि र मातृभूमिले कतै जान नदियोस् । भनोस् हाम्रो देशले यो मेरा छोराहरु हो अब तिमीहरुले कतै जानु पर्दैन तिमीहरु अब मलाई बनाउने छौं विश्वसामु उच्च बनाउने छौं ।

कति फिल्महरुमा पनि देखाएको कथा, विदेश जानेको घर परिवार बिग्रिन्छ यसको बारेमा यहाँको बुझाइ के छ ?

हो, सर म हजुरको यो कुरा नि काट्न सक्दिन, यो प्रश्न पनि एकदमै सही हो । फिल्ममा नी त हाम्रो समाजमा घटेका घटनाहरु देखाइन्छ । तर मेरो सोचाइमा यस विषयमा अलि फरक छ । जब तपाइँ आफ्नो भविष्य बनाउन मनमा सकारात्मक सोच लिएर कतै जानुहुन्छ तब तपाईको जीवन हरेकसँग राम्रै हुन्छ ।
तपाई विदेश बस्दा यदि तपाईभित्र सकारात्मक सोच छ । तपाईलाई यहाँ भए पनि आफ्नो घरपरिवारको सन्तुलन गरेर राख्न सक्नु हुन्छ भने मेरो विचारमा घरपरिवार विग्रिने सम्भावना एकदमै न्यून हुन्छ । तपाइँ विदेश हुँदा पनि यदि आफ्नो घरपरिवारको लागि दिनमा केही समय निकालेर घरपरिवारमा नि कुरा गर्नुहुन्छ भने त्यो घरपरिवार कहिल्यै विग्रिदैन ।
यदि तपाइँले घरपरिवारलाई वास्तै गर्नु हुन्न भने त वेग्लै कुरा हो । जस्तै कोही विदेशमा आएर यताकै दुनियामा रम्नु भयो भने अनि आफ्नो घरपरिवार विर्सियो भने त्यस्ताको घरपरिवार विग्रिने सम्भावना बढी हुन्छ ।

Comments
Loading...