+

दोहोर्याएर कोभिड हुने सम्भावना कति छ ?

१८ चैत्र २०७८, शुक्रबार ०६:५३

काठमाडौं । कोरोना महामारीको सुरुवाती समयमा कसैलाई दोहोर्याएर कोभिड सङ्क्रमण भएको धेरै कम मात्र सुन्ने गरिन्थ्यो । तर गत नोभेम्बरको अन्त्यतिर ओमिक्रोन भेरियन्ट देखिएपछि कोभिड सङ्क्रमण दोहोरिने गरेको पाइएको छ । किन धेरै मानिसलाई दोहो¥याएर कोभिड भइरहेको छ ? यसको एउटा पक्ष ओमिक्रोन भेरियन्ट आफै पनि हो ।

किनभने यसले पुराना भेरियन्टहरूविरुद्ध बनेका प्रतिरोधी क्षमतालाई दबाउन सक्छ । अर्को पक्ष सङ्ख्याको खेल पनि हो । हामीमध्ये धेरैजना कुनै न कुनै समयमा सङ्क्रमित भइसकेका छौँ। नयाँ सङ्क्रमणको बढ्दो दर धेरैलाई दोस्रो पटक हो । तर छोटो समयभित्र दुई पटक कोभिड सङ्क्रमण हुने सम्भावना ज्यादै कम रहन्छ । ओमिक्रोनको पछिल्लो भेरियन्टबाट पनि यस्तो हुने सम्भावना कम छ । अधिकांश मानिसहरू दोस्रो पटक भएको सङ्क्रमणबाट जटिल बिरामी पर्दैनन् ।
दोहोर्याएर कोभिड हुने सम्भावना कति छ ?
यो सम्भावना उच्च छ । किनभने हाम्रो प्रतिरोधी क्षमता घट्दै जान्छ र कोरोनाभाइरस उत्परिवर्तन भइरहन्छ । धेरै मानिसहरू कोरोनाभाइरसका अन्य स्वरूपहरूबाट सङ्क्रमित हुने जोखिममा रहेको ठान्छन् । जसले उनीहरूको जीवनमा धेरै पटक सामान्य रुघाखोकी मात्र निम्त्याउन सक्छ । तर महामारीको प्रारम्भिक चरणमा कोभिड यस्तो होला भन्ने आँकलन गरिएको थिएन ।

सन् २०२१ को नोभेम्बर अघिसम्म बेलायतमा एक प्रतिशत मानिसहरूमा मात्र पुनः सङ्क्रमण भएको विवरण थियो । त्यसपछि ओमिक्रोन फैलियो। यो त्यसअघि देखिएका कोरोनाभाइरसका अन्य स्वरूपहरूभन्दा धेरै भिन्न देखियो । यसको फरक स्वरूपले शरीरमा यसअघि सङ्क्रमणबाट बनेका प्रतिरक्षा शक्ति छल्न मद्दत गर्यो ।

त्यस कारण पनि पुनः सङ्क्रमणको दर यो वर्ष कोभिडको प्रारम्भिक चरणमा भन्दा १० गुणा बढी देखियो । ओमिक्रोन पनि भनिने बीए.२ स्वरूपले बेलायतमा सङ्क्रमणदर पुनः नयाँ विन्दुमा पुर्याएको छ । मार्च १९ अघिको एक सातामा हरेक १६ जनामा एक जनालाई कोभिड सङ्क्रमण भएको तथ्याङ्क छ । यो यसअघि क्रिसमस ओमिक्रोन भनिएको बीए.१ स्वरूपसँग मिल्दो भए पनि अझै बढी सङ्क्रामक छ । उपलब्ध विवरणहरू अनुसार दोस्रो पटक कोभिड सङ्क्रमण हुनु दुर्लभ हो तर त्यो हुनसक्छ ।

धेरैजसो सङ्क्रमण युवाहरूमा र खोप नलगाएका मानिसहरूमा भएको छ । प्रयोगशालाहरूमा गरिएका अध्ययनहरूले एक पटकको सङ्क्रमणबाट बनेको प्रतिरक्षा क्षमताबाट मात्र भन्दा ओमिक्रोन सङ्क्रमण र कोभिड विरुद्धको खोप दुवैबाट बन्ने प्रतिरोधी क्षमताले पुनः सङ्क्रमणबाट थप सुरक्षा दिने देखाएका छन् ।

कसैलाई दोहोरिएर ओमिक्रोन सङ्क्रमण हुने सम्भावना धेरै नै कम रहे पनि कसै–कसैलाई भएको देखिएको छ। प्रतिरक्षा विज्ञ प्राध्यापक एलेनोर रिलेका अनुसार पुनः सङ्क्रमण भयो भने पनि कोभिड–१९ बाट पहिलो पटक सङ्क्रमण हुँदा जस्तो समस्या हुँदैन । त्यसको मतलब हाम्रो नाक वा घाँटीमा भाइरस रहन्छ ।

एक पटकको सङ्क्रमण र कोभिड खोपले हाम्रो शरीरमा भाइरस प्रवेश गरेर गम्भीर क्षति गर्नबाट उपयुक्त सुरक्षा दिन सक्छ। तर भाइरसलाई नाक वा घाँटीभित्रै छिर्नबाट भने रोक्न सक्दैन । कोभिड सङ्क्रमणले कमजोर प्रतिरक्षा प्रणाली भएका र स्वास्थ्य समस्या भएका मानिसहरूलाई अझै पनि अस्पताल जानुपर्ने जटिलता निम्त्याउन सक्छ।

बेलायतमा अहिले सङ्क्रमण नयाँ उचाइमा पुगे पनि धेरै कम मानिसहरूलाई मात्रै अस्पताल जानुपर्ने अवस्था देखिएको छ । यसको कारण धेरै मानिसहरूलाई यसअघिको सङ्क्रमण र खोपका कारण दोहोरो सुरक्षा उपलब्ध हुनु हो ।

बीबीसीबाट