No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जनयुद्धका विरुद्धमा सामाजिक सञ्जालमा विष वमन गरेको देख्दा दया लाग्छ

  •  
  •  
  •  
  •  
  •  

मनहरि तिमल्सिना ।

नेकपाका केही कमरेडहरु जनयुद्धका विरुद्धमा सामाजिक सञ्जालमा विषवमन गरेको देख्दा दया लाग्छ। कमरेडहरु, जनयुद्ध तपाईले कल्पना गरेजस्तो हाँसीमजाकको विषय थिए। कुनै भोजभतेर वा रमाइलोका लागि जनताका लाखौं छोराछोरी मृत्यु वा मुक्तिको सपथ खाएर मुक्तियुद्धमा होमिएका थिएनन्। जनयुद्धका ती दिन कति कष्टकर थिए, कति सङ्घर्षपूर्ण थिए, तपाईहरुले अनुभव त के, अनुभूतिसम्म गर्न सक्नुहुन्न। क्रान्तिकारी योद्धाहरुले भोक–प्यास, रातदिन, आँधीहुरी, घामपानी, यातना र मृत्युको पर्वाह नगरी सामन्ती सत्ताका विरुद्ध जीवनमरणको लडाइँ लडेका थिए।

पूरानो सत्ताले क्रान्तिकारीहरुलाई जिउँदो जलाएको थियो, आँखा झिकेको थियो। शरीरका अंगअंग चिरेर नूनचुक लगाएको थियो। वर्षौंसम्म सेनाको बंकरमा बेपत्ता पारेको थियो। हातखुट्टाका नङ् र शरीरका अंगअंगमा पिन कोचिएको थियो। महिला योद्धाहरुलाई दर्जनौंले सामूहिक बलात्कार गरेर, आँखा झिकेर, शरीरलाई ठाउँ–ठाउँमा चिरेर, शरीरका हड्डी दर्जनौं ठाउँमा भाँचेर महिनौंपछि हत्या गरिएको थियो। त्यो सङ्घर्ष तपाईले फेसबुकका वालमा लेखेजस्तो सजिलो कुरा थिएन।

म पनि त्यो युद्धको एउटा सिपाही हुँ, त्यो यातनाको एउटा साक्षी हुँ। तपाईहरुलाई थाहै छ, त्यही समयमा आफूलाई वामपन्थी भनिनेहरु राजालाई विष्णुको अवतार ठानेर पूजा गर्दै थिए। उनीहरु चिया पसलदेखि राजनीतिक कार्यक्रमसम्म गणतन्त्र नेपालमा सम्भवै नभएको घोषणा गर्थे। तर, त्यही सङ्घर्षको बलमा तपाईहरु यहाँ हुनुहुन्छ। यदि नेपालमा जनयुद्ध नभएको भए कि त तपाईहरु जेलमा हुनुहुन्थ्यो कि ज्ञानेन्द्रको पैतालामुनि।

जनयुद्धको विरोध गर्ने, यसको गौरवशाली इतिहासको अवमूल्यन र हाँसीमजाकको विषय बनाउने कमरेडहरुलाई चुनौतिका साथ भन्छु, ‘त्यति सङ्घर्षपूर्ण युद्ध एक घण्टा लडेर देखाउनुस्। कार्ल मार्क्सको वर्गसङ्घर्ष र बलप्रयोगको सिद्धान्त गलत थियो भन्ने हिम्मत गर्नुस्। २ करोड ६० लाख मान्छेले बलिदानी गरेर आएको रुसको समाजवाद र लेनिनवाद गलत थियो भन्ने हिम्मत गर्नुस्। होइन भने माछा मीठा, काँडा तीताको अवसरवादी सोंच र प्रवृत्ति त्याग्नुस्। गणतन्त्रको काम छैन भन्नुस्।

गौरवशाली इतिहासप्रतिको यो निम्नकोटीको टिप्पणी र व्यवहार गौरवशाली युद्ध र त्यसका अभियान्ताहरुका लागि किमार्थ स्वीकार्य हुँदैन। कम्तिमा मार्क्सवादी चिन्तन र मानवीय चेत राख्नुस्। अन्यथा, शब्दमा त तपाईहरुलाई कमरेड भनिएला। तर, अन्तरमनले साम्यवादी ध्येयका लागि हिँडेका सहयोद्धा भन्न सकिने छैन, अस्तु।

Comments
Loading...