No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

विकास र आधुनिकताका नाममा लोप हुँदै आफ्नोपन

  • 17
  •  
  •  
  •  
  •  
    17
    Shares

जुना खत्री ।
विश्व परिवेशसँगै नेपाली समाज पनि पछिल्लो समय आधुनिकता तिर ढल्किरहेको छ । समाजका हर कोेही व्यक्ती आफुलाई आधुनिक, सभ्य र सबै कुरामा अगाडी देखिन चाहन्छ । आधुनिक र सभ्य बन्न चाहन्छ । यस्तो चाहना सबैको मनमा आउला पनि । कुनै कारणवस कुनै व्यक्तीको मनमा त्यस्तो इच्छा जागृत भएन भने पनि उसले आफन्त, समाज र अरुलाई देखाउनेकै लागि भएपनि आधुनिक र सभ्य भएको देखासेखी गर्नुपर्ने अवस्था छ । देखाउन कै लागि भएपनि अरुले गरेको नक्कल गर्नुपर्ने बाध्यता छ । यदी यसो गरेन भने त्यो व्यक्ती वा परिवार समाजबाट अलग हुने सम्भावनाहरु बढ्दै गएका छन् । यो क्रम पछिल्ला केही वर्षहरुमा ह्वात्तै बढेर गएको दखिन्छ ।

हामी दिन दुई गुना र रात चौगुनाको रफ्तारमा आधुनिकताको दौडमा छौं । यो दौडमा हामीले सबै कुरा अरुको नक्कल गर्दै आएका छौं । व्यक्तिको जीवनमा मात्र होइन समाजमा चाहिने हरेक कुरामा अरुको सिको गर्दैछौं । अझ नजिकबाट भन्नुपर्दा हामी राम्रा कुरालाई भन्दा नकारात्मक कुराहरुको छिटो नक्कल गर्दैछौं । किनकी राम्रो कुराको सुरुवात कठिन छ । नराम्रो कुराको सुरुवात सहज र सरल छ । हामी सकेसम्म मेहनत नै नगरी आधुनिक र सभ्य बन्न चाहन्छौ । खानपान र देखावटीमा व्यक्तीको चरित्रको चित्रण गर्दछौं । धन सम्पत्ती र पावरको आधारमा सम्मान गर्दछौं । उसको शिक्षा र व्यक्तित्वको विकासलाई हामीले धन सम्पत्तीसँग जोडेका छौं । समाजमा उन्नती र प्रगती गर्नु भनेको धन सम्पत्ती आर्जन गर्नु, ठुलाठुला घर बनाउनु, महंगा गाडी चढेर हिड्नु जस्ता कुरा बुझिन्छ । एउटा उच्च शिक्षित, नैतिक चरित्रवान व्यक्ति भएपनि उसँग धन सम्पत्ती छैन भने हामी उसलाई तुच्छ सम्झिन्छौं । यो आधुनिक नेपाली समाजको मुख्य चरित्र नै बनिसकेको छ ।

हो, अहिलेको युगलाई विश्वव्यापीकरणतर्फ जाँदै गरेको आधुनिक युुग भनिन्छ । समाज पनि त्यसैतर्फ उन्मुख देखिन्छ । प्रविधिको विकाससँगै सूचनामा पहुँच सर्वश्रेष्ठ हतियारको रुपमा देखिन्छ । यस्तो समाजमा हरेक व्यक्तिले हरेक कुराको ज्ञान, सीप, अनुभव र शिक्षा लिनु पर्दछ । तर यसो भन्दैमा आफु, आफ्नो धर्म, संस्कार, रितिरिवाज, चालचलन, चाडपर्व, शिक्षादिक्षा, परम्परा तथा आफ्नो पनलाई चटक्कै विर्सिनुपर्छ भन्न सकिन्न । आफ्नो माथि विश्वास नगरेर अरुकोमा भर पर्नु भनेको आफ्नै खुट्टामा आफैंले बन्चरो हान्नु जस्तै हो ।

हामीलाई आफ्नै आफ्नो पनमा विश्वास छैन । हाम्रा सम्पदा र धरोहरमाथि विश्वास छैन । संसारका मान्छेहरु हाम्रो धर्म संस्कृति चाडपर्व रहनसहन हेर्न बुझ्न र अध्ययन गर्नका लागि नेपाल आउँछन । तर हामीलाई हाम्रा तिनै कुरामा विश्वास छैन । हामीलाई हाम्रो देशको शिक्षामाथि विश्वास छैन । हाम्रो धर्म संस्कृति, परम्परा, रहनसहन, रितिरिवाज चाडपर्व माथि विश्वास छैन । हामीले हाम्रो यस्तो अमुल्य सम्पत्तीलाई नकार्दै जाने हो भने आगामी पिँडीका लागि जिम्मा लगाउने हामीसँग कुनै कुरा बाँकी रहन्न । भोलीका सन्ततीलाई हामी को हौं भनेर चिनाउने आधार रहँदैन । हाम्रो परिचय नै रहन्न । जब हाम्रो परिचय नै रहन्न त्यो बेला हाम्रो सस्कृतिको मुल्य मान्यता र विश्वास केही बाँकी रहँदैन । जब धर्म र संस्कृति रहदैन हामी को हौं भनेर विश्वलाई चिनाउने कुनै कुरै हुँदैन हामीसँग । त्यो बेला हामी केवल परजिवीको रुपमा मात्र चिनिनु पर्नेछ र विश्वले हामीलाई धर्म संस्कृति र संस्कार नभएको समाजका रुपमा चिन्नेछ ।

अहिलेको नयाँ पुस्ताका लागि हाम्रो धर्म सस्कृति र रितिरिवाज अहिले नै अपरिचित हुन थालेको छ । नयाँ पुस्तालाई दशैतिहार भन्दा क्रिसमस रमाइलो हुन थालेको छ । नेपाली नयाँ वर्षभन्दा विदेशी नयाँवर्ष प्रिय हुन थालेको छ । नेपाली पहिरन पाखे र केही नजान्नेले लगाउने हुन थालेको छ । शुद्ध नेपाली लेख्न र बोल्नका लागि नेपाली भाषाका गुरु नै खोज्नु पर्ने अवस्था छ । नेपाली समाजका लागि यो साच्चिकै डरलाग्दो खतराको संकेत हो । यसलाई बेलैमा रोक्न सकिएन भने भोलीका दिनमा यसले हाम्रो अस्तित्वलाई नै संकटमा पार्ने कुरालाई नकार्न सकिँदैन । अरुको नक्कल गर्ने होडवाजीले समाजमा कस्तो नकारात्मक असर पारिरहेको छ भन्नेमा हामी अनभिज्ञ छैनौं । यसको मुख्य कारण भनेको नै अशिक्षा र गरिवी हो । हामी हाम्रा स्वदेशी हरेक कुरालाई विभिन्न बाहनामा खोट लगाएर पन्छाउँदै जान्छौं । मानवीय जीवनमा चाहिने हरेक कुरा आफ्ना पन्छाएर अरुकालाई अँगाल्ने बानी नै परिसक्यो । आफ्ना उत्पादन, आफ्नो क्षमता, आफ्नो गुणस्तरलाई सुधार गर्दै जानुको साटो आफ्नोलाई विभिन्न दोष लगाएर विदेशीलाई मायाँ गर्नुलाई हामीले सभ्य र आधुनिक मान्न थालेका छौं ।

हो, चरम राजनीतिकरण र सरकारी लापर्वाहीले मुलुकको शिक्षा पद्धती सन्तोषजनक छैन । त्यसलाई सुधार गर्दै लैजानुको साटो आफ्ना छोराछोरीलाई पढ्नका लागि विदेश पठाउँदा गौरव मान्ने अविभावकको समुह पनि कम छैन । शिक्षा लिनका लागि विदेश जानु नराम्रो होइन । शिक्षाको बाहनामा देशबाट पलायन हुनु नराम्रो हो । दक्ष जनशक्ती पलायन हुनु मुलुकका लागि सबैभन्दा ठुलो दुर्भाग्य हो । लामो समय विदेशमा बसेर आउनेलाई पनि देशमा समस्या नै देखिएको छ । सबैकुरा विदेशको बुझेको हुन्छ । आफ्नो ठाउँको सबै नयाँ । के गर्ने कसरी गर्ने भन्नेमा अन्योल नै अन्योल । नतिजा फ्रस्टेसन र डिप्रेसनको शिकार । काम नभएपछि आर्थिक संकट झेल्नु नै पर्यो । आफन्तबाट टाढिने र आफन्त टाढिने अवस्था पनि त्यहीँबाट सुरु हुने ।

मुलुकमा भएको सरकारी शिक्षालाई उपेक्षा गर्दाका परिणाम झनै भयावह छन् । भोलीका दिनमा शिक्षा करोडौं खर्च गर्न सक्नेका लागि मात्र हुनेछ । खर्च गर्न नसक्नेका छोराछोरीले चाहेको विषय पढ्न पाउने अवस्था त अहिले पनि छैन । सरकारले शिक्षा र स्वास्थ्यलाई निजी क्षेत्रको जिम्मा लगाउँदा शिक्षामा हुने खानेको मात्र पहुँच देखिएको छ । अहिलेका अधिकांस उच्च शिक्षाको अवस्था त्यही छ । जुन शिक्षाले तुरुन्तै काम पाइन्छ त्यस्तो शिक्षा सर्वसाधारणको पहुँचमा छैन । सर्वसाधारणको पहुँचमा भएको शिक्षाले प्रमाणपत्र त दिन्छ तर त्यो प्रमाणपत्र देखाउनका लागि मात्र हुन्छ, त्यसले न रोजगार दिन्छ न त कुनै सिप नै दिन्छ ।

हाम्रा अधिकांस सरकारी विश्वविद्यालयहरु त्यस्तै छन् । बजारको माग र सामाजिक सम्मान भएको शिक्षामा सर्वसाधारणको पहुँच नै हुन्न । फलस्वरुप समाजमा शिक्षित बेरोजगारको संख्या बढिरहेको छ । यसलाई सरकारले गम्भिरता पूर्वक लिने हो भने हाम्रो शिक्षा प्रणालीमा सुधार भएर सबैखाले शिक्षा सर्वसाधारणको पहुँचमा पुग्ने थियो । हरेक वर्ष शिक्षाका नाममा बाहिरिने करोडौं रुपैयाँ देशभित्रै रहन्थ्यो र त्यसलाई उत्पादन मुलक काममा वा गुणस्तर सुधारमा खर्च गर्न सकिने थियो ।

अव सरकारले शिक्षा र स्वास्थ्यलाई बढी प्राथामिकता दिनु पर्दछ । संस्कृति र संसकार जोगाउन हरेक घरलाई त्यसको संरक्षण र संवर्धनमा संलग्न गराउनु पर्दछ । राम्रो गर्नेलाई पुरस्कृृत गर्दै जानुपर्छ भने नराम्रो गर्नेलाई कडा दण्ड सजायको व्यवस्था गर्नु पर्दछ । सार्वजनिक शिक्षा र स्वास्थ्यलाई प्रत्येक व्यक्तिको पहुँचमा पुर्याउनु पर्दछ । जुनसुकै सरकार आएपनि शिक्षा र स्वास्थ्यलाई राजनीतिबाट टाढै राख्नुपर्दछ । यसो गर्न सकेमा मात्रै हामीसँग आगामी पुस्तालाई हस्तान्तरण गर्ने संस्कार युक्त संस्कृति बाँकी रहने छ । अन्यथा खोक्रो आधुनिकता र विकासका नाममा विनास मात्र हुने कुरालाई नकार्न सकिंदैन ।

प्रकाशित: ३१ भाद्र २०७७, बुधबार ०३:१०
Comments
Loading...