No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

५ कक्षामा ३ पल्ट भर्ना

  • 34
  •  
  •  
  •  
  •  
    34
    Shares
माेहनचन्द्र जाेशी ।
==============
२०६० सालमा म डोटी जिल्लाको निरौली नमूना गा. वि. स. को ना. सु. सचिव थिए। त्यतिबेला जनप्रतिनिधिको म्याद सकिएको र माओवादी समस्याको कारण सङ्कटकाल लागू भएकाले सचिवले जिल्ला सदरमुकामबाट गा. वि. स. को काम गर्नु पर्थ्यो। वास्तवमा सचिवको काम जिम्मेवारीपूर्ण मात्र होइन नयाँ कर्मचारीलाई तालिम नहुँदा कठिन पनि हुन्छ। म जानु अघि लक्ष्मीनगर गा. वि. स. का सचिव गणेश दत्त भट्टले निरौली गा. वि. स. को काम पनि हेर्नु भएको रहेछ। म उहाँसँगै बस्ने र भर्खर लोकसेवा पास गरेर गएको सिकारु सचिव भएकोले उहाँले लेखापढीको सबै काम आफैं गरेर मलाई दस्तखत मात्र गराउनु हुन्थ्यो।
एक दिन उहाँले भन्नुभएको एउटा घटना सुनेर अचम्म लाग्यो। शिक्षाका लागि खाद्य कार्यक्रमले बालिका शिक्षालाई प्रोत्साहित गर्न ५ कक्षासम्मका छात्राहरुलाई मासिक २ लिटर खाने तेल दिने रहेछ । सो तेलको कारण प्राथमिक कक्षामा छात्राहरुको भर्नादर बढेछ पनि। एक जना बालिका पढाइमा सार्है राम्री रहेछिन्। उनले ५ कक्षा उत्तीर्ण गरेपछि ६ कक्षामा भर्ना गरे मासिक २ लिटर तेल नपाउने भएकाले लगातार ३ वर्ष सम्म तेहर्याएर ५ कक्षामा अध्ययन गर्दै रहेछिन्। वर्षभरि मेहनत गरेर पढ्ने, शैक्षिक शत्रको अन्तमा आमाबाबुको दबाबमा अन्तिम परिक्षा छोड्ने र अर्को वर्ष पुनः ५ कक्षामा भर्ना भइ अध्ययन गर्नु पर्ने उनको बाध्यता बनेछ।
गा. वि. स. को सिफारिसमा जि. वि. स. ले छात्राहरुलाई दिने छात्रवृत्ति ती बालिकालाई उपलब्ध गराउन सके निजले ६ कक्षामा अध्ययन गर्ने अवसर पाउने अवस्था छ भन्ने कुरा भट्ट सरले बताउनुभयो। त्यसपछि ती बालिकालाई अभिभावक सहित सदरमुकाम बोलाएर हामी दुवै सचिवको प्रयत्नमा छात्रवृत्तिको व्यवस्था मिलाइ दिएपछि निजले ६ कक्षामा अध्ययन गर्न पाएकी थिइन्। वास्तवमा गरिबीको पीडा कति गहिरो हुन्छ र पदमा भएको मान्छेले असल नियतले गरेको सानो सहयोगले पनि कसैले खुशी पाउन सक्छ। राम्रो उद्देश्यले शुरु भएका कार्यक्रममा समेत यस्ता समस्या आउने रहेछन्।
अर्को योजनासँग सम्बन्धित घटना पनि सम्झिन्छु। निर्वाचित गाविस परिषदबाट पारित एउटा घोडेटो बाटो खन्ने कार्यक्रम थियो। उपभोक्ता समितिको अध्यक्षले सो कार्यक्रममा वर्षेनी पेश्की लिएर जाने, काम केही नगर्ने र पेश्की फर्स्यौटको कुरा समेत नगर्ने रहेछन। नयाँ सचिव आएको थाहा पाएपछि उहाँ ठूलो आशा बोकेर पेश्की उपलब्ध गराइ पाँउ भन्ने निवेदन लिएर मेरोमा आउनु भयो। मैले उहाँको कमाउ धन्दाको यथार्थ बुझेपछि पुरानो पेश्की फर्स्यौट नगरी थप पेश्की नपाइने जवाफ दिए। उहाँले हप्ता दिनसम्म सदरमुकाम बसेर मलाई मनाउने खुबै कोशिस गर्नु भयो। शुरुको दिनमा प्रशंसा, अनुरोध, लोभलालच र अन्तिम तिर डर त्रास, धाकधम्कीको तरिका अपनाउनु भयो। म कसै गरी नगले पछि भौतिक आक्रमणको चेतावनी दिएर उहाँ घर फर्किनु भयो। माओवादी समस्या चरमोत्कर्षमा भएको बेला जिल्लामा बस्दा यस्तो चेतावनीको अर्थ ठूलो भएपनि सरकारी रकम दुरुपयोग हुनबाट जोगाउन सकेकोमा मलाई चाहिँ खुशी लाग्यो।
प्रकाशित: ३ आश्विन २०७७, शनिबार ०३:३०
Comments
Loading...