No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

हजुरबुवा, स्केच र कमान्डर !

  • 355
  •  
  •  
  •  
  •  
    355
    Shares

स्लाघा गौतम ।

महेन्द्र राजमार्ग लमतन्न डोरी झैं टाँगिएको, त्यहीसँग टाँसिएको सानो बजार मंगलबारे । त्यहाँबाट सिधा माथि एक सानो गाउँ जहाँ हरिया खेतका फाँटहरुलाई चिर्दै मेरो घरसम्म पुगिन्छ । मेरो जीवनका थुप्रै वसन्तसम्म मैले त्यही गाउँको माटोमा बिताएको छु । हिउँद लाग्दा राजमार्ग सम्म धुलाम्य सडक मा स्कुल को कालो जुत्ता धुलो ले सेताम्मे हुँदै चौकमा पुगेर टकटक्याउँदा जीवनमा पुनः अर्कै बहार आए झैं लाग्थ्यो । बर्खा लागेपछि बाटोभरी हिलो र खाल्डाखुल्डीलाई छेल्दै राजमार्ग सम्म पुदा सानो एउटा युद्द जिते झैं लाग्थ्यो । मेरो जीवनका थुप्रै वसन्त यसरी नै गाउँ,सडक,बजार,स्कुल हुँदै बिताए

गाउँको नाम “सुनपकुवा”त्यही भएर होला मेरो कलेजको सुरुवाती दिनमा मेरा साथीहरुले मलाई जिस्काउँथे र भन्थे “तिम्रो गाउँ मा सुन पकाउने ठाउँ छ् ?”म हाँस्थें तर जवाफ दिँदैन थिएँ । जीवनभर एक आना सुनलाई स्पर्श गर्न नसकेका लाखौं गरिवीका रेखामुनी परेका मानिसको पक्षमा केही सोचेका छौ ? यो समय उनीहरुको बारेमा सोचेर केही गर्ने सोच बनाएका छौं भनेर पड्किएर मुखभरी जवाफ दिन मन लाग्थ्यो ।तर सत्य तितो हुन्छ । जो सत्य बोल्छ उ छुचो हुन्छ । त्यही भएर म उनीहरुको जवाफलाई हाँसेर टार्थें ।

मेरो हजुरबुवा २०२८ सालमा तेह्रथुमबाट बसाइँ सरेर त्यहाँ आउनुभएको रे त्यसपछि बाबा र काकाहरु त्यही ठाउँमा हुर्किनु भएको थियो । मेरो हजुरबुवा मेरो मेरो आदर्श हो । जीवनमा जे जति आदर्श, ज्ञान, दर्शन र राजनीति सिकें ति सबै मेरो हजुरबुवाबाट मैले सिकें । मेरो लागि हजुरबुवा चेतनाको खुल्ला विश्वविद्यालय हो जहाँ मैले जीवनउपयोगी शिक्षाले दीक्षित भएँ ।

जीवनमा जे जति आदर्श, ज्ञान, दर्शन र राजनीति सिकें ति सबै मेरो हजुरबुवाबाट मैले सिकें । मेरो लागि हजुरबुवा चेतनाको खुल्ला विश्वविद्यालय हो जहाँ मैले जीवनउपयोगी शिक्षाले दीक्षित भएँ ।

त्यो बेला पनि शिक्षालाई नजिकबाट बुझेका मेरा दूरदर्शी हजुरबुवाले कुनै छोराहरुलाई उच्च शिक्षाबाट बन्चित गराउनु भएन । त्यही भएर त अहिले छोराहरु देशमा उपल्लो तहदेखि अन्तर्रास्ट्रिय सस्थासम्म छाउनु भएको छ । यि सबै देन र योगदान त्यही चेतनाको विश्वविद्यालय हाम्रो घर र हजुरबुवा भन्दा फरक पर्दैन । कहिलेकाहीँ आजभोलि पनि सयौं माइल टाढाको बस्तीबाट हजुरबुवालाई जिस्काउँदै भन्छु “हामीलाई तपाईंले चेतनाको बिज छरेबापत तपाईंलाई सम्मानार्थ विद्यावारीधी दिनुपर्छ ।” हजुरबुवा अट्टाहस हाँस्नुहुन्छ । हजुरबुवाको त्यो हाँसो भित्र जीवनभर शीतल छहारी दिएर बिस्तारै पात झर्दै गरेको सतिसालको रुखको सुस्केरा झैं लाग्छ ।

म स्कुले जीवनदेखि नै म रङसँग खेल्थेँ । चित्रमा रङ भर्नु मेरो रुची थियो । मेरो गाउँमाथि बिहानै सुर्यको लालीले देखिएका अग्ला महाभाराको लमतन्न सुतेको डाँडालाई क्यानभासमा उतारेर मैले कैयन चित्रमा रङ भरेको छु । मेरो गाउँ वरिपरिको खुल्ला परिवेस मेरो लागि खुल्ला चित्रकलाको पाडशाला थियो । म सानैदेखि विश्व चर्चित स्पेनिश चित्रकार “पाब्लो”को कलाको भोको थिएँ । उनका चित्रकलाले मलाई लट्ठ बनाउँथ्यो । उनको कलामा जादु थियो जहाँ उनको चित्रले म कल्पनाको ठूलो सागरमा पौडन्थेँ र आफैं धरातलमा झसँग भएर झर्थेँ ।

त्यही भएर पनि होला मेरो गाउँ ले १० वर्षे जनयुद्दमा एक शीतल छहारीको काम गर्यो जहाँबाट उनीहरुले आफ्नो अनुकुल योजना बनाए र लागू गरे ।

मेरो चित्रकला को उर्जा र प्रेरणा मेरो हजुरबुवा हुनुथ्यो ! एक दिन गाउँ नजिकै लागेको पुराणमा कसैले भनिदिएछ ” त्यो सानी केटीले राम्रो रङ भरेर चित्र कोर्छे ।” हजुरबुवाले मलाई हातमा पक्रेर पुराणसम्म लग्नुभयो । मानिसहरुले मलाई घेरे र पुराणवाचकको तस्बिर कोर्न लगाए । मैले उनको चित्रमा रङ भरेँ र उनको चित्र हुबहु निकालिदिएँ । मानिसहरु दङ्ग भए र मेरो कलाको प्रसंसा गरे । पुराणको समापनको दिन मलाई निम्तो मात्र दिएनन् अझै पन्डितजीको जस्ताको तस्तै चित्र कोर्ने प्रतिभा भनेर ड्यासमै सम्मान गरे । चित्रले त्यहाँसम्म डोर्याएको मेरो पहिलो प्रेरणा थियो । शौखका लागि चित्र कोर्थें । जब म कुची र रङसँग खेल्थें तब मेरो मन हर्षले पुलकित हुन्थ्यो ।

मुलुक मा चलेको सशस्त्र द्वन्द्व र त्यसले निम्त्याएको बिषम् परिस्थितिहरुलाई मेरो बाल मनस्थितिले पनि बिस्तारै अनुभव गर्दै थिए । मानिसहरु त्राहिमाम जीवन बाँचिरहेको म एक सानी केटीलाईसम्म थाहा हुन थालिसकेको थियो । बिस्तारै सदरमुकाम हानिन थाल्यो, द्वन्द्व क्षेत्रका स्कुलहरु बन्द हुन थाले, घरबाट निस्किएर हिंडेको आफन्त घर फर्किन्छ कि फर्किदैन भन्ने सन्त्रासले मानिसहरु पिरोलिए । सरकार पक्ष अथवा बिद्रोही पक्षबाट हानिएको बुलेट कुन निर्दोषको एक मुठी सास कुन बेला जान्छ र सन्तान टुहुरा हुन्छन् भन्न कुनै ठूलो कुरा हुन छोडिसकेको थियो । एक अमूल्य मानिसको जीवन भुसुनो भन्दा सस्तो मरण हुनथाल्यो । एकै कोखबाट जन्मिएका दुई सन्तान निर्धारित लादिएको बाद र सिद्धान्तले आफू आफूमा रगतको उत्सव खेल्न पछि नपर्ने कहालीलाग्दो समय गुज्रदै थियो ।

“मान्छे भएर मान्छे जस्तै भएर जिउने सुनौलो बिहानको सपना खोज्न हिंडेका हौ”भन्ने कुराले मलाई भित्रसम्म पोल्यो । मलाई तत्काल सोध्न मन लाग्यो “के त्यसो भए अहिले हामीले बाचेको जीवन चाहिँ निस्सार र अर्थहिन जीवन हो र ?”

त्यो तमाम समस्याहरुबाट मेरो गाउँ अछुतो रहेन । अझ मेरो गाउँ त्यो समयका बिद्रोही भनिएकाहरुलाई सेल्टरका लागि सबैभन्दा सुरक्षित मानिएको थियो । सानो गाउँ, त्यो भन्दा माथि अनकन्टार जंगल र जंगल छिचोलिसकेपछि उनीहरुकै आफ्नै ईलाका । त्यही भएर पनि होला मेरो गाउँ ले १० वर्षे जनयुद्दमा एक शीतल छहारीको काम गर्यो जहाँबाट उनीहरुले आफ्नो अनुकुल योजना बनाए र लागू गरे ।

भाईटिका को दुई दिन अघी गाउँ झिलिमिली थियो ! सयपत्री र मखमली का फुलहरु दाजुभाइ र दिदीबैनी को समन्ध लाई प्रगाढ बनाउन आतुर देखिन्थे !साँझ को सन्नाट लाई चिर्दै एक हुल हाम्रो घर भित्र पस्यो ! हजुरबुबा ले भित्र बाट साउती मारेर भन्नुभयो ” फेरी आए बन्दुकधारी ” ! हजुरबुवा र हजुरआमा भित्र बिस्तारै गनगनाउन थाल्नु भयो ” काठमाडौं बाट आउने छोरी हरु लाई साचेर राखेको खानेकुरा सबै सकिने भयो ”!

उनीहरु मध्येको एक फेटावाल युवक, उनीहरुको भाषामा कमान्डर भनिने माथिल्लो तलासम्म आयो र हजुरबुवासँग गनथन गर्न थाल्यो । कती सुन्दर युवक, रातो फेटा खोलेर खाटमा राख्दै मैले उन्दै गरेको फुललाई खेलायो । मेरो डरको भावलाई बुझेर हजुरबुवा मेरो नजिक आएर बस्नुभयो मानौं एक गुँडमा बसेको बचेरालाई चिलले झम्टिँदैछ र उसकी आमाले चिलको आक्रमणबाट जोगाउँदै छे । बारुद धुँवाबाट आफ्नै देशका दाजुभाइको रगत लतपतिएर आएको त्यो युवकले मैले उन्दै गरेको फुललाई एक टहकले हेर्यो र हत्केलामा राख्यो । तर कती निर्दोष र निस्चल युवक ।

मैले त्यो उमेरसम्ममा कहिल्यै त्यति सुन्दर र निर्भिक युवक देखेको थिएन । भर्खरै २० बर्षमा टेक्दै गरेको जस्तो । ओठको माथि जुङ्गादारीको रेखी बस्दै मात्र गरेको तर बन्दुक र कठिन बाटो रोज्यो । कस्को छोरा होला ,किन त्यो कलिलो उमेरमा बम र बारुदको बाटो रोज्यो ? त्यो कलिलो उमेरमा किन बुर्जुवा शिक्षाबाट लादिएका पुस्तक भन्दै किताब र स्कुललाई लत्याएर खुकुरीको धारमा मृत्युसँग खेल्ने कठिन बाटो रोज्यो ……. यस्ता अनुत्तरित थुप्रै थुप्रै प्रश्न मेरो मनमा मैले गाँसिरहेको फुलको थुङ्गा जस्तै गासिए । हजुरबुवासँग राजनीति र अन्य थुप्रै कुरा कति मिठास भाषामा गर्यो ।

“मान्छे भएर मान्छे जस्तै भएर जिउने सुनौलो बिहानको सपना खोज्न हिंडेका हौ”भन्ने कुराले मलाई भित्रसम्म पोल्यो । मलाई तत्काल सोध्न मन लाग्यो “के त्यसो भए अहिले हामीले बाचेको जीवन चाहिँ निस्सार र अर्थहिन जीवन हो र ?” मेरो बालमनस्थितिले त्यति ठूलो प्रश्न गर्ने साहस त गर्न कहाँ सक्थ्यो र ……. ऊ बन्दुक बोकेर हिंडेको मान्छे । कुनै बाद र सिद्धान्तबाट परिचालित मान्छे अनी उसको आबेगको शिकार एक गोलीले म पुर्लुक्कै ढल्न के बेर । मैले बोलिन तर सुनिरहेँ, उसले हजुरबुवासँग थुप्रै कुरा गर्यो । उसको बोलीमा कति मिठास थियो जो आफ्नै छोरा झैं बुवा भनेर सम्बोधन गरिरहेको थियो ।

एक गाउँबाट अर्को गाउँ अर्को गाउँ काटेर जान उनीहरुलाई रात पर्खनु पथ्र्यो । त्यही भएर भोलिपल्ट राति मात्र अर्को इलाका जाने कुरा गर्दै थिए । भोलिपल्ट कसैले त्यही युवक कमान्डरलाई सुनाइदिएछ त्यो सानी केटीले सुन्दर चित्र बनाउँछे भनेर । फेरि म बसिरहेको बरन्डासम्म आयो र मेरो पनि चित्र कोरिदेउ न भन्यो । त्यो समय प्रत्येक बन्दुकधारीहरुलाई घर खुल्ला छोडिएको हुन्थ्यो । चाहेको बेला उनीहरु जहाँ र जुनै कोठामा निर्वाद आवाजजावत गर्न सक्थे मानौ उनीहरु पनि त्यही घरका एक सन्तान हुन् । ऊ निर्वाद म बसेको बरन्डामा आएर चित्र बनाउन भन्यो । हजुरबाले टाउको हल्लाउनु भयो र भन्नुभयो “बनाइदेन त । ” ऊ कुर्सीमा निर्भिक र अटल भएर बस्यो । कति सुन्दर युवक । उसका निल गगन मेरो आँखामा प्रतिबिम्बित भयो । चित्र बनाउनु भनेको क्यानभासमा उतारेको चित्रसँग डुब्नु हो । बस्तुसँग गहिरिएर अनुवाद गर्नु हो । नत्र चित्रले आकार लिदैन । लिएपनि चित्र खल्लो र चिसा हुन्छन् । ऊ यति अटल भएर बस्यो मानौं एक गहिरो तपस्यामा समर्पित हुँदैछ ।

कुर्सीमा बसेको उसको खुट्टामा लगाएको मोजा फाटेर औंला निस्कौंला झैं गर्दै थिए ! ऊ त्यो दृष्य मैले नदेखोस् भन्ने चाहन्थ्यो होला तर मेरो आँखा उसको खुट्टासम्म पर्यो । ऊ एक पटक थोरै झुक्यो र अनुहारको भाव थोरै रातो पारेर मुस्कुरायो । चित्रले एउटा आकार लियो रङले पोतियो । तल बसेका उसका साथीहरुलाई बोलायो र भन्यो कस्तो म जस्तै ठ्याक्कै । ऊ मुस्कुरायो ।

रङलाई केही समय सुक्न लाग्छ भनेपछि ऊ सुकाएर राखेको चित्रतिर एक नजरले टोलाएर बस्यो मानौ एक कैदीलाई रुँघ्ने प्रहरी कैदी भाग्छ भनेर निरन्तर आँखा नझिम्क्याइ हेरिरहेको छ । गोजीबाट एक सयको पुरानो नोट झिक्यो र भन्यो “तिमीले मेरो चित्र कोरे बापत को रकम हो । “

मलाई चित्रको बदलामा पैसा लिन कत्ति मन थिएन । मैले इन्कार गरें र हाँसेर पर्दैन भन्ने जवाफ दिएँ उसले जिद्दी गर्यो र हजुरबुवाले नि राख न त भनेपछि मैले उसले दिएको एक सय रुपैयाँ लिएँ र किताबको बीचमा राखेँ । किताबको बीचमा उसले दिएको पैसा राख्दै गर्दा यस्तो लाग्यो मैले पाएका सबै पुरस्कार, मेडल र प्रमाणपत्रहरु भन्दा कैयौं गुना मूल्यवान त्यो सय रुपैयाँ हो ।

साँझ झमक्क पर्न लागेको थियो । भाइटीकाको अघिल्लो दिन भएकाले गाउँ झिलिमिली थियो । उनीहरुको टोली हाम्रो घरलाई छोडेर अर्को ईलाका जाने तर्खर गर्दै थिए । सुक्दै गरेको चित्र लिन कमान्डर फेरि बरन्डासम्म आयो । भरिएको झोलाबाट एउटा मोटो किताब झिक्यो र उसको चित्रलाई पुस्तकको बीचमा लगाउन खोज्यो । पुस्तक भन्दा चित्र ठूलो भएकाले फेरि किताबलाई झोलामै हाल्यो र चित्रलाई जतन गरेर बेरेर झोला को साइड गोजीमा लगायो । आज सम्झिँदा त्यो मोटो किताब चर्चित रसियन लेखक म्याक्सिम गोर्की को नोबल पुरस्कार बितेजा उपन्यास “आमा” रहेछ । त्यो समय उनीहरु त्यो पुस्तकलाई एउटा आदर्श ठान्थे र पढ्थे ।

साँझको सन्नाटलाई चिर्दै उनीहरु बाटो लागे । भर्याङ् बाट झर्ने बेला मलाई ढाप मार्यो र चित्र बनाउन नछोड्नु तिम्रो चित्रमा जिवन्तता छ भन्ने सान्त्वना दियो र बाटो लाग्यो । तिहारको उज्यालोले चम्किलो भएको गाउँको उज्यालो बाटोलाई मैले बरन्डाबाट नजानिदो चालले उनीहरु देखिन्जेलसम्म हेरिरहेँ । ऊ हिंडेको बाटो हेरिरहँदा यस्तो लाग्यो मानौं घरको एक सदस्य अब कहिल्ये नफर्किने गरी टाढा जाँदैछ ।

उ गएपछि नजानिदो पाराले मैले उसको थुप्रै चासो र खोजी गरेँ । स्कुल जाँदा बाटोमा बर्दी लगाएर कुद्दै गरेका बन्दुक बोकेका मानिसहरुलाई देख्दा झस्किथें र उनीहरु बीच त्यही कमान्डरको उज्यालो अनुहार खोज्थेँ । तर उनीहरु त्यो समुहका नभएर त्यो समय उसलाई भेट्दा जाइलागेर निमेसभर मै एकमुठी प्राण लिने अर्कै बिपक्षी समुहका बन्दुक धारीहरु हुन्थे अनी मन कटक्क खन्थ्यो र चिसो हुन्थ्यो ।

थुप्रै पटक रातको चिसो मौसममा तुसारोलाई टेक्दै ठूला झोला र बन्दुक बोकेर गाउँको बाटो हिँडिरहेका मानिसहरुको ताँतीलाई कसैले नदेख्ने पाराले झ्यालको पर्दा उघारेर त्यही उज्यालो अनुहारलाई खोज्थेँ । तर त्यो ताँती मा त्यो मेरो चित्रको कमान्डरलाई कहिल्यै देखिनँ । प्रत्येक दिन बेलुकाको टिभीको समाचारमा सदरमुकाम जल्दै गरेको दृष्य र सैनिक, प्रहरी ब्यारेक अक्रमणले सत्तापक्ष र बिद्रोहीहरुको लमतन्न सुताइएका लासहरु देख्दा झस्किन्थेँ । मेरो आँखाले पहिलो पल्ट ति लासहरुमा त्यही कमान्डरको आकृतिलाई खोज्थ्यो र मन झस्किथ्यो । तर त्यो अनुहार कतै देखिनँ । बन्दुक बोकेर हिंडेको मान्छे बन्दुक आफ्नो आत्मासुरक्षाका लागि मात्र थिएन । समय र परिस्थितिमा उसले कसैलाई मार्न पनि सक्थ्यो र ऊ रगतले लतपतिन सक्थ्यो । तर मैले कहिल्यै उसलाई देखिनँ । उसले मेरो चित्रसँगै मलाई चिमोटेर गयो । मबाट मृगतृष्णा बनेर गयो ।

समय र परिस्थितिमा उसले कसैलाई मार्न पनि सक्थ्यो र ऊ रगतले लतपतिन सक्थ्यो । तर मैले कहिल्यै उसलाई देखिनँ । उसले मेरो चित्रसँगै मलाई चिमोटेर गयो । मबाट मृगतृष्णा बनेर गयो ।

उसले भनेजस्तै मैले मेरो चित्रकलालाई पेसा बनाउन सकिनँ । मसँग ठूलो चित्रको ग्यालरी छैन । रुमानी सपना बुनेर मैले मेरो सपना बदले र देश छोडे । सौखका लागि कहिलेकाहीँ रङ भर्छु । हिउँले असरल्ल छोपिएको सुन्दर “माउन्ट फुजी”त्यति सुन्दर छ । रङले पोत्छु तर खोइ किन हो त्यो सुन्दर हिमाल नि फिक्का र शून्य लाग्छ । रङहिन एउटा उदास अर्थहीन चित्र लाग्छ । प्रत्येक तिहारमा मेरो त्यो चित्र र त्यही सुन्दर कमान्डर याद बनेर आउँछ । उसले राजनीतिको बाटो बदल्यो कि के गर्यो मलाई आत्तोपत्तो छैन ।

कुनै युद्दबाट संयोगले बाँचेर राजनीतिक धारलाई समायो भने दलिय स्वार्थको राजनीतिमा चुर्लुम्म डुबेको होला । ठूला पद र सिंहदरबार दिवाल ताक्दो हो । सके माथिल्लो मन्त्री पद नसके सभासदसम्मको सपनामा कैयौं निर्दोष पुराना साथीभाइको रगतलाई बिर्सिसक्यो होला । युद्दकालमा सातु र पानी खाएर संघर्ष गर्दा गरीब गाउँलेहरुलाई दिएका बाचाहरुलाई चटक्कै भुलेर कुनै बिलासी राजनीतिको चङुलमा आफूलाई सर्बहारा जनताको नेता भन्दै चर्को भाषण गर्दो हो । दुस्मनको सामना गर्दा छातीमा गोली लागेर ढलेको आफ्नै साथीको रगत र लत्पतिएको हातमा आज अनौठो राजनीतिको बास्ना आउन थालिसकेको होला ।

या त बल र तागत हुन्जेल सिंहदरबारसम्म चढ्ने नेताहरुको भर्याङ् बनिसकेपछि अयोग्य साबित भयो र कुनै दातृ सस्थाले दिएको सानो रकम खाममा लिएर ब्यारेकबाट बिदा भयो होला । पाएको अलिकति पैसाले चुहिँदै गरेको घरको छानो टाल्यो होला । आमाको फाटेको सारीमा बजारबाट नयाँ एकजोर सारी फेरिदियो होला अनी बुवाको दौरासुरुवाल माथि अर्को कोट थपिदियो होला । आफैंसँग सँगै लडेका साथीभाइहरुको राजनीतिक गद्दारीको नमिठो गन्धले बिरक्तिएर निलो पासपोर्ट बोकेर खाडी पस्यो होला । ४० डिग्रीको ब्यग्र गर्मीमा बिरानो देशमा पसिना बगाउँदै ति पुरानो योगदान र युद्दका दिनहरुलाई सम्झिँदो हो र आकाशतिर फर्केर आफैंलाई थूक्दै देशको राजनीति र नेताहरुलाई धारे हात लगाउँदो हो ।

घरमा श्रीमतीलाई एकजोर तिल्लहरी किनिदिन हम्मेहम्मे पर्दा श्रीमतीको म्यासेन्जरमा आएको चर्को अक्रोसको सामनामा पुर्पुरोमा हात राखेर मैले के का लागि त्यो जनयुद्द लडेँ र रगत बगाएँ भनेर सोच्दो हो ।

घरमा श्रीमतीलाई एकजोर तिल्लहरी किनिदिन हम्मेहम्मे पर्दा श्रीमतीको म्यासेन्जरमा आएको चर्को अक्रोसको सामनामा पुर्पुरोमा हात राखेर मैले के का लागि त्यो जनयुद्द लडेँ र रगत बगाएँ भनेर सोच्दो हो ।

कतै दुर्भाग्यवश युद्दको समयमा बिपक्षीले हानेको ब्यालेटको घानमा पर्यो भने एक पटक ऐया पनि भन्न पाएन होला । मेरो रङले पोतिएको चित्र झोलाबाट झिकेर साथीहरुले रगत पुछिदिए होला र एक सलामी हात उठाएर अभिवादन गरेर कतै खाल्डो पुरियो होला । गाउँमा आमा चुहिँदै गरेको छानामुनी तकियाले आँशु पुस्दै भाइबैनीलाई सम्झाइन् होला “तेरो दाजु देशको लागि सहिद भयो भनेर”! अबोध भाइबैनीले सम्झे होला सहिद देशको राजा भन्दा नि ठूलो मान्छे होला भनेर । गाउँमा साथीभाइ भेला भएर सम्झे होला र भने इन्क्लाब जिन्दावाद ! उसको जीवन र योगदान यतिमै सकियो होला ।

प्रत्येक तिहारमा मैले त्यही कुर्सीमा बसेको एक निर्दोष अनुहार र मैले रङले पोतेको त्यही मेरो स्केचलाई सम्झन्छु । छोटो समयमा मलाई मेरो स्केचसंगै चिमोटेर कहिल्यै नभेट्ने गरी मृगतृष्णा बनेर हराएर गएको त्यो सुन्दर कमान्डर र मेरो चित्र कहाँ होला र कस्तो अवस्थामा होला ? अहिलेसम्म अनुत्तरित छु ।

लेखिका जापानको एक विश्वविद्यालयमा पर्यटन र उड्डयन बिषयकी छात्रा हुन् ।

प्रकाशित: ३० कार्तिक २०७७, आईतवार ११:०७
Comments
Loading...