No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भारतसँग हजारौं वर्षदेखिको सम्बन्ध जोगाउनुपर्छ

  • 146
  •  
  •  
  •  
  •  
    146
    Shares

ठाकुर पोखरेल ।

नेपाल भारत सम्बन्धको इतिहास हजारौं वर्ष अघिदेखि प्रगाढ थियो, प्रगाढ रहिरहनु पर्छ र प्रगाढ रहिरहनु पर्ने बाध्यता पनि छ । हाम्रा धर्म, संस्कृति, रितिरिवाज, भाषा, रोजीरोटी, वैवाहिक नाता सम्बन्ध लगायतका धेरै लहराहरू एक आपसमा फैलिएका छन् । एउटा लहरो चुँडाल्दा अरु धेरै लहराहरू ओइलाउने हुन्छ । समग्रमा भारत र नेपाल हिन्दू र बुद्धिष्टहरूको तपोभूमि हो, हाम्रा प्राचीन धर्म ग्रन्थहरुमा लेखिएका सबै देवीदेवताहरुको सबै रासलीला गर्ने ठाउँ सिङ्गो भारतवर्ष भित्र थियो । विश्व शान्तिका अग्रदुत सिद्धार्थ गौतमको जन्म (शाक्य राज्य) नेपाली भूमिमा भए पनि बुद्धत्व (ज्ञान,साधना) प्राप्त भएको भूगोल भारत हो , जुन ठाउँ अहिले बुद्द दया नामले प्रख्यात छ, हाम्रा पितृको नाममा पिण्ड चढाउन वर्षेनी हजारौं नेपाली धर्मालम्वीहरु काशी, गया, बृन्दावन पुग्छौं । धर्म शास्त्रहरुमा उल्लेख भए अनुसार हामी भारत वर्षेली नेपाली हौं । नेपाल र भारत धार्मिक, सास्कृतिक र रोजीवेटीको सम्बन्धको कारणले पनि टाढा हुन मिल्दैन ।
पारवहन लगायत स्वास्थ्य, शैक्षिक साथ सहयोग
नेपाल भुपरिवेष्ठित देश भएको कारण पेट्रोलियम पदार्थ आउने बाटोदेखि नून तेल, ग्यास समेत भारतको निर्भरतामा बाँचेका हामी नेपाली ! हामी बाध्य छौं भारतसँगको सम्बन्ध खटपट भयो कि नाकाबन्दी खप्नैपर्छ, बिस २०२७ देखि २०४५, २०७३ को कष्टकर नाकाबन्दीले तर्साएको छ, हामी आत्मनिर्भर छैनौं, पहिले २०४६ अघि ता राजालाई दोष दिन्थ्यौं ! अब ता जनताको शासनमा छौ भन्ने कुरा दलहरुले सिकाएका छन् तर खोइ ? अझै १४१ किसिमका अतिसम्वेदनशील, जीवन बचाउने औषधि भारतबाटै आउँछ, हाम्रा काङ्ग्रेस र कम्युनिष्टहरुले यो देशमा सत्ता राज गरेको ३० वर्ष पार भैसकेको छ, नेपालले आफ्नो क्षमता अगाडि बढ्न सकेको छैन ।

यहाँ पेट्रोलियम पदार्थदेखि सून हिरा(कालो र सेतो) मोती, नूनीला धाउहरुको पहाड नभेटिएका पनि होईन त्यसको उत्खनन, अबशेश गर्ने चाँसो देखाउँदैन किन ? नेपाल सरकारले आत्मा निर्भर हुने तिर वास्ता गरेनन्, कारण हो ब्यक्तिवादी चरित्र, धनाढ्य बन्ने होडबाजी, दलिय कुर्ची ताना तान,अनियमितता, चरम भ्रष्टाचारले समय र राष्ट्रको धुकुटी सखाप गर्दै सिङ्गो देशलाई नकाम बनाउँदै गए । नाकाबन्दी हुँदा साफ दुःख पाउने सर्बसाधारणले नै हो, यी देश र राष्ट्र घातीहरुको एउटा रौ पनि खर्च हुँदैन । शिक्षामा वर्षेनी सयौं स्कलरसिप र नेताहरुका बिग्रँदो अबस्थाका छोराछोरीलाई निःशुल्कमा पढाइदिने ठेक्का पनि भारतले गर्दै आएको छ । यी र यस्ता धेरै कारण नेपालले भारतसँग जोरी खोज्ने समय भएको छैन ।
राजनीतिक कारणले
हाम्रा राजनीतिक नेताजीहरु स्थायी ठेगाना नेपाल भए पनि जन्मिएको, हुर्किएको, राजनीतिक शिक्षा आर्जनदेखि काङ्ग्रेस कम्युनिष्ट पार्टीको जन्मिएको ठाउँ त्यही भारत हो । बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, पुष्पलाल, तुलसी लाल, लगायत भारतमा जन्मेका दर्जनौ नेताहरु नेपालबाट भागेर आश्रयस्थल बनाएका र काङ्ग्रेस र कम्युनिष्टका बिचारधारा भारतका राजनीतिक गुरुहरूले भराईदिएका र जन्माईदिएर अनुकुल वातावरणमा नेपालमा आन्दोलन गराएका हुन् भन्ने ईतिहासबाट बुझिन्छ । नेपालमा जनताहरु स्वतस्फूर्त उठेर राज्यव्यवस्थाको बिरुद्ध आन्दोलन भएकै छैन । बरु दश वर्षे जनयुद्धले गाउँ गाउँमा जनसत्ता खडा गरी सबै जाति भाषा र क्षेत्रका समुदायले स्वतस्फूर्त राज्यसत्ता उल्ट्याउने आन्दोलन गरेको (केही रणनीति सुरक्षा बनाउने देखि बाहेक) देखियो।

बिस २००७ देखि ०६२/०६३ सम्मका पटक पटकका आन्दोलन र व्यवस्था परिवर्तनमा अप्रत्यक्ष दिशानिर्देश गर्ने काम भारतीय नेताहरुले गरेका थिए । २०४६ को जनआन्दोलन गराउँदा भारतीय नेता चन्द्रशेखर स्वयम नेपालमा आएर काङ्ग्रेस र वाममोर्चाको संयुक्त भेला गराएका थिए(क्षेत्रपाटी, चाक्सीवारी गणेशमान सिंहको घरमा) भने माओवादी र तत्कालीन सातदल बीचको १२ बुँदे सहमति भारतीय भूमिमा गराएर २०६२,०६३ को जनआन्दोलनले सार्थकता पाएको हो, राजा ज्ञानेन्द्र र दलहरु बीच रस्साकस्सी गराउने भूमिमा भारतीय नेताहरु करण सिंह, सिताराम यचुरी लगायत भारतका तत्कालीन सत्तासिन प्रधानमन्त्री मनमोहन सिंहले र कङ्ग्रेसआईका नेतृत्वले दिएको दवाव कै कारण, साथ सहयोगबाट ज्ञानेन्द्र २३८ वर्ष देखिको राजसंस्थाको ईतिहास छोड्न बाध्य भएका थिए ।
आरोप प्रत्यारोप र अहिलेको नेकपा सरकार
अझ अगाडि गएर हेर्दा राजा महेन्द्रले २०१७ देखि लागू गरेको पञ्चायती व्यवस्थाका भरौटेहरुले काङ्ग्रेस र कम्युनिष्ट पार्टीहरुलाई अन्तर्राष्ट्रिय तत्वहरु भन्नुको कारण जन्माउने, हुर्काउने काम भारतले गरेकोले नै हो, स्वदेशमै बसेर स्वतस्फूर्त जनताको आन्दोलन भएकै छैन बरु माओवादी शसस्त्र युद्ध चाहिं गाउँगाउँमा समेत, विविध जाति भाषा धर्म र संस्कृतिका नागरिकहरुले गरेको (केही सुरक्षा रणनीति बाहेक) अनुभुति भयो । २०४८ को आम निर्वाचनमा काङ्ग्रेसले तत्कालीन एमालेलाई चिनियाँ तत्वहरु भन्थे, कम्युनिष्टहरुले काङ्ग्रेसलाई भारतीय दलाल भन्थे ।

तत्कालीन एमालेको नवौं महाधिवेशनबाट स्व. मदन भण्डारीले “जनताको बहुदलीय जनवाद“ पारित गराएर पछि आरोप प्रत्यारोप रोकिएको भए पनि २०५२ को राष्ट्रघाती महाकाली सन्धिको बिपक्षमा उभिएका बामदेव गौतम, सहाना प्रधान, सीपी मैनाली लगायतले माधव नेपाल, केपी ओली, झलनाथ लगायतकालाई भारतीय दलाल भन्दै पार्टी फुटाएर माले पार्टी बनाए र २०५६ को आमनिर्वाचनमा भाग लिए तर परिणाम जिरो आएपछि फेरि बामदेव गौतमसहित एमालेमा बिलय भएका थिए ।

अहिले ठिक त्यस्तै केपी ओलीले प्रचण्ड, माधव,झलनाथहरुलाई भारतीय दलाल, एजेण्ट, भरौटे शब्द प्रयोग गरेको पाईन्छ । महाकाली सन्धिमा राष्ट्रघात गर्नेहरु भित्रकै खड्गप्रसाद ओली एकाएक मौसमी राष्ट्रवादी करार भएका छन् भने दश वर्षे सशस्त्र जनयुद्धका सुप्रिम कमान्डर पनि सत्ता मोहमा लागेर कुर्ची हत्याउने नियत बनाएको कारण होला ? केपी ओली पक्षहरूले उनलाई पनि भारतीय दलाल नै बनाई दिएका छन् ।
आन्तरिक राष्ट्रियताको अभाव
“हिमाल,पहाड र तराई, कोही हुँदैनौं पराई“ यही भावनाले भारतसँगको सीमा विवादको बिषयमा सबै पार्टीले एक मतले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग हो भन्ने मत जाहेर गर्दै नक्सासहित संसदीय लोगो संसदबाट पारित गरेर एकता प्रकट गरिसकेका छन् । राष्ट्रियताको भाव प्रकट भैसकेको छ ।

अब भूमि फिर्ता गराउने काम सरकारको हो कुटनीतिक पहल गरेर सम्वाद थालिनुको सट्टामा कुर्ची जोगाउने र खोस्ने खेलमा सिङ्गो नेकपाका नेतृत्वहरु लागेको देखिन्छ । यो सरकारको कार्यशैलीसँग सिङ्गो नेपाली नागरिकहरु सन्तुष्ट हुने ठाउँ छैन । यो सरकार बनेदेखिनै चरम अनियमितता, भ्रष्टाचार, कालाबजारीहरुको बिगबिगी बढेको छ भने छिमेकी सम्बन्ध झनै बिगार्दै गएको छ । त्यस कारण पनि जति सक्दो चाँडो नयाँ बिकल्प सहितको राष्ट्रिय सरकार बन्नुपर्छ । आन्तरिक राष्ट्रियतालाई मजबुत बनाएर मात्र हाम्रा भीमकाय छिमेकीसँग मुकाबिला गर्न सकिन्छ ।

प्रकाशित: २६ असार २०७७, शुक्रबार ०८:३६
Comments
Loading...