No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कोरोनाको भयावह अवस्थाबाट जोगिन घरमै बसौं

  • 1
  •  
  •  
  •  
  •  
    1
    Share

राजन भट्टराई
केही दिनदेखि सामाजिक सञ्जालमा एउटा स्टाटस धेरै नै भाइरल बनेको छ । ‘तपाई घरमा बस्ने की, आइसोलेसनमा बस्ने की, फोटो फ्रेममा बस्ने, रोज्ने जिम्मा तपाईको । यो स्टाटस जसले लेखेको भएपनि अहिलेको विश्वका लागि वास्तविक मात्र नभएर कोरोना जस्तो महामारीबाट बच्ने अचुक औषधि पनि हो । विश्व कोरोनाको चपेटामा छ । माहामारी फैलिएको छ । नयाँ नयाँ देशहरु यसको चपेटामा पर्दैछन् । दिनप्रतिदिन संक्रमित हरुको संख्या बढिरहेको छ र मृत्युदर पनि बढी रहेको छ । विश्वका सबै सरकारले आफ्नो क्षमता र दक्षता अनुसारको प्रयास जारी राखेका छन् । मानवीय हेलचेक्र्याईं र लापर्वाहीले महामारीले तिब्र गति लिइरहेको छ ।

पछिल्लो समय इटली विश्वमा सबैभन्दा बढी कोरोना प्रभावित बनेको छ । अमेरिकामा तिव्र गतिमा फैलिएको कोरोना नियन्त्रणका लागि अमेरिकी सरकारले आफ्नो सबै शक्ति केन्द्रीत गरेको छ । कोरोनाको अबको बाटो दक्षिण एसिया भएको विश्व स्वास्थ्य संगठनले पहिले नै प्रक्षेपण गरिसकेको छ । एक वा दुई देश मात्र नभएर कोरोनाको महामारीबाट बाहिर निस्कन विश्वलाई ठूलै सकस परिरहेको छ ।

भारतले २१ दिनका लागि पुरै देश लकडाउन गरेको छ । नेपालमा एक साताका लागि भएको लकडाउन अपेक्षाकृत सफल छ तर यतिले मात्र पुग्दैन । अब नागरिक सचेत हुने बेला आएको छ । पहिलो संक्रमित फेला पररे पनि निको भइसकेका छन् भने दोस्रो संक्रमित फेला परेको तेस्रो दिन अर्को संक्रमित फेला परेका छन् । भारतसँगको सिमाना बन्द भइसकेको अवस्थामा थोरै मात्र बुद्धिमानी गर्ने हो भने हामी अझै पनि सुरक्षित रहन सक्छौ । सरकारले कतार एयरमा आएका १ सय ५८ जनाको पहिचान गरि उनिहरु र उनिहरुको सम्पर्कमा रहेका सबैलाई क्वारेन्टाइनमा राख्न सके र नागरिक सचेत भए कोरोना विरुद्धको लडाईमा हामी सफलता प्राप्त गर्न सक्नेछौ ।

सरकारले विदेशबाट आउनेमा कडाई गरिदिएको भए अहिले सम्म हामी कोरोना मुक्त नै हुने थियौं । तर अब सरकारलाई गाली गरेर पनि हुनेवाला केही छैन । यो कठिन अवस्थामा आफैं सचेत हुनुको विकल्प छैन । अहिलेसम्म समय छ । आत्मसंयमित बनौं । लकडाउन तपाई हाम्रै लागि हो । यो सरकारका लागि होइन । केही समय घरभित्रै बस्दा कसैलाई कुनै हानी नोक्सानी हुदैन । तर हामीले अहिलेको समयलाई बुद्धिमानी पूर्वक प्रयोग गर्न सकेनौं भने भोली को अवस्था नियन्त्रण बाहिर नजाला भन्न सकिन्न ।

तपाईले विगतमा गर्न नभ्याएका र घर बसेर गर्नुपर्ने कामहरु थुप्रै छन् । परिवारका लागि राम्रो समय नदिनु भएको धेरै भइ सकेको छ । घरमा सँगै बसेर नखाएको, नानी बाबुलाई समय नदिएको, उनिहरुसँग रमाउन नपाएको धेरै समय भइसकेको छ । अहिलेको समयको सदुपयोग गर्नुहोस । तपाईले घरमा बसेर किताव नपढ्नु भएको थुप्रै भइसकेको छ । तपाई लेखपढमा रमाउनु हुन्छ भने तपाईले पढ्नु पर्ने थुप्रै किताबहरु छन् । तपार्ई लेखन कलालाई उजागर गर्न सक्नुहुन्छ । तपाईले प्रयोग गर्न जान्नु भयो भने यो समय तपाई जिवनकालको उत्कृष्ठ समय हुनेछ । कस्तो बनाउने तपाईको हातमा छ ।

तपाईलाई ध्यान कस्तो लाग्छ? यो लकडाउनको समय तपाईले ध्यान योग र साधनामा लगाउनु भयो भने तपाईको जीवनमा यो अमुल्य र अकल्पनीय समय हुनेछ । तपाईलाई योग ध्यान र साधनामा मन छ तर आयडिया छैन भने तपाईले चाहेको योग साधना र ध्यानका विधिहरु खोज्नका लागि तपाईलाई गुगलले सहयोग गर्नेछ । लाइभ भिडियोमा थुप्रै ध्यान सिकाउने गुरुहरु तयार हुनुहुन्छ । ध्यानले तपाईलाई नसोचेको परिणाम दिनेछ । यसको उपयोग गर्न सक्नुहुन्छ ।

लेख्नुस्, केही लेख्नुस् । तपाईको जीवनमा भएका विर्सिन नसकिने क्षणहरु, तपाईले गरेका राम्रा कामहरु, तपाईले गर्न नसकेका कामहरु, तपाईको जिवनमा आएका उतारचढावहरु लेख्नुस् । सक्नुहुन्छ पुस्तकको रुपमा लेख्नुस । सक्नुहुन्न भने लेखको रुपमा लेख्नुस् । यो काम तपाईका लागि निश्चय नै ऐतिहासिक हुनेछ ।

घरमा बसेर आफुलाई मन लाग्ने काम गर्नुस । त्यहाँ तपाईको सिर्जना हुन्छ । केही सिर्जनसिल काम गर्नुस । जुन कामले तपाईलाई जीवनमा सन्तुष्टी प्रदान गर्न सकोस । किनकी कतिपय कामहरु हामी आफ्नो रहर र चाहना नहुँदा नहुँदै बाच्नका लागि बाध्यताले गरिरहेका हुन्छौ र रहरका कामलाई पन्छाई रहेका हुन्छौ । यो समय तपाईलाई रहर लागेको तर गर्न नपाएको र गर्न नभ्याएको काम गर्ने समय हो । यसको सदुपयोग गर्नुस । यो सबै तपाई र तपाईको परिवारकै लागि हो ।

अहिलेको यो विश्वको संकटपूर्ण अवस्था तपाई र हाम्रा लागि मात्र होइन । कोरोनाको महामारीबाट विश्व त्रसित छ । दिन प्रतिदिन विश्व कहालीलाग्दो दलदलमा फस्दै जाँदैछ । यसको मुख्य कारण मान्छेले अनुसासन पालना नगर्नु नै हो । महामारीको बारेमा जानेर वा नजानेर घरबाट बाहिर निस्कनु नै हो । चीनपछि आज इटलीको अवस्था हेर्नुहोस । स्पेनको अवस्था हेर्नुहोस । अमेरिकाको अवस्था हेर्नुहोस । लकडाउनको अवस्था नमान्दा ती देशका नागरिकले भोग्नु परेको अकल्पनीय पीडालाई हेर्नुहोस र केही समय घरमा विताउनु होस ।
यदी तपाईले लकडाउनको पालना गर्नु भएन र बाहिर निस्कनु भयो भने निश्चय नै इटली स्पेन र अमेरिकाले व्यहोर्दै आएको विनास हामीले पनि व्यहोर्नका लागि तयार रहनु पर्नेछ ।

कोरोनाको लक्षणमात्र देखिए पनि अहिलेको अवस्थमा बाध्य भएर घरको क्वारेन्टाइनमा होइन अस्पताल र विभिन्न ठाउँमा बनाइएका अस्थायी क्वारेन्टाइनमा बस्नु पर्नेछ । त्यहाँ विरामीले कोही आफन्त र साथी भाईलाई भेट्न पाउने छैन । अझ शरिरमा कोरोना भएको पुष्टी भयो भने त आइसोलेसनमा नै बस्नु पर्नेछ । त्यहाँ चिकित्सकको निगरानी त रहने छ । तर अहिलेको हाम्रो स्वास्थ्य अवस्था तिर पनि ख्याल गर्नुपर्ने हुन्छ । राज्यको कमजोर तयारी र फितलो उपचार पद्धतीले पनि कोरोनाबाट बच्न आफै तयार हुनुपर्छ । आइसोलेसनमा राखिएका विरामीलाई कोही आफन्तले या साथीभाईले भेट्न पाउने छैनन् ।

यति मात्र होइन कोरोनाबाट मृत्यु हुनेलाई पनि परिवारका सदस्यले अन्तिम संस्कारका लागि भेट्न र छुन पाउने छैनन । सरकारले त्यस्ता मृतकको उचित व्यवस्थापन गर्नेछ । अहिले हामी कहाँ कोरोना बारे थाहा नपाएर लकडाउनलाई कफ्र्यु लगाए जस्तो मानिएको छ । बेलुका ५ बजेपछि सडकमा मान्छेहरु यत्रतत्र भौतारि रहेको देखिन्छ । प्रशासनले लकडाउन बुझेको अवस्था देखिँदैन । सडकमा प्रहरीको व्यवहारबाट नै त्यो थाहा हुन्छ । अनि सर्वसाधारणलाई पनि लकडाउन बारे जानकारी छैन । बुझाउन नसक्नु सरकारी कमजोरी हो ।

फितलो राज्य संयन्त्रको परिणाम हो । यदी हामीले अहिलेको लकडाउन मानेनौं भने भोलीका दिनमा त्यो अवस्था नआउला भन्न सक्ने अवस्था रहँदैन । किनकी कोरोनाबाट बच्न घरमा बस्ने बाहेक अर्को भरपर्दो विकल्प हुनै सक्दैन । विकसित राष्ट्रले गरेको प्रयास हामी गर्नै सक्दैनौ । किनकी उपचार पद्धतीदेखि हरेक तयारीका लागि हामी उनीहरुले गरे जति गर्न सक्दैनौं । त्यसैले आफु बच्नु र परिवारलाई बचाउनु अहिलेको सबैभन्दा ठुलो कुरा हो । अफवाहको पछि नलागौं । आत्मबल उच्च बनाएर सचेत बनौं ।

Comments
Loading...