No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

उपाध्यक्ष गिरीलाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

  • 263
  •  
  •  
  •  
  •  
    263
    Shares

काठमाडौं । स्वतन्त्र युवा संगठनले झापाको विर्तामोडस्थित प्रस्तावित विएण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईंसँग २० करोड घुस मागेको आरोप लागेका चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

माइतीघर मण्डलामा भेला भएका संगठनका कार्यकर्ताले गिरीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले उपाध्यक्ष गिरीविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

करोडौं घुस माग्ने उपाध्यक्ष गिरीलाई पदमा बस्ने नैतिकता नभएको भन्दै उनलाई सरकारले बर्खास्त गरी कारबाही गर्न संगठनले माग गरेको छ । यसअघि आइतबार संगठनले भक्तपुरको सानोठिमीस्थित आयोग कार्यालय अगाडि गिरीको राजीनामा माग गर्दै प्रदर्शन गरेको थियो । त्यस्तै शनिबार संगठनले काठमाडौंको बसुन्धरास्थित गिरीको निवास वरिपरी पर्चा टाँस्दै उनलाई सामाजिक बहिष्कार गर्न आह्वान गरेको थियो ।

कलेजको सम्बन्धनका लागि गिरीले २० करोड रुपैयाँ मागेको भन्दै कलेज संचालक प्रसाईंले केही दिन अघि पत्रकार सम्मेलन गरेका थिए । त्यसैगरी स्वास्थ्य शिक्षा अभियन्ता विजय थापाले पनि राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीलाई तत्काल बर्खास्त गर्न माग गर्दै सरकारलाई २१ दिने अल्टिमेट दिइसकेका छन् ।

माघ १६ गतेसम्म गिरीमाथि छानबिन गरी कडा कारबाही नगरिए माघ २२ गतेबाट आयोग मुख्यालयको गेटमै आमरण अनशन बस्ने थापाले चेतावनी दिएका छन् ।
यसैबीच, प्रस्तावित विएण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईंले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले अकुत सम्पत्ति कमाएको भन्दै सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन् ।

गिरीले भ्रष्टाचार तथा घुस लिने कार्य गरी अकुत सम्पत्ति आर्जन गरेको दाबी गर्दै प्रसाईंले गिरीविरुद्ध उजुरी हालेका हुन् । गिरीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको शिक्षाध्यक्ष रहेको समयमा, स्वास्थ्य सेवा बीमा बोर्डमा कार्यकारी निर्देशक रहँदा र हाल आयोगको उपाध्यक्ष रहँदा पनि घुस लिई अकुत सम्पत्ति आर्जन गरको प्रसाईको आरोप छ । गिरीले अवैधानिक रूपमा कमाएको अकुत सम्पत्ति आफू र आफ्ना नातेदारका नाममा जम्मा गरेको भन्दै प्रसाईंले उनको सम्पूर्ण सम्पत्ति जफत गर्न माग गरेका छन् ।

त्यस्तै राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष हुन योग्यता नै नपुगेपछि गिरीले झुठा विवरण पेश गरी नियुक्ति लिन सफल भएको प्रसाईंको आरोप छ । आफूले एमबिबिएस कार्यक्रम सञ्चालनका लागि सम्बन्धनको सिफारिस गर्न गिरीसमक्ष निवेदन दिएकोमा २० करोड रुपैयाँ घुस माग गरिएको प्रसाईंले उजुरीमा उल्लेख गरेका छन् ।

२० करोड नदिए कम्पनीको १० प्रतिशत सेयर दिन गिरीले भनेको प्रसाईंले उजुरीमा उल्लेख गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले गिरीको प्रमाणपत्र छानविनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा समेत उजुरी गर्ने जानकारी दिएका छन् । उनले अब आफू न्यायका लागि अदालत जानेसमेत बताएका छन् ।

आफूलाई राज्यले न्याय नदिएकाले अब अदालतको ढोका ढक्ढकाउन लागे्को बताए । उनले चिकित्सा शिक्षा आयोगले सिटिइभिटीका २९ वटा कार्यक्रमलाई सम्बन्धन दिंदा पनि आफूलाई नियतबस दुःख दिएको गुनासो गरे ।

प्रकाशित: २९ पुष २०७६, मंगलवार ११:२०
Comments
Loading...