+

कार्यान्वयन र नतिजामुखी बजेट ल्याउँछौँः आर्थिक मामिलामन्त्री कार्की

१० जेष्ठ २०८३, आईतवार १९:४७

लुम्बिनी। लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमुखी, नतिजामुखी र व्यावहारिक बनाइने बताएका छन्।

लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा ‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री कार्कीले प्रदेशको आवधिक योजनाले निर्दिष्ट गरेका सङ्कल्प र प्रदेशसभा सदस्यहरूले दिएका सुझावका आधारमा बजेट निर्माण गरिने उल्लेख गरे।

उनले पर्यटन, उद्योग र रोजगारीलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याइने बताउँदै पुँजी तथा प्रविधिको विस्तारमा विशेष जोड दिइने जानकारी दिए। कृषि क्षेत्रको आधुनिकीकरण, प्राङ्गारिक उत्पादन प्रवर्द्धन तथा उत्पादनमा विविधिकरणमार्फत रोजगारी र आयआर्जन सृजना गर्ने नीति सरकारले लिएको उनको भनाइ थियो।

मन्त्री कार्कीले बजेटलाई प्रभावकारी र कार्यान्वयन योग्य बनाउने विषय सबैको साझा सरोकार भएको उल्लेख गर्दै कार्यान्वयनमा नवीनता ल्याइने बताए।

बैठकमा प्रदेशसभा सदस्य बैजनाथ कलवार, दिलकुमारी बुढा, तारा थापा, रेवती गुरुङ, चन्द्रकेश गुप्ता, मीना बुढामगर, शान्ति लोध, मीनाकुमारी श्रेष्ठ, मधुसुदनशरण चौधरी/कुर्मी, सुरुल पुन तथा वसन्ती न्यौपानेले विभिन्न विषयमा धारणा राखे।

छलफल सम्पन्न भएपछि सभामुख तुलाराम घर्तीमगरले ‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’ माथिको छलफल समाप्त भएको घोषणा गरे। प्रदेशसभाको अर्को बैठक जेठ ११ गते सोमबार दिउँसो १ः०० बजे बस्ने छ।