No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अग्रता लिँदै चीन, चुक्दै अमेरिका

  • 71
  •  
  •  
  •  
  •  
    71
    Shares

कोरोनाभाइरस महामारीले महाकालको मुख खोलिदिएकाले विश्वको यो समय राम्रो छैन । विश्वका दुई ठूला शक्ति अमेरिका र चीनबीचका सम्बन्धहरू यो अवधिमा राम्रो छैन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो भाइरसलाई ‘चिनियाँ भाइरस’ टिप्पणी गरे पनि तिनका बलिया विदेशमन्त्री माइक पोम्पेओले यसलाई ‘वुहान भाइरस’ भनी दिए । यस्ता टिप्पणीले चीनलाई आक्रामक बनाउनुपर्ने थियो, त्यस्तो देखियो ।

हुनत कोरोनाभाइरस चीनको वुहानमा पहिलो पटक देखा पर्नु अघिदेखि चीन र अमेरिकाबीच व्यापार युद्ध चलिरहेको थियो । एकले अर्काको उत्पादित वस्तुको पैठारीमा भन्सार महसुल थप्ने प्रतिस्पर्धा गरिरहेका थिए । कोरोनाभाइरस (कोभिड–१९) चीनको वुहानमा देखिएपछि अमेरिका र यसका सहयोगीहरूको काम चीनलाई उसको शासन प्रणाली विरूद्धको आलोचना गर्ने प्रचारबाजीमा रह्यो । कोरोनाभाइरसको उपचार खोज्नेतिर अमेरिकी शक्ति खर्चिएको देखिएन ।
कोरोनाभाइरसको महामारी फैलिन नदिन चिनियाँ राष्ट्रपति  सी जिनपिनको नेतृत्वमा आक्रामक रवैया अपनाउँदै यसलाई जित्न जनयुद्धको नारा अगाडि बढाइयो । साथै अमेरिकी आक्रमणको बचाउमा चिनियाँ सञ्चार माध्यम सजग रहेको देखियो ।

कोरोनाभाइरस फैलिरहेका बेला अमेरिका र चीनबीच भएको यो आरोप प्रत्यारोपमा व्यक्त भएका शब्दहरू मात्र शब्द नभएर आधारभूतरूपमा केही भइरहेको जनाउँछ ।

यो महिनाको शुरूमा अमेरिकाले युरोपेली युनियन, इटलीसमेतका देशहरूबाट आउने यात्रुमा रोक लगाउने घोषणा गरेका बेला चिनियाँ सरकारले कोरोनाभाइरस महामारी विरूद्धको लडाईंका लागि स्वास्थ्यकर्मी र आवश्यक आपूर्तिका समान युरोपेली देशमा पठाउने निर्णय ग¥यो । चीनले इरान र सर्बियामा पनि सहयोग पठाउने निर्णय ग¥यो ।

चीन कोरोनाभाइरससँग जुधेर अन्य देशलाई सहयोग गर्ने अवस्थामा पुगिरहेको बेला अमेरिकाले कोरोनाभाइरससँग जोगिने मापदण्ड अपनाउने विषयमा छलफल गरिरहेको देखियो ।

विद्यमान राजनीतिक नेतृत्वहरूले संकटका बेला समयलाई उपयोग गर्ने बाटोबाट उनीहरूको मूल्यांकन गरिनेछ । चीनले कोरोनाभाइरससँग आफूलाई बचाएर विश्वलाई बचाउन गरेको सहयोगले उसको मूल्यांकन समयले गर्नेछ ।

अमेरिका र चीनबीचको सम्बन्ध व्यापार युद्धका अतिरिक्त केही समय यता एसिया प्रशान्त क्षेत्रमा सैन्य शक्तिको उपस्थिति गराउने विषयमा भइरहेको प्रतिस्पर्धाले पनि बिग्रिदै आएको देखिएको थियो । एसिया प्रशान्तको क्षेत्रमा चीन कम्तिमा क्षेत्रीय शक्तिको रूपमा उदायो र यो क्षेत्रमा चिनियाँ सैन्य उपस्थिति उसको अधिकारको विषय भएको दर्शायो । क्षेत्रीय सन्दर्भमा यो हैसियत प्राप्त गरी सकेपछि चीनको स्थिति बलियो हुने भएपछि अन्तर्राष्ट्रिय हैसियतका आधारमा पनि एसिया प्रशान्त क्षेत्रमा उसको शक्ति बढ्नु र बढाउनु स्वाभाविक हुन्छ । यस्ता विषयमा भइरहेको प्रतिस्पर्धाले अमेरिका र चीनबीचको सम्बन्ध तनावपूर्ण रहेको देखिएको थियो ।

यो तनावपूर्ण सम्बन्धलाई महामारीको खतराको समयमा अमेरिका र तिनका सहयोगीहरूले  गरेका नश्लवादी अभिव्यक्तिहरूले गर्दा थप खराब बनाएको जो कोहीले सहजै बुझ्ने विषय हो । वुहानमा भाइरसलाई जितेर अर्थतन्त्रलाई फेरि जीवित पार्ने चिनियाँ भूमिकाले टुक्राटुक्रामा विभाजित भइरहेको विश्व अर्थतन्त्रलाई पुननिर्माणमा महत्वपूर्ण काम गर्ने विश्वास पलाएको छ ।

कोरोनाभाइरस विरूद्धको लडाइमा अनुभव गरेको सबैभन्दा ठूलो डेटा चीनले संकलन गरेको छ । साथै चीन चिकित्सा क्षेत्रमा प्रयोग हुने उपकरणको निर्माण गर्ने ठूलो उत्पादक देश पनि रहेको छ ।

विश्वलाई आवश्यक हुने आपूर्तिको ठूलो हिस्सा चीनले उत्पादन गर्न सकिने अवस्था देखिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पका आलोचना गर्नेहरूले चीनले अवसरलाई समातिरहेको भनिरहेका छन् । अमेरिकाले अवसर गुमाइरहेको भनिरहेका छन् ।

उनीहरूका अनुसार अमेरिकाले यो भाइरसको गम्भीरतालाई ध्यान दिन असफल भयो । ट्रम्प प्रशासकले ‘अमेरिका फस्ट’ नाराभित्रको प्रणालीगत सर्वोच्चतालाई विश्वको मञ्चमा वैश्विक नेतृत्व प्रदान गर्न चुकेको उनीहरूको भनाइ रहेको छ ।

बाराक ओबामा राष्ट्रपति भएका बेला पूर्वी एसिया तथा प्रशान्त मामिलासम्बन्धी विदेश सहायक मन्त्री कुर्ट एम क्याम्पबेल र रूस दोषीले अमेरिकाको वर्चस्व सात दशकदेखि विश्वको संकटमा खेल्ने सहयोगी र समन्वयकारी भूमिकाले गर्दा रहेको हालका एक आलेखमा उल्लेख गरेका छन् । अमेरिकाले महामारीप्रति विश्वको नेताको रूपमा जनाउनुपर्ने प्रतिक्रियामा चुकेको छ । यो ठाउँ उसले चीनलाई दिएको छ ।

चीनले जापान, दक्षिण कोरिया, युरोप र इरान लगायतका देशमा कोरोनाभाइरस विरूद्धको अभियानमा अपरिहार्य शक्तिको रूपमा उभ्याउन सकेको देखिएको छ ।

अमेरिका विश्वको शक्तिशाली देश बन्नुअघि त्यो स्थानमा बेलायत थियो । सन् १९५६मा स्वेज कनालसम्बन्धी विषयमा बेलायतले आफूलाई विश्वशक्तिको रूपमा भुमिका खेल्न चुक्दा त्यो हैसियत गुमाएको विश्लेषण अहिले भइरहेको छ ।

अमेरिकी नीति निर्माताहरूले स्वेज कनालका बेला बेलायत चुके झै कोरोनाभाइरस महामारी विरूद्धको लडाइँमा अमेरिका पछि परिरहेको उनीहरूले जनाएका छन् । अमेरिकी विज्ञहरूको यो चिन्ता र चासोलाई हेर्दा चिनियाँ पहल धेरै अगाडि बढिसकेको अवस्था देखिन्छ ।

चीनलाई आलोचना गरेर समय खेर फालेका चिनियाँ नीति निर्माताहरूका लागि समयको यो खाडल पुर्न त्यति सजिलो देखिदैन र छैन ।

Comments
Loading...