No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बीएन्डसीमा प्रचण्ड र ओलीको लगानी छैनः प्रसाईं

  • 472
  •  
  •  
  •  
  •  
    472
    Shares

मेचीनगर । बीएन्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले हस्पिटलमा प्रधानमन्त्री केपी ओली र पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को लगानी नभएको बताएका छन् ।

पूर्वाञ्चल क्यान्सर हस्पिटलको बुधवार सेवा प्रारम्भ भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रसाईले हस्पिटलको प्रगति देख्न नचाहने र राजनीतिक शीर्ष नेतालाई विवादमा तान्न दुष्प्रयास गर्नेहरुले हस्पिटलमा प्रचण्ड र ओलीको लगानी भएको हौवा चलाएको बताएका हुन् ।

‘हाम्रो परिवारले भएभरको अचल सम्पत्ति जाकटी राखेर बैङ्कबाट ऋण लिएका छौं’, कार्यक्रममा उपस्थित विभिन्न बैङ्कका उच्च पदाधिकारीहरुतर्फ देखाउँदै प्रसाईले भने–‘त्यही ऋणबाट बीएन्डसी र पूर्वाञ्चल क्यान्सर हस्पिटल स्थापना गरेका हौं, उहाँ (बैङ्क)हरुलाई नै सोध्दा थाहा भइहाल्छ ।’

पूर्व प्रधानमन्त्री प्रचण्डसँग आफ्नो घनिष्ठ सम्बन्ध भएको स्वीकार्दै उनले भने–‘कसरी प्रचण्ड र मलाई तल पार्न सकिन्छ भनेर केहीले लगानीको अफवाह फैलाएका हुन् ।’ प्रधानमन्त्री केपी ओलीको समेत लगानी छ भनेर अर्काथरिले हल्ला चलाउने गरेको भन्दै उनले त्यसको पनि खण्डन गरेका छन् ।

मेची अञ्चलमा मेडिकल कलेज चलाउने उद्देश्यका साथ ६ अर्ब रुपैयाँ लगानीमा पाँच वर्ष अघि बीएन्डसी हस्पिटल सञ्चालनमा आएको हो । हस्पिटलको ठूलो लगानीका विषयमा अनेक चर्चा चल्ने क्रममा प्रचण्डको लगानी भएको सुरुदेखि नै आरोप लगाइने गरेको थियो । अहिले फेरि ४ अर्ब रुपैयाँको लगानीमा क्यान्सर हस्पिटल सुरु भएको छ । उनले दुबै हस्पिटलमा प्रचण्ड र ओलीको लगानी नरहेको मन्तब्यको क्रममा पटकपटक प्रस्टीकरण दिए ।

बीएन्डसी हस्पिटलले नेपाल सरकारले तोकेका सबै मापदण्ड पूरा गरिसक्दा समेत कहिले माफियाको आरोप लगाएर र कहिले सत्याग्रही डा. गोविन्द केसीको मागको बहाना बनाएर मेडिकल कलेज सञ्चालनको अनुमति नदिइएकोमा प्रसाईले गुनासो गरेका छन् ।

‘मैले हस्पिटल र कलेज खोलेर मेची अञ्चलमै डाक्टर पढाउने व्यवस्था मिलाउँछु भन्दा माफिया भनियो’, प्रसाईले आफुप्रति मिडियासमेत पूर्वाग्रही भएको गुनासो गर्दै भने । माफिया भनेर बद्नाम गराउने दुष्प्रयास गरिए पनि आफु कहिल्यै लक्ष्य र सत्यबाट विचलित नभएको उनले बताए ।

कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गरेकी स्वास्थ्य पत्रकार मञ्चकी केन्द्रीय अध्यक्ष कल्पना आचार्यले बीएन्डसी र सञ्चालक दुर्गा प्रसाईका बारेमा सुनेका भरमा विगतमा अनेक कुरा लेखिएको जनाउँदै अहिले फिल्डमै आएर बुझ्दा र हेर्दा फरक अनुभूति भएको बताइन् । मोफसलमा यति सुविधा र प्रविधिसम्पन्न हस्पिटल होला भन्ने कल्पना समेत गर्न नसकिने अवस्थामा प्रसाईले स्वास्थ्य क्षेत्रमा गरेको लगानीको अध्यक्ष आचार्यले प्रशंसा गरिन् ।

वरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा गाइने अङ्कोलोजिस्ट प्रा.डा. गेहनाथ बरालले जसले स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याउने काम गर्यो उसैलाई मिडियाले समेत माफिया भनेको सुन्दा आफु दुःखी भएको बताए । प्रसाई भिजन भएका सामाजिक व्यक्तित्व भएको उनको भनाई थियो ।

Comments
Loading...