काठमाडौं । लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादनको कार्यक्रम सम्पन्न गरेको छ । परीक्षण उत्पादनका लागि हुवासिन सिमेन्टका चिनियाँ प्रतिनिधिसहित यहाँस्थित चिनियाँ दूतावास तथा प्रतिनिधिको सहभागिता थियो ।
उद्योगस्थल धादिङको बेनीघाट रोराङ गाउँपालिकाको ताल्तीमा आयोजित एक कार्यक्रममा विशेष समारोहको आयोजना गरी परीक्षण उत्पादनको प्रारम्भ गरिएको हो । हुवासिनका उच्च अधिकारी भने भिडियो लिङ्कमार्फत जोडिएका थिए । हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलका अनुसार उद्योगमा शनिबार विशेष समारोहको आयोजना गरिएको हो । उनका अनुसार पूर्णरूपमा व्यावसायिक उत्पादनका लागि भने थप दुई महिना लाग्नेछ ।
डिसेम्बरभित्रै परीक्षण उत्पादन थाल्ने भनिए पनि प्राविधिक तयारी बाँकी रहेकाले केही दिन ढिला भएको हो । नेपाली र चिनियाँ व्यवसायीको संयुक्त लगानी रहेको सो उद्योगमा गत कात्तिकको अन्तिम सातादेखि विद्युत उपलब्ध भएको थियो । उद्योगले प्रदूषण नियन्त्रणका लागि ध्यान दिएको जनाएको छ । ड्राइ प्रोसेस प्रविधिबाट उत्पादन हुने र विश्वमा हाल अत्यन्त प्रचलित फिल्टरलगायत इलेक्ट्रो स्ट्याटिक प्रिसिपिटेटर (इएसपी) जडान गरिएको छ।
आफ्नै गुणस्तरीय खानीबाट उत्पादित चुनढुङ्गाबाट क्लिन्कर र सिमेन्ट उत्पादन गर्ने उद्योगको दाबी छ । प्लान्टलाई प्रविधिमैत्री बनाइएको छ । अत्याधुनिक कम्प्युटर प्रविधि (सिसिआर)बाट उत्पादन प्रक्रियाको निरन्तर निगरानी गर्न सकिन्छ । अत्याधुनिक प्रयोगशालाबाट निरन्तर क्लिन्कर र सिमेन्टको गुणस्तर परीक्षण भइरहने एवं भर्टिकल रोलर मिल (भिआरएम) प्लान्टबाट सिमेन्ट उत्पादन हुने भएकाले गुणस्तर अधिक हुने बताइएको छ । भिआरएम अत्याधुनिक प्रविधि हो ।
यो हुवासिनको आफ्नै उत्पादन हो । उद्योगले दैनिक तीन हजार टन सिमेन्ट र क्लिन्कर उत्पादन गर्छ । अत्याधुनिक प्याकेजिङ प्लान्टबाट सिमेन्ट बोरा प्याकिङ हुने भएकाले लिकेज र ओस नलाग्ने उद्योगले जनाएको छ । वेस्ट हिट रिकभरीबाट करिब पाँच मेगावाट विद्युत् उत्पादन हुने उपमहाप्रबन्धक पोखरेलले जानकारी दिए ।
मस्र्याङ्दी–काठमाडौँ १३२ केभी प्रसारण लाइनबाट उद्योग परिसरसम्म बिजुली उपलब्ध गराइएको हो । नेपाल विद्युत् प्राधिकरणले सबै उद्योगमा क्षमताअनुसारको थप बिजुली माग गर्न र थप लोड स्वीकृतिका लागि अनुरोध गरिरहेको बेला सो उद्योगमा समेत लाइन जोडिइ सञ्चालनमा आएको छ । प्रसारण लाइनको निर्माण उद्योग आफैँले गरेको हो ।
त्यसका लागि मात्रै करिब रु एक अर्ब बराबरको खर्च भएको छ । निजी क्षेत्रले कोभिड–१९ कै बेला एक वर्षमै सबस्टेसन र १४ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नु आफैँमा महत्वपूर्ण रहेको पोखरेलको भनाइ छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग परिससम्म प्रसारण लाइन बनाउने नीति लिए पनि समयमा काम नहुने भएपछि हुवासिनले आफैँ सो संरचना तयार पारेको हो ।
कोरोना कहर, प्राकृतिक विपत्तिलगायत कारणले उद्योगको लागत बढ्न गएको छ । लगानी बोर्डसँग सुरुवाती सम्झौता गर्दा करिब १४ अर्ब ४० करोड बराबरको लागत रहने भनिए पनि विभिन्न कारणले लागत बढ्न गएको बताइएको छ । नेपालमा गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ बोर्डले प्रख्यात चिनियाँ कम्पनी हुवासिनसँग सम्झौता गरी काम अगाडि बढाएको थियो ।
अर्को चिनियाँ लगानीको सिमेन्ट उद्योग होङ्सीले पछिल्लो तीन वर्षदेखि नियमितरुपमा उत्पादन गरिरहेको छ । केही समयअघि सो उद्योगले नियमितरूपमा ३० मेगावाट बिजुली पाएको छ । त्यसबाट सस्तो मूल्यमा नेपाली बजारमा सिमेन्ट उपलब्ध हुनेछ ।
उद्योग सञ्चालनमा आएपछि नेपाली बजारमा अर्को गुणस्तरीय सिमेन्ट उपलब्ध हुनेछ । आर्थिक विकासको गतिमा अगाडि बढिरहेको मुलुकका लागि गुणस्तरीय सिमेन्ट उपलब्ध गराउनु नै आफूहरूको प्रमुख कर्तव्य रहेको पोखरेलको भनाइ छ ।
बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङबीच २०७५ असार ६ गते उद्योग स्थापनाका लागि सम्झौतापत्रमा चीनको राजधानी बेइजिङमा हस्ताक्षर भएको थियो ।
सम्झौतामा एक वर्षभित्र कारखाना स्थापना गर्ने भनिए पनि विविध कारणले समय समय लागेको हो । उद्योगमा ३५० जनाले प्रत्यक्ष र एक हजारले अप्रत्यक्षरुपमा रोजगारी पाउने बोर्डको अनुमान छ । विसं २०७४ मङ्सिर १२ मा हुवासिनलाई खानी विभागले धादिङको पानीखर्कमा खानी उत्खनन गर्न अनुमति दिएको थियो ।
खानीका लागि चिनियाँ प्रवद्र्धकले ६० करोड बराबरको लगानी गरेको थियो । खानीका लागि हालसम्मकै बढी खर्च गरिएको छ । खानी विभागले बोलपत्रका आधारमा बढी मूल्य भुक्तानी गर्ने कम्पनीलाई उक्त खानी दिएको हो । बोर्डका अनुसार २०७२ पुस ५ गते वैदेशिक लगानी भित्राउनका लागि सरकारले स्वीकृति दिएको थियो ।
नेपालमा हाल झण्डै ३५ लाख मेट्रिक टन सिमेन्टको माग छ । नेपालमा स्थापना भएका सिमेन्ट उद्योगको कूल जडित क्षमता ५५ लाख मेट्रिक टन पुगिसकेको भए पनि क्लिन्कर भने आयात गर्नुपर्ने अवस्था छ । विकास निर्माणका काममा बढोत्तरी हुँदै गएको तथा भौतिक पूर्वाधारमा लगानी बढिरहेको सन्दर्भमा आगामी दिनमा थप सिमेन्ट उद्योग स्थापना हुने देखिन्छ ।