+

लागूऔषधसहित ललितपुरबाट दुई जना पक्राउ

१० जेष्ठ २०८३, आईतवार १७:४०

ललितपुर । ललितपुरको भोलढोकाबाट प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका वडा नम्बर ८ भोलढोकामा लागूऔषधको खरिद बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर ललितपुर मातहतको प्रहरी प्रभाग मंगलबजारबाट खटिएको टोलीले लागूऔषध कारोबार भइरहेको स्थानमा पुगेर सो कार्यमा संलग्न दुई जनालाई विभिन्न लागू औषधसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका स्थायी घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर ९ भोलढोका बस्ने २५ वर्षीय विजय स्याङ्बो र मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका वडा नम्बर ९ स्थायी घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर ९ गुईटोल बस्ने २० वर्षीया नीता शिवा रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट ३८२ ट्याब्लेट ट्रामाडोल र २७ ग्राम अवैध लागूऔषध गाँजा बरामद गरेको छ। लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा राखेर जिल्ला प्रहरी परिसर ललितपुरले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।