काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले खाडी मुलुकमा रहेका नेपाली दूतावासहरुले मागपत्र स्वीकृत नगर्दा समस्या परेको जनाएको छ । मंगलबार बसेको संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा संघका महासचिव सुजितकुमार श्रेष्ठले खाडी मुलुकबाट आएका मागपत्र सम्बन्धित देशका दूतावासबाट स्वीकृत नहुदा समस्या परेको बताएका हुन् ।
उनले कोरोनालाई देखाउँदै नेपाली दूतावासहरुले मागपत्र स्वीकृत गर्न आनाकानी गरिरहेको आरोप लगाए । वैदेशिक रोजगारका निम्ति आएका मागपत्रको प्रमाणिकरण नभए नेपालमा आएको माग पनि गुम्न सक्ने उनको भनाई छ । पर्यटक भिसालाई मात्र स्वीकृत हुँदा अन्य देशमा मावनतस्करी हुन सक्ने सम्भावना भएको उनले बताए ।
उनले मन्त्रिपरिषद्बाट नै बैदेशिक रोजगारलाई खुल्ला गर्ने निर्णय भएको भन्दै सम्बन्धित दुतावासबाट मागपत्र स्वीकृत गर्ने व्यवस्था मिलाउन आग्रह गरे । छलफलपछि यस बिषयमा परराष्ट्र र श्रममन्त्रालयसँग यसबारे जानकारी लिइने समितिले जनाएको छ ।