No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कोभिड १९ः नयाँ परिवेशको तेस्रो विश्वयुद्ध

  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

अक्सर राजनीतिक रुपमा गोला बारुद वा हतियारको बलमा लडिने लडाईलाई विश्वयुद्धको उपमा दिइदै आएको छ । विभिन्न देशमा प्रयोग गरेका जनताको मुक्तियुद्ध अर्थात् जनयुद्ध होस वा संसारले भोगेका पहिलो वा दोस्रो विश्व युद्ध मुलतः अस्त्रशस्त्रको जबर्जस्त प्रदर्शन थियो । त्यसैका आधारमा संसार सामु युद्ध भनेको हतियार संघर्षको पर्याय झै बन्न पुग्यो ।

तर अब सन २०१९ को अन्त्य तथा २०२० को प्रारम्भमा संसारको सातो लिने गरी आक्रामक बनेको कोभिड १९ को भय, त्रास र आतंकले भने युद्धको परिभाषा नै बदलिदिएको छ । अहिले संसार तेस्रो विश्वयुद्ध लडिरहेको छ, जहाँ मानिस निशस्त्र छन, तर मृत्युलाई जित्न सकिरहेका छैनन् । संसारको कूल जनसंख्याको करीव एक चौथाई जनसंख्या यो युद्धमा सामेल छन, जो आआफ्नै घर कोठामा बन्द छन् । बीबीसीका अनुसार संसारका एक चौथाई मानिस लकडाउनमा परेका छन, मात्रै कोभिड १९ को संक्रमणका कारण ।

कोभिड १९ काल अर्थात नयाँ संक्रमणको युग सुरु हुनुपूर्वको विश्वको एकल शक्ति राष्ट्र मानिएको अमेरिका र उसका सहयोगी पश्चिमा देशहरुले संसारलाई हेर्ने र डिल गर्ने नीतिमा आमूल परिवर्तन गर्न आवश्यक छ । राजनीतिक दर्शन कम्युनिस्ट भएकै कारण अब अमेरिका र पश्चिमा देशहरुले चीनलाई अलगथलग गरेर वा चीनको शक्ति सामथ्र्य र प्रविधिलाई संसारले नजरअन्दाज गरेर कोभिड १९ विरुद्धको तेस्रो विश्वयुद्ध जित्न सक्ने अवस्था रहेन । बरु चीनको कोभिड १९ विरुद्धको सफल प्रयोग, प्रविधि र जनशक्ति उपयोग, सदुपयोग गर्न सक्नुपर्ने विन्दुमा सिंगो विश्व पुग्नु परेको छ ।

संसारका एक से एक शक्तिशाली भनिने अमेरिका होस कि युरोप एकैपटक कोभिड १९ को संक्रमणले थला परेको छ । वेलायती राजकुमार चाल्र्ससम्मलाई कोभिड १९ को संक्रमणले गाँज्नुको सिधा अर्थ हो, संसार कोभिड १९ रुपी तेस्रो विश्वयुद्धको चपेटामा परेको छ । अपेक्षाकृत रुपमा एशिया यसको शिकार ढिलो वा सुस्त गतिमा हुँदैछ, तर पनि यसको प्रभाव बढोत्तरी नै छ ।

प्रकृतिकै गडबडीको उपज हो कोभिड १९, जसका सामु अमेरिकी वा पश्चिमाहरुको विज्ञान र खोज अनुसन्धान पनि चकित छ, क्रमशः पराजीत हँुदैछ । आआफ्ना नागरिकलाई लकडाउनमा राखेर कोभिड विरुद्ध लड्ने संसारका शक्तिशालीदेखि विकासोन्मुख सबै देश अहिले विना हतियार तेस्रो विश्वयुद्धको प्रतिरोधमा छन । तर, यो युद्ध अब कुनै देश विशेषको, भूगोल वा जनसंख्या विशेष मात्रैको चुनौतिका रुपमा सीमित रहेन । यो मानवता विरुद्धको नयाँ दुश्मन तथा विज्ञान र अस्त्रशस्त्र विरुद्धको नयाँ चुनौति बनिसकेको छ । जसका विरुद्ध अब संसार भरका मानवजाति एकतावद्ध भएर एकै स्वर, शैली र शक्तिमा प्रतिरोधमा उत्रनुको विकल्प देखिदैन ।

एक्लै जित्न नसक्ने लडाईंः युएन 

सबैले जानेमानेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोरोना भाइरस कोभिड १९ महामारीलाई सम्पूर्ण मानवताका लागि खतरा भन्दै त्यसविरुद्ध सम्पूर्ण मानव लागिपर्नु पर्नेमा जोड दिएका छन् । महासचिव एन्टोनियो गुटेरसका शव्दमा कोभिड १९ विरुद्ध कुनै पनि देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त हुने छैन ।

महासचिवले भने, ’यदि यो महामारीलाई विकसित मुलुकहरूमा नियन्त्रण गरिन्छ तर यदि यसलाई विकासोन्मुख देशहरूमा डढेलो जसरी फैलन दिइन्छ भने दशौँ लाख मानिसको ज्यान जान सक्छ । त्यतिमात्र होइन त्यसले भाइरसलाई स्वरूप परिवर्तन गर्ने अवसर पनि दिनेछ र परिवर्तित भाइरसले बनेका खोप पनि काम नलाग्ने गरी फेरि सबैलाई आक्रमण गर्न सक्नेछ । त्यसैले यो लडाइँ आधामात्र लड्न सकिँदैन ।’

कोभिड १९ विरुद्ध आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न राष्ट्रसंघले दुई अर्ब डलर कोषको घोषणा पनि गरिसकेको पृष्ठभूमिमा महासचिव गुटेरसको यो चेतावनी आएको हो, जसले संसारलाई एकतावद्ध प्रतिवाद र प्रतिकारका लागि आव्हान गरेको छ । अमेरिका तथा पश्चिमा देशहरुले यही राष्ट्रसंघीय चेतावनीको अन्तर्यलाई बुझेर संसारसँग हातमा हात र साथमा साथ मिलाउँदै यो नयाँ कोभिड १९ विरुद्धको तेस्रो विश्वयुद्धको सामना गर्न तयार हुनुको विकल्प छैन् ।

निरन्तर खोज आवश्यकः डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ)ले कोभिड १९ विरुद्ध परीक्षण, क्वारन्टाइन तथा सङ्क्रमणका स्रोतको निरन्तर खोजीको आवश्यकतामाथि जोड दिएको छ । सङ्क्रमणबाट अति प्रभावित इटलीको प्रयासलाई प्रशंसा गर्दै विस्तारै उसका प्रयासले नतीजा ल्याउने राम्रा सङ्केत देखिएको डब्लुएचओले बताएको छ । विश्व स्वास्थ्य संगठनका लागि पनि कोभिड १९ नै नवीनतम चुनौति हो ।

परम्परागत द्वन्द्वमा युद्धविराम

कोरोनाभाइरस प्रकोपका माझ विश्वभरि चलिरहेका द्वन्द्वको युद्धविराम गरिनुपर्नेमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले यसअघि नै सार्वजनिक अपिल गरिसकेका छन् । यो अपिलले युद्धरत सबै पक्षलाई शान्तिमा आउन मात्रै होइन, युद्धको नयाँ परिभाषा सिकाएको छ र त्यो युद्ध भनेको कोभिड १९ विरुद्धको युद्ध नै हो । कोभिड १९ अब संसारको अहिले चलिरहेको युद्ध बिस्थापित गर्ने एक मात्रै हतियारविहीन अस्त्र प्रमाणित भइसकेको छ ।

अमेरिकी झूट र दम्भको पराजय

कोभिड १९ को संक्रमणको समयमा सही निदान खोज्नुको बदला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार झूट र गलत अभिव्यक्ति दिँदै आएको पुष्टि भएको छ । ३३ वटा झूट त उनले कोरोना महामारीबारे मात्रै बोलेको तथ्य सार्वजनिक भएको छ । उनले आठ महिनामा दुई हजार ६२ झुट ! बोलेर संसारलाई भ्रमित पार्ने गलत दम्भ देखाएका छन् ।

यही मार्चदेखि राष्ट्रपति ट्रम्पले कोरोना भाइरस महामारीलाई लिएर सार्वजनिक रुपमा उनले ३३ वटा झूट बोलेको तथ्य सार्वजनिक भएको हो । यस क्रममा उनले तथ्य बंग्याउने, गलत आरोप लगाउने जस्ता अभिव्यक्ति मार्फत् उनले झूट बोलेका हुन् । ट्रम्पले मार्च २ देखि मार्च ८ सम्म ५० झूट दाबी गरे । यस्तै मार्च ९ देखि मार्च १५ सम्म २१ झूट बोले । ती ७१ झूटमध्ये ३३ झुट कोरोना भाइरससँग सम्बन्धित थिए ।

सीएनएनका लागि डानियल डेल र तारा सब्रमन्यमले तयार पारेको रिपोर्टले यस्तो तथ्य सार्वजनिक गरेको हो । जहाँ ट्रम्पले २०१९ को जुलाइ ८ देखि हरेक साता ५७ झूट बोल्ने गरेको खुलासा गरिएको छ । त्यसबेलादेखि उनले मार्च १५ सम्म मात्रै दुई हजार ६२ वटा झूट बोलिसकेका छन् ।

सुरुमा चिनियाँ भाइरस भनेर राष्ट्रपति ट्रम्पले चीन कोभिड १९ विरुद्ध जनयुद्धमा होमिदै गर्दा भद्धा मजाक गरे । अहिले सिंगै विश्वको मानवता विरुद्ध धावा बोलिसकेको कोभिड विरुद्ध आफै जुध्न नसकेर अमेरिका थलिएको अवस्था छ । संसार मानव जीवनका लागि साझा खतरा बनेको कोभिडका विरुद्ध एकतावद्ध भएर लड्नुपर्ने विन्दुमा पुगिसकेको छ, तर अमेरिका कोभिडलाई कम्युनिस्ट देश चीन विरुद्ध प्रहार गर्ने अस्त्रका रुपमा मात्रै अझै अपव्याख्या गर्न पछि परिरहेको छैन । राष्ट्रपति डोनल्ड ट्रम्पले अब कोभिड विरुद्ध लड्न अमेरिका सक्षम रहेको सन्देश दिन सक्ने सम्भावना कमजोर हुँदै गएको छ, जबकि चीनले कोभिड १९ विरुद्धको प्रारम्भिक जनयुद्धमा शानदार विजय हासिल गरिसकेको छ ।

संसारको नक्शा बदल्ने कोभिड १९

सन् २०२० को सुरुवातमा नै कोभिड १९ को संक्रमण चीनमा सुरु हँुदै अन्ततः नियन्त्रण भएर युरोप अमेरिकालाई केन्द्रविन्दू बनाइरहेको छ । यसले संसारलाई एकै पटक आक्रमण गरेको छ । यो मानव जीवन विरुद्धको साझा शत्रु र चुनौति बनेको छ, जसका विरुद्ध युएनले भने जस्तै एक्लाएक्लै लडेर जित्ने संभावना नै छैन, बरु सामूहिक लडाईको विश्वव्यापी ऐक्यवद्धता आजको आवश्यकता हो । यसका लागि सूचना प्रविधिको उत्तर आधुनिक विकासले जसरी संसारलाई एक गाउँ बनायो, उसैगरी अब कोभिड १९ वा त्यस्तै नयाँ प्रकारका चुनौति सामना गर्न अब संसार एक ठाउँ, एक गाउँको नयाँ साझा विश्व विचारधारा लिएर संयुक्त प्रतिरोधमा उत्रनुको विकल्प छैन् । यसमा सुरुवाती चरणमा नै चीनले पाएको सफलताले उसलाई विश्वसामु संक्रमण विरुद्धको मुख्य शक्तिशाली लिडरका रुपमा पनि स्थापित गरिसकेको छ ।

यसका लागि प्रथमतः कोभिड १९ काल अर्थात नयाँ संक्रमणको युग सुरु हुनुपूर्वको विश्वको एकल शक्ति राष्ट्र मानिएको अमेरिका र उसका सहयोगी पश्चिमा देशहरुले संसारलाई हेर्ने र डिल गर्ने नीतिमा आमूल परिवर्तन गर्न आवश्यक छ । राजनीतिक दर्शन कम्युनिस्ट भएकै कारण अब अमेरिका र पश्चिमा देशहरुले चीनलाई अलगथलग गरेर वा चीनको शक्ति सामथ्र्य र प्रविधिलाई संसारले नजरअन्दाज गरेर कोभिड १९ विरुद्धको तेस्रो विश्वयुद्ध जित्न सक्ने अवस्था रहेन । बरु चीनको कोभिड १९ विरुद्धको सफल प्रयोग, प्रविधि र जनशक्ति उपयोग, सदुपयोग गर्न सक्नुपर्ने विन्दुमा सिंगो विश्व पुग्नु परेको छ ।

कसैले स्वीकार गरे पनि नगरे पनि २१ औं शताव्दीमा संसारको काल बनेर जब कोभिड १९ आयो, त्यसलाई परास्त गर्ने ताकत केवल कम्युनिस्ट देश  चीनले देखायो । चिनियाँ राष्ट्रपति सीले कोभिड १९ विरुद्धको लडाईलाई नयाँ परिवेशको नयाँ जनयुद्धका रुपमा आफ्नै कप्तानीमा आफै फिल्डमा खटिएर परास्त गर्न सके । देशको मूल नेतृत्व नै फिल्डमा उत्रिएर कोभिड विरुद्ध नयाँ प्रकारको जनयुद्धमा होमिएपछि चीन कोभिड १९ माथि विजय प्राप्त गर्न अपेक्षाकृत छिटो सफल भयो । भन्नेहरु र लेख्नेहरुले त भन्न, लेख्नै थालिसके कि अब बिसीको अर्थ बिफोर क्राइष्ट र आफ्टर क्राइष्ट होइन, बिफोर कोभिड र आफ्टर कोभिड हो । जहाँ किफोर कोभिड अमेरिकी र पश्चिमा दबदबा खेप्न विवस विश्व अब आफ्टर कोभिड चिनियाँ दबदबामा परिसक्यो । यसमा धरातलीय यथार्थ नै प्रमाणका रुपमा बोलिरहेका पनि छन् ।

कोभिड १९ विरुद्ध सफल चिनियाँ मोडेल

अहिले कोभिडको मुख्य केन्द्रविन्दू बनेका युरोपेली देश र अमेरिकाले यही चिनियाँ मोडेल, प्रविधि, एकतावद्ध प्रतिरोध र बलियो आत्मविश्वासबाट आआफ्ना देश र संसारलाई नै आश्वस्त र विश्वस्त पार्न सक्नुपर्ने अवस्था छ । अब कोभिड १९ अघिको युग अमेरिकाको थियो भने कोभिड १९ पछिको युग चिनियाँ युग भएको तथ्य व्यवहारले नै विश्वसामु स्थापित गरिसकेको तथ्य हो ।

जब चीनले कोभिड १९ लाई आफ्नो देशमा नियन्त्रणमा लिनसक्छ भने संसारबाट कोभिड निमिट्यान्न पार्न पनि उसले संसारलाई नेतृत्वदायी भूमिका र योगदान दिन सक्छ । किनभने चिनियाँ प्रविधि, स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री नै संसारको साझा शत्रु कोभिड १९ विरुद्धको नयाँ विश्व युद्धका लागि निर्विकल्प औजार वा हतियार हुन भन्ने अब स्थापित भइसकेको सत्य हो ।

त्यसैले मानवताविरुद्धको कोभिड १९ रुपी तेस्रो विश्वयुद्ध अब संसारले एकजुट भएर लड्ने लडाईं हो, यो बिना हतियारको लडाईं हो । यहाँ अब सेवा, सहकार्य र उदारताको मानवता नै मुख्य हतियार हो । सुरुमा चीनले एक्लै सामना गरेको यो युद्ध अब संसारले चीनको नेतृत्वमा मात्रै परास्त गर्न सक्नेमा दुई मत नहोला ।

 झिल्को टिप्पणी

Comments
Loading...