No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘लोकमान प्रवृत्ति देखाउन खोजेको भए २०५१ को भित्तेकाण्ड सम्झिनुस्’

  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीले सबैलाई तर्साउने र झुकाउँछु भन्ने सोच राखेर अघि नबढ्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिनुभएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले प्रधानमन्त्री ओलीले लोकमान प्रवृत्ति देखाउन खोजेको भए २०५१ मा भित्तेकाण्ड सम्झिन चेतावनी दिनुभएको हो । उनले भने, २०५१ मा जनयुद्ध अगाडि तत्कालीन गृहमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन गएको थिएँ त्यतिबेला उहाँको अरिङ्गाल सेनाले खुकुरी हानेको अहिले पनि याद छ । त्यसैले लोकमान झै तर्साएर झुकाउँछु भन्ने ठान्नु भएको भए त्यो प्रसंग सम्झँदा राम्रो हुन्छ । त्यसले कसरी जनयुद्धमा आगो बालेको थियो र त्यसको परिणाम के भयो सम्झिँदा हुन्छ ।’

उहाँले भ्रष्टाचारलाई नियन्त्रण गर्ने हो भने प्रधानमन्त्री र प्रधानन्यायाधीशमाथि पनि निगरानी गर्न सक्ने र संसदप्रति उत्तरदायी जनलोकपाल बनाउन र आफूलगायत सबैको सम्पत्ति छानबिन गर्न माग गर्नुुभयो ।

‘मलगायत सबैको सम्पत्ति छानबिन गरौं,’ भट्टराईले भन्नुभयो, ‘हिजो हामी त साथीहरूले दिएको जडौडी लुगा, चप्पल लगाएर हिड्थ्यौं। अहिले हामी कसरी सुटेटबुटेट भएका छौं। कसरी चिल्ला कार चढेर हिडेका छौं।’

प्रधानमन्त्री केपी शर्मा ओलीको तेह्रथुमस्थित घर जन्मदिनको दिन देखिएको उल्लेख गर्दै भट्टराईले प्रधानमन्त्रीको भन्दा गोरखामा आफ्नो घर राम्रो रहेकोसमेत बताउनुभयो ।

‘कसरी हाम्रा महल छन् ? प्रधानमन्त्रीको अस्ति तेह्रथुमको बुकुरो हेर्दा त्योभन्दा राम्रो घर गोरखामा मेरो छ,’ उहाँले भन्नुभयो, ‘गाउँमा बुकुरो भएका हामी प्रधानमन्त्रीहरू काठमाडौंमा महल बनाउने कसरी पुग्यौं?’ उनले आफू गणितमा चासो राख्ने र अर्थमन्त्रीसमेत भइसकेको व्यक्ति भएकोले जसरी हिसाब गर्दा पनि बाहिर देखिने सम्पत्तिले मात्रै नेताले काठमाडौंमा महल ठड्याउन नसक्ने बताउनुभयो ।

भट्टराईले मातातीर्थको करिव १७३ रोपनी जग्गा कानुनसम्मत मोही कायम गरेर वितरण गरेको दाबी गर्नुभयो । आफ्नो सरकारले १४ कात्तिक २०६९ मा गरेको उक्त निर्णय राजनीतिक, कानूनी र नैतिक रुपमा पनि सही भएको उहाँको दाबी थियो ।

प्रधानमन्त्रीले फागुन तीन गते संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल ट्रष्टको जग्गा भट्टराईको पालामा मोही कायम गरेर वितरण गरिएको र त्यसबारे छानबिन गर्ने बताउनुभएको थियो । अहिले त्यो जग्गा आफ्नो भएको दाबी गर्ने नेपाल ट्रष्टकै सचिवको नेतृत्वमा छानबिन समिति बनेको र त्यसको प्रतिवेदनका आधारमा निर्णय भएको उहाँले बताउनुभयो ।

Comments
Loading...