No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अगामी जुलाईदेखि भारतमा विद्यालय संचालन हुने

  •  
  •  
  •  
  •  
  •  

भारतमा एकै दिन सर्वाधिक धेरै सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकै दिन देशभरि लागु गरिएको लकडाउनलाई थप खुकुलो पार्ने योजना अघि सारिएको छ । आगामी जुन ८ तारिखदेखि त्यहाँका कैयौँ क्षेत्रमा रेस्टुराँ, होटल, किनमेल केन्द्र तथा मठमन्दिर खुला गर्ने बताइएको छ । लकडाउन खुकुलो पार्ने तीन चरणको उक्त योजनाको यो पहिलो चरण हुने बताइएको छ । कोभिड १९ बाट भारत अहिले दक्षिण एशियामा सर्वा्धिक प्रभावित देश हो । सम्भवतः जुलाई महिनामा विद्यालय तथा कलेजहरूमा पठनपाठन सुरु गरिनेछ । तर धेरै सङ्ख्यामा सङ्क्रमितहरू भेटिएका स्थानहरूमा भने लकडाउन कडा नै रहनेछ ।

उक्त योजना त्यतिखेर सार्वजनिक भएको छ जतिखेर भारतमा एकै दिनमा ८,००० जनामा नयाँ सङ्क्रमण पुष्टि भएको छ । भारतमा हालसम्म पौने दुई लाख मानिसहरूमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ भने करिब ५,००० जनाको ज्यान गइसकेको छ । सवा अर्बभन्दा धेरै जनसङ्ख्या भएको भारतमा कोरोनाभाइरसको सङ्कट अन्य कैयौँ देशहरूको तुलनामा कम नै भएको पाइएको छ ।

केही सयको सङ्ख्यामा सङ्क्रमण भेटिनेबित्तिकै भारतभरि दुई महिनाभन्दा अगाडि कडा लकडाउन लागु गरिएको थियो । सरकारी विवरणहरूका अनुसार चाँडै लकडाउन गरिनाले भारतमा ३७ हजारदेखि ७८ हजार जनासम्मको ज्यान जोगिएको छ । तर अर्थतन्त्रमा लकडाउनको प्रभाव भने अत्यधिक परेको छ। दशौँ लाख श्रमिकहरूले सहरबाट ग्रामीण क्षेत्रमा रहेका घर फर्किन झेलेको कष्टपूर्ण यात्रा (कैयौँ त पैदल नै फर्किए) का तस्बिरले देशलाई स्तब्ध पारिदिएको छ । अधिकांश सङ्क्रमण थोरै राज्यका केही सहरी भेगमा केन्द्रित भएकाले अब लकडाउनलाई धेरै ठाउँमा खुकुलो पार्न सकिने स्वास्थ्य अधिकारीहरूले भनेका छन् ।

भारतभरिका सङ्क्रमणका सक्रिय सङ्ख्यामध्ये ८० प्रतिशतभन्दा धेरै जम्मा पाँच राज्यमा रहेको बताइन्छ। महाराष्ट्र, तमिलनाडु, दिल्ली, गुजरात र मध्यप्रदेशमा सर्वाधिक सङ्क्रमित छन् । साठी प्रतिशतभन्दा धेरै सङ्क्रमित मुम्बई, दिल्ली र अहमदाबादसहित पाँचवटा स्थानमा छन् । लकडाउन खुकुलो पार्ने भारत सरकारको तीन चरणको योजनाअन्तर्गत किनमेल केन्द्र, मठमन्दिर, होटल, रेस्टुराँ तथा अन्य अतिथिसत्कार सेवाका क्षेत्र ८ जुनबाट खुल्नेछन् (सामाजिक दूरी कायम गर्नका निम्ति मापदण्ड ल्याइनेछ)

राज्यहरूको परामर्शमा स्कूल तथा कलेजहरू सम्भवतस् जुलाईमा खुल्नेछन् । लागु हुने मिति नखुलाइएको तेस्रो चरणमा अन्तर्राष्ट्रिय यात्रा, मेट्रो सेवा, सिनेमा खेलकुद तथा व्यायामशाला खोल्न दिइनेछ। तर तत्कालीन अवस्थामा यो निर्भर रहनेछ । रात्रिकालीन कर्फ्यू लागु नै रहनेछ तर त्यसको समय छोट्ट्याइनेछ ( साँझ ७ देखि बिहान ७ को सट्टा राति ९ देखि बिहान ५ बजेसम्म) यी उपायहरू धेरै सङ्क्रमण भेटिएका क्षेत्रहरूका लागि भने लागु हुने छैनन् ।

प्रकाशित: १८ जेष्ठ २०७७, आईतवार ०६:४३
Comments
Loading...