केशवप्रसाद भट्टराई ।
१. रुडयार्ड किप्लिङ्ग साहित्यमा सन् १९०७मा नोबेल पुरस्कार प्राप्त एङ्ग्लो इन्डियन हुन् । पत्रकारिता, कविता , कथा, उपन्यास सवै विधामा श्रेष्ठता कायम गरेका उनको एउटा उपन्यासको नाऊ हो – किम ।
उपन्यास हो, तर जीवन संघर्ष, धर्म, दर्शन, संस्कृतिका साथै भारत, तिब्बत र मध्य एसिया क्षेत्रमा उन्डाइसौँ सताव्दीका विश्व शक्ति राष्ट्रहरू – बेलायत, रूस र फ्रान्सको अन्तर्राष्ट्रिय राजनीति, कूटनीति, रणनीति र गुप्तचरी अन्तर्गतका घात –प्रतिघातलाई आफ्ना अमर पात्रहरू मार्फत जीवन्त चित्रण गरिएको उपन्यास समेत हो किम ।
२. सो उपन्यासका एक पात्रले आफ्नो निष्कर्षमा भनेका छन् – जव दुनियाँमा कोही पनि मानिस बाँकी रहन्न, जब कुनै मुलुकहरू रहन्नन् तव मात्र राष्ट्रहरू माझको यस्तो भूराजनीतिक र भू रणनीतिक द्वन्द्व तथा घात –प्रतिघात अन्त्य हुन्छ । किमका पात्रहरू भारतका छन्, अफगानिस्तान र तिब्बत, सिन्जियाङ्गका छन् । बेलायत,रूस, फ्रान्स आदि मुलुककालागि काम गर्ने व्यक्तिहरू छन् । हिन्दु, मुसलमान,वौद्ध , ईसाई सवै छन् क्ष् सवैका धर्म र संस्कृतिका जीवन्त र जटील पाटाहरूको सुन्दर चित्रण छ ।
३. रुडयार्ड किप्लिङ्गको उक्त उपन्यासमा उत्तर तर्फबाट भारतमाथिको आसन्न सुरक्षा खतरा र त्यसका विरूद्धको ब्रिटिस भारत सरकारको रणनीतिका साथसाथै भारतीय राज्यहरू वीचका द्वन्द्व, ब्रिटिस भारत सरकारका स्थीरता चुनौतीहरू तिनमा वाह्य पक्षहरूको उपस्थिति र तिनलाई व्यवस्थापन गर्ने रणनीतिलाई पनि ग्रेट गेमको रूपमा चित्रित छ ।
४. मध्य एसियाको हालको स्वतन्त्र देश ताजिकिस्तान त्यतिखेर रूसको अधिनमा थियो र पछि सोभियत सङ्घको विघटन पछि मात्र उक्त मुलुक स्वतन्त्र भएको थियो ।
तात्कालीन ब्रिटिस भारत र रूसको सीमाना जोडिन नदिन तत्कालीन भारत र रूस वीच करीब तीन सय किलोमिटर लामो र करीव १५ किलोमिटर चौडा लाम्चो भारतीय भूभाग (कोरिडोर) त्यतिखेर स्वतन्त्र तर ब्रिटिस प्रभाव अन्तर्गतको अफगानिस्तानलाई ब्रिटिस भारत सरकारले दियो । वाखन कोरिडोर भनिने उक्त भूभागको पूर्वी कुनो चीनको सिञ्जियाङ्सँग जोडिन्छ । पामिर क्षेत्रको उच्च हिमाली भागमा चीन सँगसीमा जोरिएको उक्त कुनाको चौडाई ७४ किलोमिटर छ ।
यो वाखन कोरिडोर आज पनि ठूला शक्ति राष्ट्रहरूको भूराजनीतिक द्वन्द्वको केन्द्र बनेको छ ।
५. तत्कालीन सोभियत सङ्घ, चीनको संवेदनशील भूभागको रूपमा रहेको सिञ्जियाङ्ग, इरान र पाकिस्तानसँग सीमा जोरिएको अफगानिस्तानमा किन सोभियत सङ्घ र अमेरिका आए भन्ने प्रश्नको उत्तर भेटिन्छ । तत्कालीन भारतको (हाल पाकिस्तानमाथिको) एउटा महत्वपूर्ण कोरिडोर काटेर रूस र भारत वीचको बफरको रूपमा, सुरक्षित तटस्थ क्षेत्रको रुपमा अफगानिस्तानलाई ब्रिटिस भारत सरकारले दिएर बाँकी भारतलाई सुरक्षित राख्ने र उत्तरको एउटा ठूलो शक्तिसँग शान्ति खरीद गर्ने रणनीति अवलम्वन गरेको थियो ।
भारत र रूसको सीमा जोडिन नदिने निर्णय एकातिर र अर्को तिर चीन र भारतको वीचमा पहिलो लहरको त्यस्तो बफरको रूपमा तिब्बतलाई राख्यो र दोस्रो लहरको बफरको रूपमा भुटान, सिक्किम, नेपाल र काश्मिरलाई उपयोग गर्यो ।
बर्मा ( हालको म्यान्मार) मा पी ब्रिटिस प्रभुत्व थियो । समुद्रमा ब्रिटेन विश्वकै सर्वशक्तिमान राष्ट्र थियो त्यसैले समुद्र तिरबाट भारत सुरक्षित थियो । जमिनको हकमा अफगानिस्तानदेखि तिब्बत हुँदै भुटानसम्म बफरहरू खडा गरेर उसले आफूलाई सुरक्षित राख्यो ।
६. भारत आज पनि ठूलो समुद्री शक्ति हो । निर्णायक शक्ति हो । समुद्रबाट भारतमाथि आक्रमणको सम्भावना न्युन छ । र तिब्बतमाथि चीनको नियन्त्रण, काश्मिर र सिक्किममाथि भारतको नियन्त्रण र भारतको स्वतन्त्रतादेखिनै पाकिस्तानसँगको उसको असहज सम्बन्ध र भारत र तत्कालीन तिब्बतवीचको सीमा सम्झौतालाई चीनले मान्यता नदिएको स्थितिले आज चीन र भारतको ठूलो सीमा क्षेत्र बफरविहीन छ र दुई मुलकुकवीच सीमा युद्ध र झडपका स्थिति बारम्बार आएका छन् । अर्थात् जमिनको हकमा भारत त्यति सुरक्षित स्थितिमा नभएको उदाहरण प्रष्ट छ ।
आजको उन्नत र विकसित युद्ध प्रविधि र सामग्रीहरूको युगमा कुनै पर्खाल र पहाड सुरक्षा कवच होइन । त्यसैले खतरा चीनलाई पनि छ ।
७ . दुवै मुलुकको वीचमा संवेदनशील भू अवस्थितिमा नेपाल छ । हिजो चीन र भारत विश्व राजनीतिका ठूला शक्ति थिएनंन्, क्षेत्रीय शक्ति मात्रै थिए । आर्थिक शक्तिको रूपमा त छँदै थिएनन् । आज विश्वका प्रमुख शक्तिको रूपमा छन् । ठूला राजनीतिक, रणनीतिक र सैनिक शक्ति बनेका छन् । हिजोको तुलनामा नेपालको भू राजनीतिक र रणनीतिक संवेदनशीलता जटील बनेको छ । विश्वका दुई ठूला र शक्तिशाली राष्ट्रहरूको वीचमा रहेको नेपालमा अन्य ठूला शक्ति राष्ट्रहरूको चासो र सरोकार पनि बढी छ ।
८. भारत र चीन लगायतका ठूला शक्ति राष्ट्रहरूको रणनीतिक सरोकारलाई व्यवस्थापनगर्ने राजनीतिक, कूटनीतिक र. रणनीतिक क्षमता नेपालले देखाइरहेको छैन ।
ठूला शक्ति राष्ट्रहरू नेपालका राजनीतिक दलहरू, सरकारका प्रतिनिधिहरू, मिडिया, वौद्धिक समुदाय र नागरिक समाजमा मिसिएर आफ्ना रणनीतिक सरोकारहरू मुखरित गरिरहेका छन् । र यो स्वाभाविक हो ।
९. हिजो किममा उल्लेख भए अनुसारको ग्रेट गेम हिजो आज नेपालमा गम्भीररूपमा चलिरहेको छ । खेलिने गरेको छ । हामीले सक्ने भनेको आफू प्रभावकारी र विश्वस्त बफर बन्ने मात्रै हो । नेपालले भारत र चीनकोवीचमा प्रभावकारी बफर बन्नै पर्दछ ।
त्यो भनेको शान्ति क्षेत्र नै हो । शान्तिकोलागि आफ्नै भूभाग काटेर ब्रिटिस भारतले वाखन कोरिडोर अफगानिस्तानलाई दियो । अफगानिस्तानले ब्रिटिस भारतलाई स्थायी र घनिष्ट मित्रता दियो । वाखन कोरिडोरले रूस र भारतवीच सीमा द्वन्द्वलाई समाप्त पार्यो ।
कम्तीमा हामी हाम्रो कारणले भारत र चीनवीच द्वन्द्वको कारण नबन्ने सँस्थागतरूपमा आश्वस्त पार्न सक्छौँ । त्यस्तो सँस्थागत आश्वासन भनेको शान्ति क्षेत्र मार्फत नै हो !