ठाकुर पोखरेल ।
अझ पनि भ्रमको खेती कहिले सम्म कमरेड ? पहिले जस्तै ”मुखमा चुनाव दिमागमा बिद्रोह” भने जस्तै भ्रम फेरि पनि ? अब पनि सर्वहारा बर्गको अधिनायकत्व र निजी सम्पत्तिको उन्मुलन संभव छ र ? एक्काईसौ शताब्दीको उत्तरार्द्ध मा अठारौ/ उन्नाइसौं शताब्दी तिर झर्न खोज्नु भ्रम मात्र भएन र ?
”हाम्रोमा ठूला भनिएका ३ दलका महाधिवेशन भर्खरै सम्पन्न भयो तर परिणाम पुरानै -”बिचार बहस र फेलियर नेतृत्व कै निरन्तरता” कायम रहिरह्यो ! अब के गर्दा सहि मार्ग होला त ?
नेपाली कांग्रेस:-
यथास्थितिवाद भन्दा बढी माथि उठ्न सकेन , त्याहाँ नयाँ पुस्ता बहुतै आशा र भरोसाका छन् , पुरानालाई बिस्तारै सहि बाटोमा ल्याउलान् कि भन्ने बुझाइ आम जनमानसमा बिशेष गरी नेतृत्व नयाँ पुस्तामा आउला त्यस पछि लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन्छ, सुशासन, सदाचार, बिधिको साशन संस्थागत हुन्छ, लोकतान्त्रिक समाजवाद उन्मुख राजनीतिक चरित्र काँग्रेस वृत्तमा भित्रिएको पाईन्छ भन्ने आसा पनि गलत सावित भयो । नयाँ बिचार बहस छलफल केन्द्रित नै भएन, मात्र बुढा नेताहरुलाई कसरी सेटिङ मिलाउने ? को कस्को कित्तामा उभिने ? उपलब्धि भ्रष्टिकृत रुपान्तरण तिर कै भएन त ? ईतिहास बोकेको भरपर्दो लोकतान्त्रिक पार्टी अझ कम्युनिष्ट हरुलाई समेत बेला बेलामा सच्याएर लैजाने दल भन्ने बुझाइ थियो तर काँग्रेसले आफ्नो परिचय भ्रष्टिकरण तिरै लतार्दै लगेको पाइयो ।
कम्युनिज्म आदर्श र सारमा :-
कम्युनिज्ममा सर्वहारा वर्गको अधिनायकत्व, वर्गविहीन सामाजिक व्यवस्था, शारीरिक र बौद्धिक श्रमका बीच समानता एवं राष्ट्र–राष्ट्रका बीच बन्धुत्वको भावना रहन्छ। कम्युनिज्मलाई समाजमा स्थापित गर्न चाहने, शोषण, दमन र अन्याय–अत्याचार एवं निजी सम्पत्तिको विरोध गर्ने, सामूहिक उत्पादन पद्धति, सामूहिक जीवन र समानतामा विश्वास गर्ने, मार्क्सवादी लेनिनवादी वैज्ञानिक विचार धारामा दृढ रहेको, सर्वहारावर्गको पार्टीको सामूहिक अनुशासनमा रहने क्रान्तिकारी लाई कम्युनिस्ट भनिन्छ। (मैले बुझेको)
खासगरि उत्पादनका साधनहरूको स्वामित्व सामाजिक हुन्छ, पब्लिक हुन्छ, त्यो स्टेटको होइन, पब्लिकको हुन्छ भन्ने कुरा हो।
”एमाले को महाधिवेशनमा पनि कुनै पनि राजनीतिक बिचार बहस उठेन – कस्ले कसलाई ठेगान लगाउने” कति सकिन्छ शक्ति प्रदर्शन देखाउने ! कति करोडको लागतमा शक्ति प्रदर्शन ? ” कम्युनिष्ट पार्टीको महाधिवेशन !
समाजवाद, साम्यवादको परिभाषाको कुरा। हामी त्यहाँ कसरी जान्छौं, त्यता जाने बाटो के हो ? भन्नेबारेमा पनि अब करिब–करिब विश्वस्तरमा एक खालको चाहिँ टुंगो लाग्यो भन्ने लाग्छ मलाई २१ औं शताब्दीमा आउदा सम्म। २० औं शताब्दीमा बहुत धेरै बहसहरू भए। अब त्यसका धेरै ठाउँका विद्रोह, क्रान्ति, तिनका सफलता, असफलताका अनेक चरणबाट त्यो गुज्रियो र २१ औं शताब्दीमा आउँदाखेरि अब करिब–करिब हामी मान्छेको, सचेत मान्छेको यो प्रयत्न। यो सचेत भन्ने कुराको बारेमा हामीले पछि छलफल गरौंला। त्यसबाट आउँछ र त्यो अझै एक लाइनमा भन्ने हो भने हामीले भन्ने गरेको लोकतान्त्रिक बाटोबाटै आउँछ। अबको समाजवाद, समाजवादतिर जाने बाटो, लोकतान्त्रिक नै हुन्छ।
शासकीय प्रणाली संदर्भ:-
शासकीय प्रणाली राजनीतिक क्रान्तिका निम्ति साधन मात्र हो, साध्य होइन। यस अर्थमा कुन देशले कस्तो शासकीय प्रणालीको अवलम्बन गर्ने ? त्यो कुरा देशको आन्तरिक विशेषता र भूराजनीतिक सम्बन्धले निर्धारित गर्दछ। हाम्रोजस्तो सानो मुलूक, जसले जातीय, भाषिक, सांस्कृतिक उत्पीडन र विविधतालाई सम्वोधन गर्न संघीय प्रणालीको अभ्यास गरिरहेको छ, त्यस्तो देशका निम्ति देशलाई एकताको सुत्रमा बाँध्न सक्ने बलियो केन्द्र चाहिन्छ। तर, त्यस्तो केन्द्र राजनीतिक रूपमा एकीकृत तर आर्थिक अधिकारका दृष्टिले बिकेन्द्रित मनोविज्ञान र प्रणालीमा आधारित हुनु पर्दछ। त्यसका लागि हाम्रो परम्परागत संसदीय प्रणालीमा संशोधन गर्नै पर्छ। त्यस्तो प्रणालीको बिकल्पमा नेपालले दुईवटा प्रणालीको अभ्यास गर्न सक्छ, पहिलोः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र दोस्रोः निर्वाचनमा दलहरूले प्राप्त गर्ने मत प्रतिशत मतका आधारमा सरकार र राज्यका विभिन्न तहमा समानुपातिक प्रतिनिधित्व छनौट। यी दुईमध्ये कुनलाई प्राथमिकता दिने ? यो विषय देशको आवश्यकता र शक्ति सन्तुलनले निर्धारण गर्ने कुरा हो।
भ्रष्टिकृत राजनीति र नयांँ पुस्ता:
आजकाे राजनीति पूर्णतया: निष्ठाच्यूत् , भ्रष्ट्रिकृत, उपभाेगवादमा लिप्त र पद लाेलुप भएकै कारण आम मानिसहरुले राजनीति कर्मीहरुलाई समकालीन नेपालमा घृणा गर्न थालेका हुन् । यस्ताे देख्दा पञ्चायतकाल देखिनै अराष्ट्रिय र व्यबस्था बिराेधीकाे आराेप खेप्दै लड्दै,भिड्दै बहुदलीय खुला राजनीतिमा पनि सकृय काम गरेका पुराना राजनीतिक दलका बुढा नेताहरुलाई अनौठो लाग्नुपर्ने होईन र ? लाज सरम लाग्नुपर्ने होईन र ? त्यत्तिकै ताजुवकाे बिषय शितयुद्धकालकाे धङधङि अझै नउत्रने गरि कांग्रेस र कम्युनिष्ट बृत्त भित्र हुने गरेका अराजनीति दन्तबझानकाे शिलसिला हेर्दा पनि लाग्दछ। भन्नलाई जे भनून, गरून् जति नै वादका फुरका गाँसिन तर नेपाली राजनीति यतिवेला मुख्यत: आदर्श, निष्ठा र उज्वल सपनाबाट च्यूत भएका छन् बरु विलाशी, उपभाेगवादी , आत्मकेन्द्रित र पद लाेलुप रहेकाे ध्रुबसत्य हाे । आफुलाई जीवनकाे पूर्वार्धतिरै निकै जाेशिला र क्रान्तिकारी भनेकाहरु समेत उत्तरार्धतिर आफु अनुकूलकाे ब्याख्या गर्दै जे जसरी पनि आफु र आफ्नो परिवारकाे सुरक्षाकाे जाेहाेमा लागेका तथ्य हाम्रा नजरले छर्लङ्गै देखेका छौं। कथित् अब्बल क्रान्तिकारीको रागमा उत्रेकाे देख्दा समयले तीनलाई झुटमुट सिकाएछ या क्रान्तिकारी आदर्श बाट लुटको खेती गर्ने गरायो ! आजकाे उपभाेगतावाद, पद लाेलुप, र ब्यापार मुखि राजनीतिमा काँग्रेस र कम्युनिष्टवृत्त दुबैबीच ठूलै भिन्नता भेटिदैन। मात्र जनमतका लागि शब्द जालमा फरक ! यी दलहरुलाई धेरै प्रश्न साेध्न मन लागेको छ- राजनीतिलाई समाज परिवर्तन, युग परिवर्तनको साधन ठानेका मार्क्स, लेनिन, माओ, हाेचिमिन्ह, नेल्सन मन्डेला, गान्धी, जय प्रकाश नारायणहरु, लि क्वान यू हरु बांचिरहेका भए तीनले समकालीन विश्व,भारत वा नेपालका राजनीतिक नेताहरू लाई के भन्दा हुन् ? स्पष्ट छ- उनीहरुले राजनीतिलाई बलिदानी र सेवा बाहेक अरुथाेक साेंचेकै थिएनन्। त्यी आदर्श पात्रहरु आजसम्म बाचेका भए यसो भन्ने थिए- राजनीति केका लागि गरिन्छ भन्ने नबुझ्नेभए ”बरु राजनीतिबाटै सन्यास लिईहाल” भन्ने थिए! छिमेकी राष्ट्र चिनियाँ राष्ट्रपति सि जिनपिङ को नेपाल भ्रमण हुदाँ औपचारिक कार्यक्रममा बोल्दै ”निजि सम्पत्तिका मालिक कम्युनिष्ट हुनै सक्दैन”
नेपालमा विडम्बना:-
नेपालमा आजकाे राजनीति दलालहरुको चंगुलमा फसेको छ। यसलाई अब एक दुईवटा ब्यक्ति बिशेष सँग जाेडिने मात्र होइन, कुनै वादकाे फूर्काेले हाेईन, सत्ता प्राप्त गर्न र निजी स्वार्थकै लागि राजनीति बराल्ने कार्यमा संलग्न काँग्रेस कम्यूनिष्टका बकम्फुसे गफलाई नयाँ चेतनाका युवाले स्वीकार गर्नैपर्दछ भन्ने बुझाइ गलत हो ! काँग्रेस, एमाले र माओवादी का भर्खरै मात्र सम्पन्न महाधिवेशन बाट के स्पष्ट हुन्छ भने यीनिहरु एकाइसौं शताब्दीको विश्व जनचेतना तिरको रुपान्तरण तिर भन्दा १८/१९ सौं शताब्दी तिरको फेलियर चेतनाका लागि नयाँ पुस्ता हरुलाई बरालिरहेका हुन ! ‘दरिद्र नेपाली र गरिब राष्ट्र नेपाल’ का लागि लागिपरेका हुन् कि भन्ने बुझ्न कठीन छैन ।
राजनीतिलाई नयाँ बाटोबाट सुधार्न सकिन्छ -:
राजनीति लाई सुधार गर्न कसरी सकिन्छ भन्ने यीनीहरुले चासो नै दिएका छैनन्। सुधार गर्ने हो भने बरु बैज्ञानिक मानवतावाद, समाजवाद र समतामूलक संस्कृतिले पदस्थापन गर्नु पर्दछ। हामीलाई फेरीपनि सेवा र समर्पणकै राजनीति स्थापित नगरी हुदैँन ! ‘राजनीति विशुद्ध समाज कल्याण र जन सेवाका लागि हो’ समानता समावेशीता र सहअस्तित्ववाद राजनीतिको सुन्दर पक्ष हो भन्ने बुझाउन सक्नुपर्छ । आजकाे जस्ताे शब्द जालकाे नाैटंकि र ब्यबहारवीचकाे घाेर विरोधाभास कार्यशैली वीच सच्चा राजनीति एक्छिन पनि फस्टाउनै सक्दैन। याे सत्यलाई नयाँ पीढिले ग्रहण गर्ना साथ जालझेल शब्दावली, नाराहरु र हुबहु रटानकाे स्वत : अबशान हुनेछ। राजनीतिकाे मूल उद्देश्य ‘राष्ट्सेवा र जनताकाे सेवा’ हो भने तथ्यमा कुनै अन्तर हुनेछैन।
निष्कर्षमा के गर्न सकिन्छ -:
संसदीय राजनीतिक प्रणालीमा राजनीतिक दलहरु भ्रष्टिकृत रुपान्तरण हुने र चरित्रमा स्पस्ट नहुने हुँदा नेपाली समाजको वनावट लाई यो संसदीय परम्परागत प्रणाली बाट समृद्ध नेपाल निर्माण असम्भव हुन्छ भन्ने तथ्य ३२ वर्षको भ्रष्ट्रिकृत अभ्यासमा भोगियो। इमान्दार राजनीतिक चरित्र बोल्ने दलहरु भएको मुलुकमा यो व्यावस्था ठिकै भए पनि यहाँ फेलियर सावित भैसकेको छ। यो ३२ बर्षमा नेपालका राजनीतिक दलहरुको निजी उद्योग नै संसदीय चरित्रको गलत अभ्यासबाट देशलाई भ्रष्टिकृत रुपान्तरण गर्ने तिर लगेका, राजनीतिलाई ”लाजनीति” बनाए । नयाँ पुस्ताले राजनीतिलाई बहुतै घिणृत नजरले बिष्लेषण गर्ने अवस्था सृजना भएको छ । तर पनि राजनीति बाहेक अरु माध्याम छैन सुधार गर्न – जसरी पनि सुधार गर्नैपर्दछ ।
त्यसका लागि हाम्रो परम्परागत संसदीय प्रणालीमा संशोधन गर्नै पर्छ। भ्रष्ट शैलीको फजुल निर्वाचन प्रणालि सुधार गरी प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक समावेशी प्रतिनिधित्व (जनसङ्ख्याको आधारमा) संसद सभा बनाएर नयाँ पुस्ताको खुला संलग्नता बाट समृद्ध नेपाल निर्माण हुन्छ। समुन्नत समाजवाद अर्थात् उच्च कोटिको लोकतन्त्र सम्भव हुन्छ ।