No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आउनुस्, जबजबारे बहस सुरु गरौं !

तसर्थ, जबजलाई छलछाम र जीतहारको विषय होइन, यो कम्युनिस्ट दृष्टिकोणबाट आएको विचार हो कि होइन भन्ने कोणबाट बहस गर्न जरुरी छ, अस्तु !

  • 300
  •  
  •  
  •  
  •  
    300
    Shares

मनहरि तिमल्सिना ।

आउनुस्, जबजबारे बहस सुरु गरौं !
०००००
जननेता मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) सोभियत संघको बिघटनपछि कम्युनिस्ट आन्दोलनमा देखा परेका चुनौतीहरुको सामना गर्ने एउटा बाटो थियो। तर, मार्क्सवादी र क्रान्तिकारी बाटो थिएन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एकताका बेला तयार पारेको राजनीतिक प्रतिवेदनमा जबज र एक्काइसौं शताब्दीको जनवाद दुवै दस्तावेजको पृष्ठभूमिबारे मात्र चर्चा गरेको छ। तर, कुनै पनि दस्तावेज ठीक कि बेठीक भन्नेबारे केही कुरा बोलेको छैन। दस्तावेजमा जबजको विकासमा मदन भण्डारी र एक्काइसौं शताब्दीको जनवादको विकासमा प्रचण्डको योगदान गरेको कुराचाहिँ स्पष्ट रुपमा उल्लेख छ।
नेपालको कम्युनिस्ट आन्दोलनमा जबज सफल रहेको दावी गर्नसक्ने बलियो आधार छैन। २०४९ देखि २०६३ को अवधिसम्म शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट सरकारको नेतृत्व गर्ने र जनप्रिय कार्यक्रम लागू गर्ने सोंच मनमोहन अधिकारीलाई अपवाद मान्दा सफलतामा पुगेको मान्न सकिँदैन। मनमोहन पनि अल्पमतको सरकारका मात्र प्रधानमन्त्री थिए। सत्ताका नेता थिएनन्। सत्ता सामन्ती तथा साम्राज्यवादी शक्तिहरुकै चंगुलमा थियो। यद्यपि, प्रतिकूलताका बिच कम्युनिस्ट आन्दोलनप्रति जनतामा विश्वास जित्न मनमोहनले जुन प्रयत्न गरे, त्योचाहिँ प्रशंसनीय नै मान्नुपर्छ।
नेपालमा २०४९ देखि २०६३ सम्म कम्युनिस्टहरुले बहुमत हासिल गर्न सकेनन्। जबजको प्रतिपादनका कारण होइन, २०५२ सालमा माओवादीले सञ्चालन गरेको जनयुद्धपछि नै नेपालको कम्युनिस्ट आन्दोलन एकपछि अर्को बलशाली बन्दै गयो। यद्यपि, संसदवादी कम्युनिस्ट धाराहरुको शुभेच्छा र सहयोगबिना जनयुद्धले पनि त्यो उत्कर्ष हासिल गर्न सम्भव थिएन। तसर्थ, यहाँनिर जनयुद्ध र शान्तिपूर्ण संघर्षका आयामहरुको अवमूल्यन गर्न मिल्दैन।
२०४९ सालमा जतिबेला भण्डारीले जबजको प्रतिपादन गरेका थिए, त्यतिबेला यसलाई कार्यक्रमको रुपमा स्वीकार गरिएको थियो। जबजलाई स्वयं मदन भण्डारीले संक्रमणकालीन कार्यक्रमका रुपमा स्वीकार गरेका थिए। तर, भण्डारीको रहस्यमय मृत्युपछि यसलाई कार्यदिशा हुँदै मार्गनिर्देशक सिद्धान्तका रुपमा विकसित भएको दावी गरियो। जबजमा भण्डारीले समाजमा वर्गहरुको अस्तित्व रहुञ्जेल वर्गसंघर्ष चलिरहन्छ, त्यस्तो वर्गसंघर्ष कसैको मनोगत आकांक्षाको उपज नभएर समाजमा विद्यमान वर्गहरुको संघर्ष र सन्तुलनको परिणाम भएको व्याख्या गरेका थिए। साथै उनले वर्गहरुको अस्तित्व रहुञ्जेल बलप्रयोग र वर्गीय अधिनायकत्व आवश्यक हुने कुरा स्वीकार गरेका छन्। मदन भण्डारीले २०४८ सालमा चितवनको बुद्धिजीवी भेलामा प्रस्तुत गरेको अवधारणापत्रमा त्यस्तो अधिनायकत्व राज्यसत्ताका रुपमा नै प्रयोग र अभिव्यक्त गर्नसकिने विचारसमेत प्रस्तुत गरेका छन्। तर, नेकपा एमालेको नवौं महाधिवेशनसम्म आइपुग्दा भण्डारीको दृष्टिकोण र विचार ‘रबरको टोपी’जस्तै आफूअनुकूल प्रयोग गर्न खोजिएको देखिन्छ।
आज जुन अन्तर्वस्तुलाई जबज भनिएको छ, त्यो भण्डारीले भनेको जबजको पूर्ण अन्तर्वस्तु होइन। भण्डारीले अघि सारेको विचार कति मार्क्सवादी छ भन्ने कुरा एउटा सवाल छँदैछ, त्योभन्दा महत्वपूर्ण भण्डारीकै विचारहरुको ‘ओरिजिनालिटी’ जीवित राखिएको छ कि छैन भन्ने सवाल छ। भण्डारीले कार्यक्रमका रुपमा प्रस्तुत गरेको विचारलाई मार्गनिर्देशक सिद्धान्तका रुपमा प्रस्तुत गर्नु, उनले स्वीकार गरेको वर्गसंघर्ष र बलप्रयोगको मान्यतालाई त्यागेर वर्गसमन्वयलाई आदर्शका रुपमा प्रस्तुत गर्नु, वर्गीय अधिनायकत्वलाई राज्यसत्ताका रुपमा परिभाषित गरे पनि अधिनायकत्व आवश्यक रहन्छ भन्ने विचारलाई तोडमोड गरेर निवर्गीय राज्यसत्ताको वकालत गर्नुजस्ता विषय भण्डारीका विचारसँग मेल खाँदैनन्। यसबारे भण्डारीकै समर्थकहरुले पनि हेक्का राखेको देखिँदैन।
भण्डारीले अघि सारेको विचार नेपालका सन्दर्भमा केही मौलिक हो। तर, कम्युनिस्ट सिद्धान्तको नयाँपन चाहिँ होइन। पुँजीवादी लोकतन्त्रकै विशेषताहरुलाई कम्युनिस्ट आन्दोलनमा भित्र्याउनु यसको ठोस विशेषता हो। जुन कुरा पुँजीवादी लोकतन्त्रको प्राण हुन्, त्यही कुरालाई जस्ताको तस्तै अनुशरण गरेर समाजवाद हुँदै साम्यवादको लक्ष्यमा पुग्न सकिँदैन। स्मरणरहोस्, पुँजीवादी खेल मैदान र खेलका नियमहरुभित्र रहेर समाजवादको झण्डा गाड्ने कुरा सुन्दा जति कर्णप्रिय छ, बाटो हेर्दा जति सजिलो छ, लक्ष्यमा पुग्न त्यति नै चुनौतीपूर्ण र असम्भवप्रायः पनि छ।
एउटा यथार्थ हामी सबैले स्वीकार्नैपर्छ – जबजले नेपालमा पुँजीवादी जनवादी क्रान्तिको विकासमा महत्वपूर्ण योगदान गरेको छ। सामन्तका विरुद्धको संघर्षमा यसको योगदान मौलिक छ। त्यस्तो योगदान जबजले मात्र होइन, सामन्ती निरंकुशताका विरुद्ध उभिएर नेपाली कांग्रेसले पनि गरेको छ। १२ बुँदे समझदारी, दोस्रो जनआन्दोलनमा सहभागिता र गणतन्त्रको घोषणामा साझेदारीजस्ता दृष्टान्तले नेपाली कांग्रेस पनि पुँजीवादी जनवादी क्रान्तिको एक हिस्सा भएको यथार्थता हामीले स्वीकार्नैपर्छ। त्यही हिस्साका रुपमा जबजको योगदान पनि स्मरण गर्नैपर्छ। सारांशमा नेपाली कांग्रेस पनि सामन्तवादविरोधी संघर्षमा भएकाले नेपालका संसदवादी वाम पार्टीहरुलाई पनि प्रतिस्पर्धाको बाटो हिड्न सजिलो भएको तथ्य हामीले बिर्सन मिल्दैन।
विश्व कम्युनिस्ट आन्दोलनका दृष्टिले भण्डारीको जबज मौलिक विचार होइन। सन् १९९१ मा सोभियत संघको बिघटनपछि नेपालमा अघि सारिएका कारण हाम्रा सन्दर्भमा यो मौलिक हुन गएको चाहिँ साँचो हो। विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरण, अझ स्पष्ट शब्दमा भन्दा कम्युनिस्ट आन्दोलनको पुँजीवादीकरण यो नै पहिलो प्रयोग होइन। सन् १८९४ मै दोस्रो अन्तर्राष्ट्रियका नेता मिलेराँले आफ्नो शक्तिशाली टुकडी लिएर फ्रान्सको संसदमा सहभागी भएका थिए। त्यसयता पूर्वी यूरोप र विश्वका दर्जनौं देशका कम्युनिस्ट पार्टीहरु पुँजीवादी निर्वाचनमा भाग लिएका छन्। समाजवादको झण्डा गाड्न प्रयास पनि गरेका छन्। तर, परिणाम कि त तिनीहरु पुँजीवादमै पतन भएका छन्, कि त साम्राज्यवादी शक्तिहरुको दमनको चक्रब्युहमा परेर निस्तेज भएका छन्। पछिल्लोसमय ब्राजिलसम्म आइपुग्दा साम्राज्यवादको खेलमैदान र नियमभित्र रहेर समाजवादको झण्डा गाड्न सकिँदैन भन्ने कुरा फेरि एकपटक दिनको घामझैं झर्लङ्ग भएको छ। तर, बिडम्वना आजको नेकपा पनि त्यही असफल बाटो हिँड्ने प्रयत्न गर्दैछ।
जनताको बहुदलीय जनवादको प्रयोगले नेपालको वामपन्थी आन्दोलनको रक्षा त भयो। तर, कम्युनिस्ट चरित्रकै आधारमा सत्ताको नेतृत्वमा रहन सम्भव थिएन र भएन। आज नेपालको कम्युनिस्ट आन्दोलन र नेकपा जुन हैसियतमा छ, त्यो जबजको योगदानका कारण मात्र सम्भव भएको होइन। एक दशकभन्दा लामो सशस्त्र क्रान्ति नभएको भए आज कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा हुन्थ्यो। देश संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको आवरणभित्र सामन्ती निरंकुशताकै खुनी पञ्जाभित्र हुन्थ्यो। यही नै आजको यथार्थ हो।
जनताको बहुदलीय जनवाद प्रयोगमा आएर पनि समाजवादको बाटोमा हिँड्न सम्भव भएन। त्यस्तै एक्काइसौं शताब्दीको जनवादको जुन विचार अघि सारिएको थियो, त्यो त अभ्यास नै नगरी स्थगित गरियो। सेनाको जननियन्त्रण र चक्रीय प्रणाली, राज्यसत्तामाथि हस्तक्षेप र नियन्त्रणजस्ता कुरा राज्यको शक्ति सन्तुलनमा निर्भर रहन्थ्यो। तर, पार्टीबाट सत्तामा प्रतिनिधित्व हुँदा चक्रीय प्रणाली, नेता–कार्यकर्ताको सर्वहाराकरणजस्ता अन्तर्वस्तुहरु माओवादी एक्लैले लागू गर्न सक्थ्यो। तर, लागू गरिएन र गर्ने रुचि पनि देखिएन। आज एउटै मान्छे दर्जनपटक मन्त्री हुँदासमेत असन्तुष्ट हुने परिस्थिति त्यसैको उपज थियो। २१ औं शताब्दीको जनवादको मूल्यांकन गर्ने अवस्था नै हामीकहाँ रहेन। किनकि, त्यो प्रयोग गरेको भए कि सफल हुन्थ्यो कि असफल। तर, हामीले त्यसको परीक्षण नै गरेनौं।
अन्त्यमा आज नेकपाको कार्यदिशा जनताको जनवाद हो, त्यो पनि समाजवादउन्मुख। संवैधानिक राजतन्त्रलाई स्वीकार्ने अन्तर्वस्तु बोकेको जनताको बहुदलीय जनवाद र गणतन्त्रको स्थापनापछि समाजवादको अन्तर्वस्तु बोकेको जनताको जनवाद एउटै कुरा होइनन्। कतिपय जनताको जनवाद भनिए पनि त्यसको अन्तर्वस्तु जबज नै भएको लघुताभाषमा रमाइरहेका छन्, जुन यथार्थ होइन। तसर्थ, जबजलाई छलछाम र जीतहारको विषय होइन, यो कम्युनिस्ट दृष्टिकोणबाट आएको विचार हो कि होइन भन्ने कोणबाट बहस गर्न जरुरी छ, अस्तु !
(स्मरणरहोस्, यो लेख होइन, फेसबुक स्टाटस मात्र हो। पार्टीले बहसको ढोका प्रारम्भ गरेको विन्दुमा बिना आग्रह पूर्वाग्रह यसमाथि गम्भीर वैचारिक बहस र मन्थन गरिनेछ, धन्यवाद।)
प्रकाशित: ७ मंसिर २०७७, आईतवार ०५:५१
Comments
Loading...