No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मेरो कलम

  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

मेरो कलम
मसँगै खेल्छ, मसँगै रमाउँछ, मसँगै उदास हुन्छ
अतीत सम्झेर मुस्कुराउन खोज्दछ
तर करेसाबारीमा बजेका पानीका थोपाले झस्काइदिन्छ
अनि बादल र बर्षात्का कथा लेख्न बाध्य हुन्छ ….
कलमको टुप्पोमा बसिदिने कोही भइदिए
मसी नै सिध्याएर भएपनि कोरिदिन्थेँ नि –
प्रेम र मिलनका कथा र कविता
अनि भञ्ज्यांगका चौतारीमा बसी तिनै कथा सुनाएर
आकाशमा उडेका चरीलाई जिस्काउथेँ नि …
एकदिन कलम साउती मार्दै बोल्दछ –
बरु सुकेको रुखमा पानी हाल
त्यसका वरपरबाट
नयाँ नयाँ विरुवा टुसाउलान्
तर हृदय शून्यहरूबाट के आशा गर्छौ ?
मसी सिद्धिएको बेलाका भ्रमित पलमा त –
आकाशतिर फर्किँदा
समुद्रमा डुबुल्की मार्दा
डाँडाको टुप्पोमा गएर कावा खाँदै गर्दा
ओढारमा बसेर आँखै चिम्लिँदा पनि
कामनामा आउँछन् परीहरू
कामनाका पल विताएका संगीहरू
लैजान खोज्दछन् त्यही दुनियामा
अनि झसंग हुन्छु
अनि फेरि लम्किन्छु –
डाँडाकाँडा, खेतमैदान र नदीकिनारमा …
खुला आकाशमुनि लम्पसार परेर
आकाशतर्फ फर्केर हेरेँ –
चन्द्र मुस्काइरहेको थियो
तारा चमचम गरिरहेका थिए …
उड्दै गएको ताराले सपना पनि साटेर गयो
कलमको टुप्पोबाट सपना सारेर लग्यो …
साटेका सपनासँगै
मेरो कलम निर्धक्क लेख्दछ –
हिजो अन्धकार थियो
भोलि उज्यालो छ
अतीत मृत्युको स्मरण मात्र
भविष्य जीवनको ज्योति ….
म मुस्काउँदै कलमको टुप्पो हेर्दै गम्न थालेँ –
मेरो कलम विश्राम लिँदैन
अनि कहिल्यै सुस्केरा पनि हाल्दैन
केवल लेखिरहन्छ –
मक्किएको डालीमा गुँड लगाएका चरीका व्यथाहरू
चुँडिएका फूलका सुगन्धहरू
जीवनयात्रीका रोचक कथाहरू
पथिकका जीवन्त सपनाहरू
लेखिरहन्छ … लेखिरहन्छ –
जीवनको मसी नसिद्धिउञ्जेल
ईश्वरको आदेश नआउञ्जेल …

डा. प्रदीप ढकाल ।

प्रकाशित: १० मंसिर २०७७, बुधबार १५:१४
Comments
Loading...