+

कांग्रेसले किन जनजातिको ऐतिहासिक भूमिकालाई मूलधारबाट आरक्षित जमातमा सार्दैछ ?

१४ भाद्र २०७९, मंगलवार ०४:३०

जेपी गुप्ता ।
आज भन्दा करिब ७२ वर्षअघि, शायद २००७ सालमा पो हो कि कविवर माधव घिमिरेले ‘किन्नर किन्नरी’ पुस्तक लेखेका थिए । त्यसमा एउटा कविता थियो–“कुर्वानी भयो कलिलो जवानी”। अहिले धेरैलाई याद पनि न होला । राणा शासनको बिरूद्ध नेपाली काँग्रेसले गरेको सशस्त्र क्रान्तिका दौरान तनहुँको बन्दीपुर कब्जा गरिंदा ‘धर्मध्वज गुरूंग’ मारिएका थिए। अरू कयौं शहादत प्राप्त गरे, त्यसमध्येका एक धर्मध्वज थिए। धर्मध्वज कै कुर्वानीलाई अमीट पार्न माधव घिमिरेले लेखेका थिएः
सुन हे साथी अमर धर्मध्वजको कहानी
देशको निम्ति कुर्वानी भयो कलिलो जवानी
जुंगाको रेखी बसेको टिठो बिर्सिन्न् मनमा–
आमालाई मेरो सम्चार लगी संचै छ भनिदिनू
कहिले आउँछ भनेछन्, भोलि आउँछ भन्दिनू
बालाई भन्नु–हजूरको छोरो हुँदैन कायर
हाँसी र हाँसी छातीमा थाप्यो बन्दूकको फायर
देशका दाजु भाइलाई मेरो आखिरी खबर
म मरे, मेरो नेपाली जाति रहिरहोस् अमर
लाखको निम्ति म मर्न पाउँ, यै मलाई सुख छ
नेपाल अझै बनेको छैन यही मलाई दुःख छ
बोल्दामा बोल्दै परेला ढले, कोपिला निदायो
साँझमा एउटा हँसिलो तारा स्वर्गमा उदायो
समयको क्रममा पछि राष्ट्रकवि भनि सम्मानित भएका माधव घिमिरेले त्यसबेला नै “क्रान्ति प्रति शहादतको इतिहास”लाई अभिलेखमा राखिदिए । यदि आज कसैले यस्ता घटनाहरूको खोजतलास गर्दै जाने हो भने त्यस ऐतिहासिक आन्दोलनको यो पाटो पनि उघ्रन जान्छ कि २००७ साल र तदुपरान्तका आन्दोलनहरूमा आदिवासी जनजातिहरूको कति ठूलो योगदान रहेको हो।

पूर्वी नेपालमा त “तेरो घरमा काँग्रेस पसोस्”–यो उखान झैं भएको थियो। सात सालको क्रान्तिमा खासगरी मुक्ति सेनामा पहाडिया आदिवासी–जनजातिहरूको बाहुल्यता र उनीहरूले ल्याएको आँधीबहेरीको कतिपय दुष्प्रभावहरूका कारणले त्यसो भनिएको होला। तर, सत्य यही हो कि त्यस युगान्तकारी आन्दोलनमा जनजातिहरूको बडो ठूलो भूमिका थियो। यस भूमिकाको प्रभावले गर्दा नेपाली काँग्रेसमा लामो समयसम्म मतवाली जनजातिहरूको उल्लेखनीय प्रभाव तथा उपस्थिति रह्यो।

कयौं नामहरू–जि.बी. याकथुम्बा, बल बहादुर राई, नारदमुनी थुलुंग, बखानसिंह गुरूंग, हरि प्रसाद गुरूंग, बुद्धिसिंह राना, लालध्वज गुरूंग, ओमजंग गुरूंग, धर्मध्वज गुरूंग, जमानसिंह गुरूंग, धीर बहादुर गुरूंग, प्रेमराज आंगदम्बे, भूबिक्रम नेम्बांग, के.बी. गुरूंग, मच्छेन्द्र केरूंग, भीम बहादुर तामांग, तेजमान तुम्वाहाम्फे, सुर्यमान गुरूंग, योगेन्द्रमान शेरचन, देवान सिंह राई, बल बहादुर रूम्दाली, दामन पाख्रिन, शुक्रराज संयोग, बिष्णुबीर आले, जगतमान तुम्वाहाम्फे, दलसिंह थापा मगर, क्या. डि.बी. राई, गोपाल राई, वशन्त गरूंग, महादेव गुरूंग, मणि लामा, दिल बहादुर घर्ती, देवव्रत राई, अशोक चन्द्र राई, तिलक बहादुर राई, जमान सिंह राई र अरू सयौं अज्ञातहरूले काँग्रेसलाई सिंचित बनाएको थियो। अहिले यस थोरै समयमा मलाई अझ नामहरू याद भएन । चितवनदेखि पश्चिमसम्ममा त हजारौं नामहरू होलान्, जसको उल्लेख हुनुपर्दछ। जुन यहाँ सम्भव भएन ।

यद्यपि मेरो यस छोटो लेखाईको सार भने, क्रान्ति र आन्दोलनमा खासगरी नेपाली काँग्रेसमा जनजातिहरूको अमीट भूमिकाको थोरै स्मरण गर्नुसम्म हो । र थोरै दुःख व्यक्त गर्नु पनि हो कि यत्रो ठूलो समुदायलाई नेपाली काँग्रेसले अब क्रमशः मूलधारबाट सार्दै आरक्षित जमातमा रहन बस्न ठेल्दै लगेको छ।

भर्खरै चुनावको मुखमा नेपाली कांग्रेसले आदिवासी–जनजाति सम्बन्धि आफ्नो भातृ संगठनलाई बिस्तार गरेको छ। लामो लिष्ट हालेको छ काँग्रेसको नेतृत्वले । गहिरिएर ध्यान दिने हो भने यो तथ्य लुक्दैन कि काँग्रेस नेतृत्वको कोर स्थानमा जनजातिहरू नामका लागि छन्। जबकी देखाउनका लागि यस्ता भातृ संगठनहरूमा खोजीखोजी राखिएको छ। चुनावका लागि त ठिकै होला तर, सदा काँग्रेसका लागि त उपयुक्त हुन्थ्यो यदि काँग्रेसले जनजातिहरूको ऐतिहासिक भूमिकालाई सम्मान गरि यथोचित रूपमा यस्ता समुदायहरूलाई अगाडि बढाओस्।

 

ताजा अपडेट