No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बाडइनलाई सत्ता हस्तान्तरणमा विलम्ब हुँदा गुप्तचर निकायहरू चिन्तित

  • 3
  •  
  •  
  •  
  •  
    3
    Shares

पदमुक्ति र नयाँ नियुक्तिको शृङ्खला तथा अझै त्यसो हुनसक्ने हल्लाले अमेरिकी गुप्तचर र राष्ट्रिय सुरक्षा निकायहरूमा अन्योल उत्पन्न भएको छ । अरूलाई राष्ट्रपति डोनल्ड ट्रम्पले शक्तिमै बसिरहने प्रयास गरेको लागेको छ । तर ती निकायभित्र धेरै जना व्यक्तिगत प्रतिशोधका कारण त्यसो भइरहेको अनि द्वन्द्वको यो चरण ट्रम्पको राष्ट्रपतीय कार्यकालको चित्रण गर्न पर्याप्त भएको ठान्छन् ।

सत्ता हस्तान्तरणको सङ्क्रमणमा देखिएको यो अन्योल साँच्चै खतरनाक हुनसक्ने डर पनि छ । रक्षामन्त्रीसहित पेन्टागनबाट उच्च पदस्थ अधिकारीहरूलाई हटाउनु त्यसको आरम्भ भएको धेरैको मत छ । यीमध्ये केहीमा राष्ट्रपतिले आफ्नो कार्यकालको अन्त्यतिर आफूले चाहेअनुसार नीतिगत कुरा गर्न खोजेको अनि त्यसको विपक्षमा हुने व्यक्तिलाई हटाएको हुनसक्छ । तर केही पर्यवेक्षकहरूलाई यो दमित आक्रोशको परिणाम र लामो युद्धको अन्तिम कार्य हो भन्ने लागेको छ ।

अमेरिकाको राष्ट्रिय सुरक्षा समुदाय राष्ट्रपति ट्रम्पको कोपभाजनको निसानामा परेको छ। सुरक्षा निकायले नै आफूविरुद्ध षड्यन्त्र गरेको आरोप उनले लगाएका छन् । सन् २०१६ को निर्वाचनमा रुसले उनलाई सघाउन हस्तक्षेप गरेको भन्ने गुप्तचर समुदायको आकलन आफ्नो जितको वैधानिकताका लागि खतरा भएको ट्रम्पलाई लाग्यो।

उनले तत्कालै आक्रामक कदम उठाए अनि कहिल्यै रोकिएनन् । त्यस्तो आकलन गलत थियो भन्ने देखाउन उनले केही महिनायता सम्बन्धित सूचनाहरू सार्वजनिक गराउन ठूलो प्रयास गरिरहेका छन् । ह्वाइट हाउसले ट्रम्पसँग राजनीतिक सम्बन्ध भएका रिचर्ड ग्रेनेललाई नेशनल इन्टेलिजन्सको निर्देशक नियुक्त गर्यो ।

उनले ट्रम्पको इच्छाअनुसार काम गर्न खोजे पनि प्रतिरोध खेप्नुपरिरहेको छ । सीआईएकी निर्देशक जीना ह्यास्पेल पनि हटाइने सूचीमा परेको चर्चा छ । उक्त पदमा उनले सन्तुलित रूपमा काम गरेकी छन् । आलोचकहरू उनी ह्वाइट हाउससँग अतिनिकट भएको भन्ठान्छन् ।

उनीहरूका अनुसार ह्यास्पेल राष्ट्रपतिको ‘स्टेट अफ द यूनियन’ सम्बोधनका बेला देखा पर्नु र ताली बजाउनु त्यसको प्रमाण भएको उनीहरूको भनाइ छ । तर उनका समर्थकहरू ह्यास्पेलले सावधानीपूर्वक सीआईएलाई राजनीतिकीकरणबाट जोगाउन राष्ट्रपतिले गरेका उचित कुराको समर्थन गरेको तर्क गर्ने गरेका छन्। उनलाई हटाइयो भने कुनै राजनीतिक कार्यकर्ता उनको ठाउँमा नियुक्त हुनसक्ने उनीहरूको डर छ ।

अनि सन् २०१६ को निर्वाचनमा रुसले हस्तक्षेप गरेको विषयसम्बन्धी जानकारी सार्वजनिक गर्न उनले देखाएको अनिच्छाका कारण ट्रम्पका समर्थकहरू उनीसँग रिसाएका छन् । एफबीआईका निर्देशक क्रिस रेलाई पदबाट हटाउनु अझ बढी विवादास्पद हुनेछ । जो बाइडनका छोरा हन्टर बाइडनको वैदेशिक व्यापारिक सम्बन्धको छानबिन गर्न उक्त सङ्घीय निकायले नसकेकोमा ट्रम्प रिसाएको बताइन्छ ।

एफबीआईका तात्कालिक निर्देशक जेम्स कोमीले सन् २०१६ मा हिलरी क्लिन्टनका इमेलबारे गरेको सार्वजनिक घोषणाजस्तै एफबीबाईले फेरि केही गरोस् भन्ने उनको चाहना थियो । कोमीले त्यसो गरेपछि निर्वाचन अभियानको अन्तिमतिर क्लिन्टनलाई क्षति पुगेको थियो । नयाँ राष्ट्रपतिले प्रायः सीआईएका निर्देशकहरू फेर्ने भए पनि एफबीआईका निर्देशकको नियुक्ति १० वर्षका लागि हुन्छ ।

साइबरसिक्युरिटी एन्ड इन्फ्रास्ट्रक्चर एजेन्सी (सिसा) का प्रमुख क्रिस क्रेब्सको पद पनि सङ्कटमा परेको चर्चा छ । उक्त निकायले सञ्चालन गर्ने एउटा वेबसाइटले राष्ट्रपति र उनका समर्थकले निर्वाचनमा धाँधली भएको दाबी मिथ्या भएको बताएको थियो ।

अहिले नयाँ नियुक्ति र पदमुक्त दुवैप्रति चासो देखिएको छ । राजनीतिक व्यक्तिहरूलाई रक्षा मन्त्रालयमा उच्च पद दिइएको छ। नेशनल सिक्युरिटी एजेन्सी (एनएसए) का प्रमुख पल नाकासोनीको इच्छाविपरीत माइकल एलिसलाई जेनरल काउन्सेल अर्थात् मुख्य कानुनी अधिकारी नियुक्त गरिएको छ । यसबाट जो बाइडनले जनवरी २० मा राष्ट्रपतिको पदभार ग्रहण गरेपछि पनि राष्ट्रिय सुरक्षा प्रणालीमा भूमिका निर्वाह गर्न सक्ने मान्छे ट्रम्प पक्षले स्थापित गर्न खोजेको हो कि भन्ने आशङ्का उत्पन्न भएको छ ।

अथवा जाँदाजाँदै आफूप्रति बफादार व्यक्तिलाई पुरस्कृत गर्न खोजिएको पनि हुनसक्छ । नयाँ राष्ट्रपतिले तीमध्ये धेरैलाई हटाउन र नयाँ नियुक्ति गर्न सक्छन्। तर त्यसो गर्दा पर्ने प्रभावबारे पनि प्रश्न उठ्नेछ । पदासीन राष्ट्रपतिले निर्वाचनमा बाइडन विजयी भएको स्वीकार गर्न नमान्दा बाइडनले अमेरिकी सुरक्षा चुनौतीबारे स्वाभाविक रूपमा दिनहुँ पाउनुपर्ने गुप्तचरी सूचना पाएका छैनन् ।

यो अवस्था जति लम्बिन्छ राष्ट्रिय सुरक्षा हेर्ने नयाँ समूहले उति नै समस्या खेप्नुपर्ने हुनसक्छ । इरानजस्ता अरू देशले पनि यो अन्योलग्रस्त परिस्थितिको लाभ लिन सक्छन् । सत्ता हस्तान्तरणको सङ्क्रमणकाल जटिल भइदिँदा त्यसले राष्ट्रिय सुरक्षालाई प्रभावित पार्नेछ ।

सन् २००१ को सेप्टेम्बर ११ मा भएका घटनाबारे छानबिन गर्न गठित आयोगले बिल क्लिन्टनले जर्ज डब्ल्यू बुशलाई सत्ता हस्तान्तरण गर्ने अवधि छोटो भएकाले न्यूयोर्क र वाशिङ्टनमा रोक्न नसकिएको निष्कर्ष निकालेको थियो । सन् २००० को निर्वाचनमा पनि विवाद उत्पन्न भएकाले सत्ता हस्तान्तरणका बेला नयाँ टोली निर्माण गर्न र आवश्यक गतिमा काम गर्न कठिन भएको बताइन्छ ।

प्रकाशित: २ मंसिर २०७७, मंगलवार ०७:२३
Comments
Loading...