No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वाइडेन कि ट्रम्प ? यस्तो छ मत सर्वेक्षण

  • 2
  •  
  •  
  •  
  •  
    2
    Shares

अमेरिकी मतदाताले आगामी नोभेम्बर २ मा डोनल्ड ट्रम्प र जो बाइडनमध्ये कसलाई आगामी चार वर्षका लागि ह्वाइट हाउस पठाउने भनेर निर्णय गर्नेछन् । रिपब्लिकन पार्टीबाट निर्वाचित राष्ट्रपति ट्रम्पसँग डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन प्रतिस्पर्धा गर्दैछन् । सन् १९७० को दशकदेखि राजनीतिमा सक्रिय बाइडन सन् २००९ देखि सन् २०१७ सम्म बराक ओबामा राष्ट्रपति हुँदा उपराष्ट्रपति थिए । निर्वाचन नजिकिँदै गर्दा मत सर्वेक्षण कम्पनीहरूले मतदाताहरूले कुन उम्मेदवारलाई रुचाएका छन् भनेर सोधिरहेका छन् ।

हामी यहाँ ती सर्वेक्षणबारे जानकारी दिनेछौँ। हामी तिनले कसले निर्वाचन जित्छ भन्ने विषयमा के कुरा स्पष्ट पार्न सक्छन् र के कुरा स्पष्ट पार्न सक्दैनन् भन्ने पनि बताउनेछौँ । राष्ट्रिय मत सर्वेक्षणहरूले उम्मेदवारको लोकप्रियता बुझ्न सघाउँछन्। तर तिनकै आधारमा निर्वाचनमा को विजयी हुन्छ भनेर पूर्वानुमान गर्न उचित हुँदैन । सन् २०१६ को निर्वाचनलाई उदाहरणार्थ लिऊँ । हिलरी क्लिन्टन मतसर्वेक्षणमा अगाडि थिइन्। डोनल्ड ट्रम्पले भन्दा उनले झन्डै ३० लाख बढी मत पाइन् । तर उनी पराजित भइन् । किनभने अमेरिकामा इलेक्टरल कलेज अर्थात् निर्वाचक मण्डल प्रणालीबाट निर्णय हुन्छ। त्यसैलै धेरै मत आउँदैमा निर्वाचन जितिन्छ भन्ने छैन । यो कुरा एकातिर राखौँ । देशव्यापी मतसर्वेक्षणहरूमा वर्षको अधिकांश समय डोनल्ड ट्रम्पभन्दा जो बाइडन अगाडि देखिएका छन् । केही सातायता ५० प्रतिशत मतदाताले उनलाई रुचाएको देखिएको छ। कहिलेकाहीँ त उनी १० अङ्कले अग्रता लिन्छन् । यसविपरीत सन् २०१६ मा सर्वेक्षणहरू त्यति धेरै स्पष्ट थिएनन् । निर्वाचनको दिन नजिकिँदै गर्दा बेलाबेलामा ट्रम्प र क्लिन्टनबीच केवल दुई प्रतिशतको भिन्नता देखिएको थियो ।
कुनकुन राज्यले निर्वाचनको छिनोफानो गर्छन् ?
गत निर्वाचनमा क्लिन्टनले मतको सङ्ख्याभन्दा स्थान महत्वपूर्ण हुने पत्तो पाइन् । अधिकांश राज्यमा सधैँ उसैगरी मतदान हुन्छ । अर्थात् केही सीमित राज्यमा दुवै उम्मेदवारसँग जित्ने सम्भावना हुन्छ । ती राज्यसँग कसलाई जिताउने र कसलाई हराउने क्षमता हुन्छ। तिनलाई ’ब्याटलग्राउन्ड स्टेट’ अर्थात् कडा प्रतिस्पर्धा हुने राज्य भनिन्छ । अमेरिकामा इलेक्टरल कलेज प्रणालीअन्तर्गत राष्ट्रपतिको चयन हुन्छ। सबै राज्यलाई तिनको जनसङ्ख्याका आधारमा केही मत दिइएको हुन्छ । यो प्रणालीअन्तर्गत निर्वाचक मण्डलमा कुल ५३८ मत हुन्छ । निर्वाचन जित्न उम्मेदवारले २७० मत बटुल्नुपर्छ । कडा प्रतिस्पर्धा हुने केही राज्यसँग अन्यत्रभन्दा निर्वाचक मण्डलको धेरै मत हुन्छ । तसर्थ उम्मेदवारहरूले प्रायः ती राज्यमा लामो समय निर्वाचन अभियान चलाउँछन् ।
कडा प्रतिस्पर्धा हुने राज्यहरूमा को अगाडि छ ?
अहिले ब्याटलग्राउन्ड भनिने राज्यहरूमा जो बाइडनको स्थिति राम्रो देखिएको छ । तर अझै समय बाँकी छ र स्थिति तीव्र गतिमा फेरिन सक्छ । झन् डोनल्ड ट्रम्प आफैँ संलग्न भएको निर्वाचनमा । सर्वेक्षणहरूका अनुसार मिशिगन, पेन्सलभेनिया र विस्कन्सनजस्ता तीन औद्योगिक राज्यमा बाइडनसँग ठूलो अग्रता छ। गत निर्वाचनमा त्यहाँ ट्रम्प एक प्रतिशतभन्दा कम मतान्तरले विजयी भएका थिए । तर सन् २०१६ मा ट्रम्प ठूलो मतान्तरले विजयी भएका ब्याटलग्राउन्ड राज्यहरूमा उनको निर्वाचन अभियान टोली बढी चिन्तित हुने देखिन्छ । आईअवा, ओहायो र टेक्ससमा आठदेखि १० प्रतिशत मतान्तरले उनी विजयी भएका थिए ।

तर अहिले तीनवटै राज्यमा बाइडन र ट्रम्पको उस्तै स्थितिमा देखिएका छन् । सर्वेक्षणले गर्ने सङ्केत अङ्कले ट्रम्पले किन जुलाईमा आफ्नो निर्वाचन अभियानका प्रबन्धक फेरे र उनी किन बारम्बार मिथ्या सर्वेक्षण भन्ने गर्छन् भन्ने बुझाउँछ । बाजी थाप्नेहरू अझै पनि ट्रम्पलाई पन्छाइहाल्ने पक्षमा छैनन् । अहिले पनि उनीहरू ट्रम्पले निर्वाचन जित्ने एकतिहाइ सम्भावना देख्छन् ।
के कोरोनाभाइरसले ट्रम्पको अङ्कगणितलाई प्रभाव पारेको छ ?
यो वर्षको आरम्भदेखि नै अमेरिकामा कोरोनाभाइरस महामारीबारे समाचार प्रमुखताका साथ प्रकाशित भएको छ। अनि राष्ट्रपति ट्रम्पको गतिविधिबारे दलगत आधारमा भिन्नभिन्न प्रतिक्रिया आएको छ । मध्यमार्चमा राष्ट्रिय सङ्कटकाल घोषणा गरेर राज्यहरूलाई कोरोनाभाइरस महामारी नियन्त्रण गर्न ५० अर्ब डलर उपलब्ध गराएपछि उनको लोकप्रियता उत्कर्षमा पुगेको थियो । त्यो बेला ५५ प्रतिशत अमेरिकीहरूले उनको कामलाई अनुमोदन गरेको इप्सस नामक मतसर्वेक्षण कम्पनीको तथ्याङ्कमा देखिन्छ ।

तर त्यसपछि उनले डेमोक्रेटहरूबाट प्राप्त समर्थन गुमाए । तर रिपब्लिकनहरूले समर्थन गरिराखे । ताजा विवरणअनुसार अहिले उनका आफ्नै समर्थकले दक्षिणी र पश्चिमी राज्यहरूमा कोरोनाभाइरस महामारी फेरि फैलिएपछि ट्रम्पले गरेको कार्यबारे प्रश्न उठाएका छन् । जुलाई महिनाको आरम्भतिर उनलाई रिपब्लिकनहरूको समर्थन झरेर ७८ प्रतिशत भएको थियो । यसले उनी किन कोरोनाभाइरससम्बन्धी विषयप्रति आशावादी छैनन् र स्थिति अझै बिग्रिन सक्ने चेतावनी दिइरहेका छन् भन्ने बुझाउन सक्छ । केही समयअघि उनले पहिलो चोटि मास्क लगाए अनि देशवासीहरूलाई पनि त्यसै गर्न आग्रह गरे । मास्क प्रभावकारी हुने भन्दै उनले सबैलाई राष्ट्रप्रेम देखाउन भने । यूनिभर्सिटी अफ वाशिङ्टनका विज्ञहरूले निर्वाचनको दिनसम्म अमेरिकामा मृतकको सङ्ख्या २,५०,००० नाघ्ने अनुमान गरेका छन्।
सर्वेक्षणहरू कति विश्वसनीय हुन्छन् ?
सन् २०१६ मा मत सर्वेक्षणहरूले गरेको सङ्केत मिलेन भनेर तिनलाई खण्डन गर्न सजिलो छ । राष्ट्रपति ट्रम्पले बारम्बार त्यसै गर्ने गरेका छन्। तर यो पूर्णतः सत्य हैन । अधिकांश राष्ट्रिय मत सर्वेक्षणहरूले हिलरी क्लिन्टन केही प्रतिशतले अगाडि भएको देखाएका थिए। तर यसको अर्थ उनीहरू असत्य थिए भन्ने हैन । उनले आफ्ना प्रतिद्वन्द्वीभन्दा ३० लाख बढी मत ल्याएकी थिइन् । सर्वेक्षकहरूले सन् २०१६ मा स्नातक तह उत्तीर्ण गरेका मतदाताहरूको प्रतिनिधित्व राम्ररी गराउन सकेका थिएनन्। तसर्थ कडा प्रतिस्पर्धा हुने केही राज्यमा ट्रम्पलाई हुने फाइदा पत्ता लाग्न सकेको थिएन । अहिले अधिकांश मत सर्वेक्षण कम्पनीहरूले यो गल्ती सच्याइसकेका छन् । तर यो वर्षको स्थिति कोरोनाभाइरस महामारीका कारण सामान्य अवस्थाको भन्दा अनिश्चित छ । अहिले अर्थतन्त्रमा परेको प्रभाव र मानिसहरूले नोभेम्बरमा कसरी मतदान गर्छन् भन्ने पनि अनिश्चित छ । त्यसैले निर्वाचन हुन धेरै दिन बाँकी भएकाले मतसर्वेक्षणहरूलाई शङ्काको दृष्टिले हेर्नुपर्छ ।

भिजूअल र डेटा जर्नलिजम टीम
बीबीसी न्यूज

प्रकाशित: ३० श्रावण २०७७, शुक्रबार ०८:०५
Comments
Loading...